फरक फरक घटनामा पाँचको मृत्यु
भदौ १ । दुई फरक फरक दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको तोपगाछी सडकखण्डमा मंगलबार भएको सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ मधुमल्ला–७ निवासी ४० वर्षीया सावित्रा निरौला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे २ प २२९० नंको मोटरसाइकललाई ना ६ ख २२९९ नंको बसले ठक्कर दिँदा उनको मृत्यु भएको बताइएको छ । उनी सोही मोटरसाइकलको पछाडि सवार रहेको बताइएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक मधुमल्ला–७ का ४५ वर्षीय पदमबहादुर गहतराज घाइते भएका छन् । उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न सवारी र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको बताइएको छ ।
यसैगरी, सुनसरीको भोक्राहामा भएको सवारी दुर्घटनामा परी झापा चारपानेका ३२ वर्षीय अच्युत ढुङ्गानाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा–९ स्थित सडकखण्डको कलभर्टमा बा ७ च १५२७ नंको कार ठोक्ँिकदा उनको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनी सहारा नेपाल, इनरुवा शाखामा कार्यालय प्रमुखका रुपमा कार्यरत रहेको बताइएको छ । दुर्घटनामा परी कारका चालक सुनसरी इनरुवा–६ निवासी ३० वर्षीय महेश गुरागाईं र कारमा सवार झापा चारपाने–२ का २९ वर्षीय नारायण पोखरेल घाइते भएका प्रहरीले जनाएको छ । घाइते दुवैको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको बताइएको छ । त्यस्तै भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ख ९३६१ नंको बस र काठमाडौँबाट धरान जाँदै गरेको ना ४ ख ४५१६ नंको बस मंगलबार साँझ पृथ्वी राजमार्गको फिस्लिङमा एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकहरुको सनाखत हुन सकेको छैन । मृतकहरुमा अन्दाजी २२ वर्षीया एक महिला, अन्दाजी ३० वर्षीय एक पुरुष र अन्दाजी तीन वर्षीय एक बालकको मृत्यु भएको हो ।
बालकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरी उपचारका लागि केहीलाई काठमाडौं र केहीलाई भरतपुर पुर्याइएको छ ।