श्री ५ को नाममा तीन दर्जन गाडी गुड्छन् काठमाडाैका सडकमा
श्री ५’ पद खारेज भइसकेको १० वर्ष बितिसक्दा पनि राजधानीका सडकमा अझै ‘श्री ५ अधिराजकुमार र श्री ५ महाराजाधिराज’का नाममा रहेका झण्डै तीन दर्जन गाडी गुड्ने गरेका छन् । सरकारी निकायका पदाधिकारीदेखि राष्ट्रपतिसम्मले प्रयोग गर्दै आएका गाडी हालसम्म नेपाल सरकारको नाममा नामसारी गरिएको छैन । कतिपय गाडीको ‘ब्लुबुक’ भने नवीकरण भइरहेको छ तर श्री ५ कै नाममा नवीकरण हुँदै आएको छ ।
नारायणहिटी दरबार सङ्ग्रहालयका प्रमुख रोहित ढुङ्गानाले आफूहरूको चारवटा गाडी प्रयोग भइरहेको जानकारी दिँदै भने “ती गाडीको प्रज्ञापनपत्र नै नभएकाले नेपाल सरकारको नाममा नामसारी हुन नसकेको हो । ”राजसंस्था खारेज हुनुअघिसम्म दरबारमा ६५ वटा गाडी थिए । तीमध्ये दरबारको ग्यारेजमा २८ वटा गाडी थन्किएका थिए । थन्किएकैमध्येबाट हालै एउटा गाडी उपराष्ट्रपतिको कार्यालयमा पनि पठाइएको छ । सो गाडी तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रयोग गरेका थिए ।
अन्तिम राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्दा २०६५ साल जेठ ३० गते बुलेट प्रुफ मर्सि्डिज बेन्ज कारसहित चारवटा गाडी आफूसाथ गए । त्यसअघि उनले निजी आवास निर्मल निवासमा छवटा गाडी दरबारबाटै लगिएका थिए । एउटा मर्सि्डिज बेन्ज कार मुमाबडामहारानी रत्न शाहलाई दिइएको छ । उनले हालसम्म सो गाडी चढेर चारपटक मात्र दरबारबाहिर गएका छन् । सो गाडी दरबार परिसरमा रहेको महेन्द्र मञ्जिलको ग्यारेजमा थन्क्याएर राखिएको छ ।
दरबार सङ्ग्रहालयका अनुसार दरबार मातहतमा रहेका दुईवटा गाडी ‘श्री ५ अधिराजकुमार ज्ञानेन्द्रवीरविक्रम शाह’को नाममा छ भने बाँकी सबै ‘श्री ५ महाराजाधिराज सरकार’को नाममा छ । विगतमा कान्छी महारानी (राजा त्रिभुवनकी पत्नी)को नाममा रहेका दुईवटा गाडी श्री ५ महाराजाधिराजका नाममा नामसारी भएको थियो ।
Nepali King Shree 5