शासक होइन, साथी खोजौं
छोरीप्रति आमाहरूलाई कति अविश्वास छोरी आफैं पालिन सक्छे भन्ने कुरामा । छोरी पाल्ने ज्वाइँकै खोजीमा भौंतारिरहेका हुन्छन्, अधिकांश आमाहरू । शिक्षित र आधुनिक आमाहरूमा पनि मानसिकता उही पुरानो छ । छोरी पाल्ने ज्वाइँकै खोजीमा ती तड्पिन्छन् । जोकोही अभिभावकको पनि आफ्नो सन्तानले दु:ख नपाओस्, सुखसुविधा भोगचलन गरेर शानको जिन्दगीमा रमोस् भन्ने चाहना गलत नहोला, तर संस्कार भने गलत छ । आज पनि छोरीमाथिको विश्वास बढ्न सकेको छैन । जति नै पढेलेखे र डाक्टर, इन्जिनियर नै बनाए पनि छोरी पाल्ने ज्वाइँको खोजीमा अभिभावक भौंतारिरहेका हुन्छन् ।
उनीहरूको सुषुप्त मानसिकताले छोरीभन्दा बढी पढेको, खानदानी अथवा केही न केही कुराबाट उच्च रहेको ज्वाइँको खोजीमा हुने गरेका छन् । यस्तो मानसिकताबाट पढेलेखेका वा अधिकारकै क्षेत्रमा क्रियाशीलसमेत छन् । व्यावहारिक पाटोमा देखिएको सत्य के हो भने धनीले गरिबलाई हेप्छ, बलियोले कमजोरलाई हेप्छ, ठूलो माछाले सानो माछालाई खान्छ । त्यसैगरी वर्षौंदेखि छोरीभन्दा बढी पढेलेखेको, सम्पन्नशाली आफ्नो नियन्त्रणमा राख्न सक्ने ज्वाइँको बढ्दो मागले महिलामाथिको हिंसालाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा मलजल गरिरहेको छ । महिलामाथिको हिंसाको एउटा पाटो छोरी पाल्ने ज्वाइँ खोज्ने प्रवृत्ति पनि हो । जब पढेलेखेकी र आफ्नै खुट्टामा उभिएकी छोरीलाई कमजोर सावित गर्दै उसलाई पाल्ने केटाको खोजी गरिन्छ, तब मनोवैज्ञानिक रूपमै छोरी कमजोर हुन्छे र ज्वाइँले आफूलाई शक्तिशाली सम्झन्छ ।
जबसम्म छोरीलाई ऊभन्दा बढी पढेको र उसलाई पाल्ने ज्वाइँको खोजीमा अभिभावक हुन्छन्, तबसम्म छोरीमाथि पूर्ण न्याय हुन सक्दैन । छोरीभन्दा धनी र धेरै पढेलेखेका ज्वाइँबाट छोरी संरक्षित हुन्छे, पालिन्छे भन्ने जुन बुझाइ छ, त्यसलाई बदल्नुपर्छ । यो मान्यताले सामाजिक न्यायलाई कमजोर पारिरहेको छ । त्यसो त विवाह गर्दा उमेरमा पनि महिलाभन्दा पुरुष बढी नै खोजिन्छ । यसमा केही पुरुषको तर्क छ, ‘सन्तान जन्माउनुपर्ने घरधन्दामा व्यस्त हुने भएकाले महिला छिट्टै ‘बूढी’ हुन्छन् । त्यसैले कम उमेरकासँग विवाह गर्नुपर्छ रे ।’ यी र यस्ता सोचका कारण विभेदले आज पनि निरन्तरता पाइरहेका छन्, जुन हामी सबैका लागि सामान्य विषय बनिसक्यो । जति नै पढेलेखेको र आर्थिक पाटोमा सबल र सक्षम भए पनि छोरीभन्दा ज्वाइँको स्तर माथि नै खोजिन्छ र त्यसले अभिभावकको खुसीको आधार तय गर्छ । सामाजिक प्रतिष्ठाको विषय बन्छ, स्वीकारे पनि नस्वीकारे पनि सत्य यही हो । आज पनि नेपाली समाजमा बिहे केटाकेटीको भन्दा बढी पारिवारिक बिहे हुने गर्छ । जहाँ एक महिलाले श्रीमान्को मात्रै मन जितेर पुग्दैन । सासू–ससुरा, नन्द, आमाजू, देवर, जेठाजुलगायत आफन्त इष्टमित्रको सबैको मन जित्नुपर्ने हुन्छ । कहींकतै कसैको मन बुझाउन सकिएन भने त्यही विषय पारिवारिक कलहको विषय बन्छ र अन्तत: सम्बन्धविच्छेदको स्थितिसम्म पुग्छ । यसरी बाँचिरहेका महिलाको भित्री कथाव्यथा कम पीडादायी छैन । कानुनी पानामा महिला अधिकार बढी देख्नेहरूले नारी भएर बाँच्नुको कर्म र मर्मलाई खै कहिले र कसरी बुझ्लान् ? कोखदेखि काखसम्मको विभेदको जरा कहिले मेटिएला ? आज पनि पहिलो सन्तान ‘छोरा भयो भने ढुक्क भयो’ भन्ने गरिन्छ भने छोरी जन्मिँदा भने लक्ष्मी आइन्, केही भएन भनेर सहानुभूति राख्ने गरिन्छ । छोरा जन्माउने आमा र छोरी जन्माउने आमाबीच विभेदको रेखा कोरिन्छ । बलवान् र कमजोर सावित गर्न खोजिन्छ, यहींबाट विकसित सोच र संस्कारले समाजमा छोराछोरीबीचको विभेदको खाडललाई फराकिलो बनाउँदै लगेको छ । देखिएका भन्दा नदेखिएका तर विभेदलाई मलजल गरिरहेका सामाजिक संस्कारप्रति गम्भीर भएर सोच्नुपर्ने बेला हुन्छ । सामाजिक संरचनालाई सन्तुलनमा ल्याउन कतिपय संस्कार, परम्परा र मानसिकतालाई बदल्न जरुरी छ । कानुनमा अधिकारका कुरा लिपिबद्ध गरेर मात्रै महिला अधिकार स्थापित हुने होइन । सामाजिक न्याय स्थापित गर्न समान गोरेटोमा सहयात्री बनेर हिँड्न सक्नुपर्छ । छोरी पाल्ने ज्वाइँ खोजेर होइन, मेरी छोरीले पनि ज्वाइँ पाल्न सक्छे भन्ने मानसिकताको विकास हुनुपर्छ । हामीले छोरी पाल्ने ज्वाइँ खोजिरहँदा कतै ‘शासक’ त खोजिरहेका छैनौं ? बिहे गर्दा ‘शासक’ होइन, साथी खोज्ने कि ! कान्तिपुर दैनिकबाट Januka