कभर स्टोरी समाज

‘नबौलाइकन सफल भईदैन, सबै बौलाहा सफल हुँंदैनन्’

‘नबौलाइकन सफल भईदैन, सबै बौलाहा सफल हुँंदैनन्’

uttam-sanjel-nepalaajaभदौ १ । काठमाडौंको बौद्धमा १६ बर्ष अघि २४ बर्षीय युवकले बहुलठ्ठी काम थाले । निजी विद्यालयले चर्को शुल्क उठाइरेहको समयमा उनी भन्दै सपना देख्दै थिए । सय रुपैयाँमा सबैलाई पढाउंँने उनको सपनाले धेरैका नजरमा उनी बौलाहा दरिएका थिए ।

नाम पनि जुर्‍यो – समता । अर्थपूर्ण नाम । सबैलाई समान शिक्षा दिने उद्देश्य जो थियो । बाँसको कप्टेराले विद्यालय तयार हुँदै गयो । विद्यालय खुल्यो पनि । १०० रुपैयाँमा विद्यार्थी भर्ना भए । अपत्यारिलो अवधारणमा दृढ उत्तम सञ्जेलको जीबनमा नयाँ अध्यायमात्र शुरु भएन, कयौंको भविश्य पनि सुरक्षित भयो ।

अहिले समता स्कुले देशै भरि फैलने क्रममा छ । ५० जिल्लामा फैलिसकेको छ । बाँकी रहेका जिल्लामा पनि समता २०७५ अर्थात अबको ३ बर्षभित्रमा पुगिसक्ने छ । फर्सीको झालझैं फैलिएको समताले शिक्षा क्षेत्रमा इतिहास रचेको छ ।

विद्यालयको आरम्भ र फैलावटबाट उत्तमसँग कुराकानी सुरु भयो । विद्यालयको १६ बर्षे जवानीका बारेमा बर्णन गर्दा सञ्जेलको मुहारमा सन्तुष्टि छचल्किएको प्रष्टै अनुभव गर्न सकिन्थ्यो ।

समताको संजाल बास्तवमै अपत्यारिलो ढंगले बढेको छ । उत्तमको आत्मविश्वास लोभलाग्दो देखिन्छ । गर्व साथ उनले भने, ‘मासिक १०० रुपैयाँमा नर्सरीदेखि मास्टर्ससम्म पढाउने समता नै पहिलो स्कुल हो । समताले दशौं हजार विद्यार्थीलाई सस्तोमा गुणस्तरीय शिक्षा दिएको छ नै, कम्तिमा पनि एघार सयलाई रोजगारी पनि दिएको छ ।’

समताको सफलताले उत्तमको पहिचानलाई देशविदेशमा फैलाएको छ । उनि शिक्षा क्षेत्रको हिराका रुपमा परिचित छन् । उनलाई आज देशविदेशबाट सम्मान र आभारको ओइरो लाग्ने गर्दछ । तर, आजको सफलताका लागि उनले ठूलै असफलता र संर्घषको जङ्घार तरेका छन् । जसका बारेमा उत्तमकै अनुसार कमैलाई मात्र हेक्का छ ।

उत्तमको आरोह अवरोह काठमाण्डौको गोठाटारमा ४० वर्ष पहिले जन्मिएका सञ्जेलले जोरपाटीको चामुण्डा मावीमा पढे । उनी सानैदेखि केही नयाँ गर्नुपर्छ भन्ने सोचाई राख्ने स्वाभावका थिए । भन्छन् ‘बाउ बाजेले जे गर्छन त्यही गर्न मलाई मन पर्दैनथ्यो । मलाई गीत गाउन मन थियो, त्यो प्रयास गरे । ’ उत्तमले गीति यात्रामा सफलता पाउन सकेनन् । तर, उनी विकल्पविहीन थिएनन् । उनका लागि जीबन अनेकौं विकल्पसहितको यात्रा हो । एउटा बाटो थुनिए अर्को बाटो पहिलाउन सकिने उनको भनाइ छ ।

उनको मन सिनेमा रमाइरहेको थियो । निर्देशक हुँंने भूत जागेको थियो । उनि ‘एक्सन कट मात्र भन्न जान्ने’ सामान्य निर्देशक होइन, केही नयाँ गर्ने निर्देशक बन्ने सोचमा थिए । त्यसैले उनी अध्ययनका लागि भारत हानिए । बम्बइमा उनले केही  बर्ष बिताए ।

