कभर स्टोरी

राष्ट्रपति भण्डारीका सारीको संख्या कति ?

राष्ट्रपति भण्डारीका सारीको संख्या कति ?

साउन ३१ । नेकपा एमालेकी तत्कालीन उपाध्यक्ष विद्यादेबी भण्डारीलाई कात्तिक ११, २०७२ मा संचारमाध्यमले निकै पछ्याए । कारण उनी राष्ट्रपति निर्वाचित हुँंदै थिइन् । नीलो पछ्यौरी र हल्का नीलो र सेतो बुट्टा भएको सारीमा सजिएकी उनको व्यक्तित्व आर्कषक देखिएको थियो ।

त्यसयता राष्ट्रपति भण्डारी कम्तिमा पनि ६२ वटा औपचारिक अनौपचारिक कार्यक्रममा सार्वजनिक भएकी छिन् । र, ति सबैमा उनले नयाँ नयाँ सारी र पछ्यौरा लगाएको देखिन्छ । यसको अर्थ हो राष्ट्रपतिसँग दर्जनौं सेट सारी छन् ।

निर्वाचित भएको भोलिपल्ट उनले राष्ट्रपतिको सपथ लिएकी थिइन् । सपथ लिंदा उनले अघिल्लो दिनको भन्दा बिल्कुलै फरक रंगको सारी, ब्लाउज र पछ्यौरा सेट पहिरिएकी थिइन् । सेट प्याजी रंगको थियो ।

कात्तिक पन्ध्रमा राष्ट्रपति बिद्या भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई सपथ खुवाइन् । गाडा आकाशी रंगको सारी सेटमा उनी स्मार्ट देखिएकी थिइन् ।

माघ ९ मा संविधानको पहिलो संशोधन भयो । यसअघिका राष्ट्रपति रामबरण यादवले विज्ञप्तिमात्र पठाउँंथे । राष्ट्रपति भण्डारीले विज्ञप्तिसहित सो सन्दर्भको तस्बिर पनि पठाउने थिति थालिन् । माघ ९ मा संविधानको पहिलो संशोधन भयो । सो विधयेक प्रमाणिकरण गरेको तस्बिर संचारमाध्यममा छायो ।

उनले परिवेश र परिस्थिति अनुसारको पोशाक लगाउने गरेकी छन् । जस्तो जनकपुरस्थित जानकी मन्दिरको दर्शनमा जादा पहेंलो खालको सारी लगाएकी उनले संसदमा नीति तथा कार्यक्रम वाचन गर्न जाँंदा आकाशी रंगको ।

उनको सबैभन्दा पछिल्लो सार्वजनिक कार्यक्रम होः माओवादीका पाँच मन्त्रीलाई शितलनिवासमा खुवाइएको सपथ । उनले सो कार्यक्रममा हल्का सेतो रंगको सारी सेट लगाएकी थिइन् ।

सारी, ब्लाउज र पछ्यौरा मिलाएर लगाउंँदा उनको व्यक्तित्व आर्कषक बनेको जानकारहरुको भनाइ छ । युवा संघकी नेतृ दिलु पन्तका अनुसार राष्ट्रपति हुनुभन्दा पहिलेदेखि नै उनी पोशाकप्रति सजक थिइन् । पन्तका अनुसार भण्डारीको व्यक्तित्वका बारेमा महिला राजनीतिककर्मीको बसाइमा चर्चा हुँने  गर्दछ ।


न्यायाधीश सपना प्रधान र राष्ट्रपति भण्डारीको समानता

न्यायाधीश सपना प्रधान सधैं सारीमा देखिने चर्चित महिला हुन् । कुनैबेला सभासद् रहेकी प्रधान सारी सेटका कारण पनि धेरैको नजरमा पर्ने गर्दछिन् । स्रोतका अनुसार राष्ट्रपति भण्डारी र न्यायाधीश प्रधानका बीचमा सारीका बारेमा सल्लाहसमेत हुने गर्दछ । उनीहरुको रोजाइमा दरबारमार्ग स्थित एक सारी सोरुम पर्ने गर्दछ ।

राष्ट्रपति निर्वाचित भइसकेपछि भण्डारीले नेपाली ढाकाको सारीलाई प्रथामिकता दिन थालेकी छिन् । उद्योगमा सोझै सम्र्पक गरेर सारी झिकाइने गरिएको छ । उनले लगाउने सारीको मूल्य (अधिकांशको) १५ हजारभन्दा माथि पर्दछ ।


कसरी छानिन्छ सारी ?

राष्ट्रपति बिद्यादेबी भण्डारी राम्रो बुट्टा भएको सारी रुचाउँछिन् । राष्ट्रपति निकट स्रोतका अनुसार सारीको छनौट गर्न उनले आफ्नो सचिवालयकी सदस्य दीपा शर्मालाई खटाउने गर्छिन् । बुट्टा आर्कषक तर भद्दा नदेखिने खालेको सारी भण्डारीको रोजाइमा पर्ने गर्दछ ।

अरुले लगाएको सारीका बारेमा पनि उनी चाँसो राख्छिन् । सकेसम्म आफूले लगाएको सारी अरुको भन्दा पृथक होस् भन्नेमा उनको पहिलेदेखि नै चाहना रहेको उनी निकट नेतृहरु बताउँंछन् ।


दीपाको भनाइमा राष्ट्रपतिको सारी रोजाइ

राष्ट्रपतिका अनेकन सारी सेटको अध्ययन गरिसकेपछि उनको रोजाइका बारेमा जान्न नेपाल आजले राष्ट्रपति निकट रहेका केही व्यक्तिलाई सम्पर्क गर्‍यो । उनीहरुबाट पत्ता लाग्यो राष्ट्रपति भण्डारीको पहिरनमा ख्याल गर्ने निकटवर्ती रहिछन् बाँंकेकी दीपा शर्मा । दीपा शर्माले राष्ट्रपतिको बचाउ गर्दै ‘उहाँसँग दर्जनौं सेट सारी नरहेको तर मिलाएर लगाउने गरेको’ उत्तर दिइन् ।

दीपाका अनुसार राष्ट्रपतिले नेपाली उत्पादनलाई प्रथामिकता दिने गरेकी छिन् । राष्ट्रपतिको चाहना अनुसारका सारीका लागि उद्योगमै सम्र्पक गरिने र नगद नै तिरेर ल्याउने गरिएको छ । ‘राष्ट्रपति पहिरन र खानामा विशेष ख्याल गर्नुहुन्छ । पहिरनले बाहिरी पक्ष र खानाले शरीरको भित्री पक्षको निर्माणमा प्रभाव पार्ने उहाँको बुझाइ छ । सफा र स्वस्थ खाना, आर्कषक र भद्र पहिरन उहाँको संस्कार हो ।’ दीपाले अर्थ्याइन् ।

राष्ट्रपति भए पछि धेरै सारी नकिनिएको उनले दाबी गरिन् । राष्ट्रपतिले जमानादेखिका सारी संग्रह गरेको र परिवेश हेरेर लगाउने गरेको दीपाको भनाइ छ । सारीको मूल्य बुट्टा हेरेर फरक पर्ने तथा सामान्यतया १०–१५ हजारका हुने उनको भनाइ छ । प्रस्तुतिः विश्व रिमाल

Bidya vandari

विशेष