काभ्रे बस दुर्घटनाः त्यो सडकमा बस चलाउन सरकारले अनुमति दिएकै थिएन, ड्राइभरको लाइसेन्स पनि शंकास्पद
भदौ १ । काभ्रेको बिर्ता देउरालीमा सोमबार दुर्घटनाग्रस्त बसले रुट परमिट नै नलिई बस सञ्चालन गरेको खुलेको छ । यातायात व्यवस्था विभागले सो सडकमा सार्वजनिक यातायात चलाउन हालसम्म परमिट जारी नगरेको जनाएको छ ।
विभागका निर्देशक वसन्त अधिकारीका अनुसार दुर्घटनामा परेको बा ३ ख १०३ नम्बरको बसले काठमाडौ–जिरी चल्ने रुट परमिट पाएको थियो । ‘उक्त सडकमा सार्वजनिक बस चलाउन रुट परमिट नै दिएको छैन ।’ अधिकारीले भने ‘उक्त बस काठमाडौ–जिरी चलाउने अनुमति दिइएको थियो ।’
धेरै पहाडी जिल्लामा रुट परमिटबिनै बस चल्दै आएको र ट्राफिक प्रहरीले कारबाही गर्न नसकेका उनले बताए । बस चालकको लाइसेन्ससमेत शंकास्पद रहेको भन्दै अनुसन्धान अघि बढाइएको छ । –नयाँ पत्रिकाबाट