उत्तमले निर्देशन सिके । निर्देशक बन्न अनकौ प्रयास गरे । भन्छन् ‘ भारतको चर्चित टेलीभिजन जिटिभीको लागि १० वटा शृखंला तयार पारेको थिएंँ । त्यो पास हुन धेरै टाईम लाग्ने भएकाले म नेपाल आएँं ।’ के सोचेको थिएँं के भयो भनेजस्तो भइरहेको थियो उनको जीबनमा । उत्तमले गायक बन्न खोजे । सकेनन् । निर्देशक बन्न चाहे । चाहना पूरा भएन । तर, उनले थकाइ मारेनन् । उनि भन्छन्, ‘ मेरो सपना पूरा नभए पनि म निरास भइनँ, किनकी मलाई विश्वास थियो म अरु नै काम गर्न सक्छु ।’

गीति यात्रामा सफल भएको भए उनी गायक उत्तम सञ्जेलका रुपमा परिचित हुन्थे । फ्यानले उनलाई पछ्याउँंथे । निर्देशक भएको भए उनि कट र एक्सनमा रमाउंँथे । हिरो हिरोइनलाई नचाउनमै व्यस्त रहन्थे । तर, भावीले उनको ललाटमा बेग्लै लेखेको रहेछ । उनी शिक्षाकर्मी बने । हजारौंको भविश्यदाता उत्तम गुरुका रुपमा चिनिए ।

अतित सम्झिदै उनी भन्छन् ‘हिजो म बम्बईमा सफल भएको भए आज यत्रो बच्चाहरुको सेवा गर्न पाउँदिन थिएँं । हरेक कुरालाई सकारात्मक रुपले सोच्नुपर्छ । हिजो सफल भईन र त आज भएँ ।’

उनको विचारमा संसार भनेको निकै ठुलो पौडी खेल्ने ठाऊँ हो ,जहाँ जसरी पनि पौडी खेल्न र तैरिन सकिन्छ । उत्साहित हुंँदै भन्छन् ‘अहिले धेरै युवाहरुले धेरै ठूलो काम गरेका छन् । हेरक क्षेत्रमा प्रतिभाको प्रतीक्षा भइरहेको छ । हरेक क्षेत्रमा काम गर्ने ठाऊँ छ ।’

मलाई पागल भनेर गिज्जाए बम्बइमा असफल भएका उत्तम नेपालमा असम्भव सपना बोकेर फर्किएका थिए । उनीसँग सय रुपैयाँमा सबै तहको शिक्षाको अवधारणा थियो । कसले पत्याउने ? धेरैले ‘यो त बौलाएछ ’ समेत भने । असम्भव भन्ने अनेकौ उत्तरले पनि उनलाई रोक्न सकेन । केटो अघि बढेपछि बढ्यो बढ्यो भन्ने अठोट लिए । उनी भन्छन ‘निरास हुनुहुँदैन । हामी सफलताको ईच्छा राख्छौ भने आत्मविश्वास राख्नुपर्छ । केही कुरा गुमाउन पनि तयार हुनुपर्छ ।’ उनी थप्छन ‘ मैले पनि केही गुमाएको र दुनियाँको कुरालाई वेवास्ता गरेको कारणले नै समता स्कुल सफल भएको हो ।’

नबौलाईकन सफल भईदैन, सबै बौलहा सफल हुदैनन समता स्कुलको सुरुवाती दिनमा उनलाई बौलाहा भनियो । तर उनी बौलाएका थिएनन् । मात्र उनी समाजले सोचिरहेको भन्दा भिन्दै ढंगले सोचिरहेका थिए । उनले आफ्नो कामको भविश्य देखिसकेका थिए । ‘काग कराउँंदै गर्छ पीना सुक्दै गर्छ’ भनेजस्तो उनी निरन्तर लागि रहे । लगनको बहिखाता फर्काउने फुर्सतसमेत नहुने गरी उनि लम्किए । ‘यदि तपाईले कुनै काममा सफल हुनुछ भने बौलाउनुु पर्छ । तर सबै बौलाहाहरु सफल हुँदैनन् । सफलताका सार सुनाउंदै उत्तमले थपे ‘ नयाँ कुरा गर्ने आँट कमैमा हुन्छ । अनौठो काम गर्नेलाई बौलाहा भनिन्छ । विश्व चर्चित वैज्ञानिक र आविस्कारलाई शुरुमा बौलाहा नै भनिएको थियो ।’

काम गर्ने वातावरण नेपालमै छ उनको विचारमा मान्छे गरिब हुँदैन  । गरिबी सोचाई हुन्छ । उनका अनुसार सोचका दृष्टि नापतौल गर्दा ९९ प्रतिशत नेपालीहरु गरिब छन् । ‘कसरी ?’ यो प्रश्नको उत्तर उनले बिम्बको प्रयोग गर्दै दिए । ‘बच्चाले गोलभेडा खाएर आची गर्छ । आची फालेको ठाऊँंमा गोलफेडा फलेको हुन्छ । यस्तो उर्बर भूमि विश्वमा अन्त कहाँ छ ?’ कठोर सुनिएका उत्तमले गाला कन्याउंदै भने, ‘यस्तो ठाऊँं बाँझो राखेर हामी ईजरायलमा गोलफेडा फलाउन जान्छौं । आफ्नो देशमा गाईबस्तु चराउन छोडेर बिदेशमा गएर ५२ डिग्रीको तापक्रममा भेडा चराउँछांै । यहाँ अनेक दुख गरेर एमबिविएस पढ्छौं र अमेरिकामा गएर डक्टरी गर्छौ । त्यसैले हामी गरिब भएका हौं । भएको अवसर छोडेर भगौडा भएकाले हामी गरिब भएका हौं ’

