साउन - ३० । अङ्ग्रेजीमा नेपाली मिसिएको आवाज मञ्चमा गुञ्जन थालेपछि एकाएक सन्नाटा छायो ।
उनी आफ्ना दुःख र वेदना पोख्दै मन हल्का पार्दै थिइन् । कल्कलाउँदो शरीर र हँसिली उनका आँखाबाट बररर आँसु खस्न थाले । मञ्चका अतिथि र उपस्थित दर्शकको मन थामिएन । सबै भक्कानिए । आँखाबाट बगेका आँसु पुछ्न थाले ।
जोयाले श्रीमानकाे यातनाबीच कष्ट गरी दुई छोरा जन्माइन् । श्रीमानबाट हेला भएपछि गाउँमा पछ्यौरामा चामल सापटी थापेर अनि दाउरा मागेर फाटेको कटेरोमा कष्टले रात गुजार्थिन् । अति हुन थालेपछि सहन सकिनन् । 'पहिले धेरै माया गर्छु भन्यो, पछि जाँड, रक्सी, लागुपदार्थमा फस्यो, धेरै कष्ट सहेँ,' शुक्रबारको बिदाइका क्रममा मन कुँड्याउँदै जोयाले भनिन् । पाँच महिनाअघि नाबालक दुई छोरा काखी च्यापेर उनी भौँतारिँदै बालकुमारी कलेज अगाडिको सडकमा आइपुगिन् । नारायणगढको एक कन्सल्टेन्सीमा श्रीमानले काम गरेको छ भन्ने थाहा पाएर पैसा दिन्छ कि भन्ने आशमा आएकी थिइन् उनी । गाउँलेले उनको पीडा थाहा पाएर आदर्श गृहमा खबर गरेका थिए । त्यसपछि उनमा आशा पलायो ।
साढे ३ वर्षअघि चितवनका जीवनलाई उनले दुबईमा कामको सिलसिलामा भेटेकी थिइन् । सात छोराछोरीका एक्ला कमाई गर्ने अभिभावक जोयाका बुबा रेन्याई थिए । मेकानिकल टेक्निसियन बुबाको कमाईले परिवार धान्न मुस्किल भएपछि जोया पैसा कमाएर परिवारको गर्जाे टार्ने धोको बोकेर दुबई पुगिन् । केएफसी अमेरिकन भन्ने रेस्टुराँमा काम पाइन् । काम गर्दा नेपाली केटा जीवनसँग भेट भयो । अनि माया गाँसियो । त्यसको केही महिनामै गल्ती गरेकाले जीवनलाई प्रशासनले समात्यो । 'आफ्नै दुई–तीन महिना जम्मा गरेको पैसाले उनलाई निकालेर नेपाल आउने सबै खर्च हालेकी हुँ ।' जोयाले भनिन् ।
तीन वर्षअघि नेपालमा एकमहिने पर्यटक भिसामा सँगसँगै आइन् । एकमहिने भिसा सकिएपछि जीवनले च्यातेर फ्याँँकिदिए । बाँकी रहेको पहिलो र अन्तिम पाना राखिन् उनले । कुनै कानुनी प्रक्रिया बिना नै श्रीमान् श्रीमती भएर बसे । बीचमा रत्ननगरको बकुलहर, पर्साैनी, सौराहाचोकलगायत क्षेत्रमा रेस्टुराँ नै खोलेर बसे । श्रीमानका कारण सम्बन्धमा दरार आएपछि उनलाई फर्कन कानुनी व्यवधान खडा भयो ।
भिसा नभएपछि फर्कंदा प्रहरीले समात्ने डर । श्रीमानकाे धाकधम्की, कुटपिट, यातनासमेत सहिन् । श्रीमान जीवन बिस्तारै कुलतमा लागेका केही युवाको सङ्गतमा वीरगन्ज पुगे । दुव्र्यसनमा फसेपछि उनको जीवन थप पीडामा बित्न थाल्यो । भाैँतारिँदै हिँड्दा आदर्श गृह चितवनको सम्पर्कमा आइन् । गृहकै पहलमा स्थानीय प्रशासनको समन्वयमा उनलाई घर फर्काउन सफल भएको हो । छोरा अस्पतालमा जन्मेको आधारमा स्थानीय प्रशासनले कागजसम्म मिलाइदिएर उनी छोरा बोकेर घर फर्कन लागेकी हुन् ।
यता, प्रमाण जुटाउन आदर्श गृहलाई अहिलेसम्मकै ठूलो समस्या परेको सञ्चालिका मीना खरेल बताउँछिन् । तर बिहे दर्ता नभएको र प्रमाण जुटाउन नसकिएकाले श्रीमानमाथि मुद्दा चलेको छैन । चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह त्यस्ता मान्छेलाइ कानुनी दायरामा ल्याउने प्रयास अघि बढाउनुपर्ने बताउँछन् ।
आदर्श गृहकी सञ्चालिका खरेलले वैधानिक हैसियत बनाएर फिलिपिन्स फर्काउन सफल भएकामा खुसी व्यक्त गरिन् । 'नेपालकै नमुना घटना हो,' खरेलले भनिन् – 'यसबाट नेपाल र नेपालीले जस पाएको छ ।' उनीसँग अहिले तीन वर्षका छोरा मिगेल र ११ महिनाका छोरा एरिक छन् । फिलिपिन्समा पैसा कमाएर नेपाल घुम्न आउने वाचा गरेकी उनले भनिन्, 'आफू जस्तै पीडामा परेकालाई सहयोग गर्छु ।' उनको यही साउन ३१ गते काठमाडौँबाट उडान छ ।
नेपाल सरकारलाई तिर्नुपर्ने रु सात लाख फिलिपिनो सरकारले तिरेपछि उनी आफ्नो देश जान पाएकी हुन् । उनलाई उद्धार गरेर आफ्नै देश फिर्ता पठाइएकामा गाउँले समेत खुसी छन् । गाउँलेले जोयाबाट लिनुपर्ने सापटीसमेत लिन मानेनन् । उता फिलिपिन्समा रहेका उनका परिवार छोरी जिउँदो रहेकामा खुसी मनाइरहेका छन् । 'दुई वर्ष भो परिवारसँग टुटेको, नेपाली राम्ररी बोल्न सिकेकी जोयाले भनिन् – 'भिडियो कल गर्दा आमा कराजनले साह्रै खुसी हुनुभयो ।' अब फिलिपिन्स गएर पैसा कमाउने, अनि बच्चालाई पढाएर राम्रो बनाउने उनकाे सपना छ । पैसा कमाएपछि नेपाल घुम्न आउने वाचा समेत उनले गरिन् ।
नेपाली श्रीमानले पीडा दिए पनि नेपाल र नेपालीको मन साह्रै ठूलो रहेको भन्दै उनले आफ्नो उद्धार भएकामा खुसी व्यक्त गरिन् । आदर्श गृहले गरेको पहललाई कहिल्यै नभुल्ने बताइन् । प्रहरी प्रमुख बसन्त कुँवर, महिला तथा बालबालिका कार्यालयकै प्रमुख शान्ता पौडेल, महिला नेत्री पार्वती रावल र सरिता केसी, जिल्ला न्यायाधिवक्ता मणिराम न्यौपाने लगायतले विदेशी चेलीलाई घर फर्काउन सफल भएकामा खुसी व्यक्त गर्दै आदर्श गृहको प्रशंसा गरेका थिए । रासस