ताजा खबर
उपप्रधानमन्त्री महराद्वारा चिनियाँ विदेशमन्त्रीसँग भेटवार्ता
मङ्गलबार, ३२ साउन २०७३ गते प्रकाशित
साउन ३२ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ विदेशमन्त्री वाङ यीसँग मंगलबार भेटवार्ता गरेका थिए ।
नेपाली दूतावास बेइजिङका अनुसार उपप्रधानमन्त्री महराले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सि जीन पिङलाई नेपाल भ्रमणको निमन्त्रणा पत्रसमेत प्रदान गरे ।
यस्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट समकक्षी ली खछयाङलाई पनि नेपाल भ्रमणको निमन्त्रणा पत्र दिएका थिए । गत जुनमा उपराष्ट्रपति नन्दबहादुर पुनले गरेको चीन भ्रमणका क्रममा समेत राष्ट्रपति भण्डारीले राष्ट्रपति सिलाई नेपाल भ्रमणको निमन्त्रणा पठाएका थिए ।
सो अवसरमा दुई नेताबीच आसपी हित, द्विपक्षीय सहयोगका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालको विशेष दूतका रुपमा उपप्रधानमन्त्री महरा सोमबार चीन प्रस्थान गरेका थिए । रासस
bhet barta
krishna bahadur mahara china vraban