किन बनेन नेपाल ? नेपाल किन बनेन प्रश्न पूरा हुन पाएको थिएन, उनले फ्याट्टै जवाफ फर्काए । धेरै नेपालीलाई बिझ्ने उत्तर दिन उनले कुनै अफसोच मानेनन् । ‘नेपालीहरु अवसरवादी भएर हो । धेरै बिदेसिएर हो । ५० लाख युवा भनेको जोक होईन । उनीहरु बिदेसिएर नै नेपालको राजनीतिमा केही परिवर्तन नभएको हो । ५० लाख युवा नेपाल बस्यो भने जे पनि परिवर्तन हुन सक्छ ।’ उनको प्रष्टिकरण थियो ।

उनले आफ्नो कुरा प्रष्ट पार्न फेरि थपे ‘ यी नेताहरुलाई हामीले नै ल्याएको हौं । उनीहरुलाई सरकारमा छाडेर बिदेसिन्छौं । उनीहरुले केही नगरेपछि हामीले नै ल्याएका मान्छेहरुलाई हामी हटाउन किन पहल गर्दैनौं । हाम्रो मानसिकता नै भ्रष्ट भईसकेको छ । हामीलाई हाम्रो कर्तव्यहरुको ज्ञान नै छैन । त्यसैले नेपाल बनेन ।’ यस्तो भन्दै गर्दा उनको मुहारमा नेताहरुप्रति आक्रोश त छदै थियो, विदेसिएका युवाहरुप्रति पनि असन्तुष्टि देखिन्थ्यो । ‘मोही माग्ने ढुङ्ग्रो लुकाउने’ स्वभाव उनको छैन । उनले प्रष्टै भने, ‘विदेश गएर देश बन्दैन । घर चुहिने छ भने टाल्ने हो, अर्काकोमा ओत लागेर कतिन्जेल चल्छ ?’ बिदेशिएका युवाहरुलाई देश फर्कन उनको आग्रह छ ।

उनको विचारमा देशलाई माया गर्नेहरुले देशमा नै केही गर्नुपर्छ । देशको माया नगरेसम्म देश नबन्ने उनको कथन छ । भन्छन् ‘देशको माया के हो भनेर तिब्बतीयनहरुलाई सोध्नुस, प्यालेस्टाईनहरुलाई सोध्नुस, ईजराईलीहरुलाई सोध्नुस् । ’

नेपालको शिक्षा नीति पहिले देखि नै समसामयिक नभएको उनको भनाइ छ । उत्तमले देशको अनुकुलताभन्दा पनि लहडमा शैक्षिक कार्यक्रम बन्ने गरेको आरोप लगाए । एसएलसीको ग्रेडिङ पद्धति उनलाई चित्त बुझेको छैन । उनि भन्छन्, ‘एसएलसीमा करिब करिब ६ लाखमा १ लाख ६६ हजार मात्र पास भएका हुन । सरकारले आफ्नो गल्ती लुकाउन गे्रडिङ प्रणाली लागू गरेको हो ।’

उत्तमको व्यस्तता प्रष्टै देखिन्थ्यो । एकपछि अर्को विषयमा उनले निर्णय दिनुपर्दथ्यो । उनी निस्कनुपर्ने भयो । कुराकानीको बिट मार्दै उनलाई सोधियो, ‘कसरि धान्नु हुन्छ ११ सय मान्छेलाई ?’ शुल्क कम लिएर पनि ११ सय व्यक्तिलाई रोजगार दिन कसरि सकियो भन्ने आशयको प्रश्नलाई उनले सहजरुपमा लिए । ‘चन्दाको कुरा गर्नु भाको होला, यो स्कुल सञ्चालन गर्न मदन कृष्ण र हरिबशंको ठूलो हात छ । उहाँहरुले यसको प्रचार गरिदिएका कारणले ब्याक्तिगत रुपमा सहयोग आएको छ । त्यसरी नै चलेको छ । तर कुनै पनि संस्थागत सहयोग लिएको छैन । यो स्कुल चलाउन उपेन्द्र महतोले पनि महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको छ ।’ उत्तर सकिदा नसकिँदै उनलाई हिड्न पर्ने भयो । प्रस्तुतिः सागर बुढाथोकी

विशेष