विचार

प्रधानमन्त्री प्रचण्डजी, कर्मचारीले यसरी गर्छन अनुगमनका नाममा सेटिङ

प्रधानमन्त्री प्रचण्डजी, कर्मचारीले यसरी गर्छन अनुगमनका नाममा सेटिङ
Narayan Paudel 1 नारायण पाैडेल तपाईका यसअघिका मन्त्री गणेशमान पुन कार्यकालको उत्तरार्धतिर चर्चामा आए । उनले साताव्यापी अनुगमन थालेपछि असारको अन्तिम साता भरि समाचार बनिरहे । पुनले गोप्यरुपमा थालेको भनिएको छड्के अनुगमनको विवरण कर्मचारीले पहिल्यै व्यवसायीकोमा पु-याइदिएका थिए । आपुर्ती बिभाग प्रमुख रामचन्द्र काफलेले कहाँ कहाँ अनुगमन हुँदैछ भन्ने सार्वजनिक रुपमै जानकारी दिएका थिए । काफ्ले तै सोझा रहेछन् । बाहिर निकै कडाइ गर्ने तर व्यवसायीलाई मोबाइल रिंगाइ हाल्ने कर्मचारी धेरै छन् । अग्रिम जानकारी दिने गरी व्यवसायीले कर्मचारीसँग सेटिङ मिलाएकै हुन्छन् । अर्को सेटिङ सिलबन्दीपछि हुंने गर्दछ । उदाहरणका लागि भाटभटेनी फुड प्रोडक्टस्मा सिलबन्दी गरिएको छ । चुच्चेपाटीमा रहेको यो प्रोडक्ट्सले मुख्य रुपमा भाटभटेनीका १२ शाखामा खाद्य पदार्थ सप्लाइ गर्दछ । २०१३ सम्म मात्र म्याद रहेका खाद्य पदार्थमा समेत पुनः नयाँ लेबल लगाएर सप्लाइ गर्न लागेको रंगे हात फेला पारियो । नीलोकालो भएका संचालक अरुण खण्डेलवालले गल्ती भएको र अब आइन्दा यस्तो नगर्ने भन्दै हात जोरी रहेका थिए । हायल कायल भएका यिनलाई पक्राउ गरिएन । उनको उत्पादन कक्ष भने सिलबन्दी गरियो । प्रधानमन्त्रीजी, उपभोक्ता अधिकारकर्मी ज्योती बानियाँका शब्दमा भन्ने हो भने उनलाई तत्काल गिरफ्तार नगर्नु नै चलखेलको सूचक हो । खण्डेलवालसँग लाखौं र उस्तै परे करोडौंमा डिल हुन्छ । सोको अंश उस्तै परे तपाईकै वरपरका व्यक्तिकोमा पनि आइपुग्छ । र, केस ढिसमिस पारिनेछ । विगतमा यस्तो भएको छ । गतबर्ष आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत आर्थिक वर्षभरि ४ हजार ३ सय ४२ व्यावसायिक फर्ममा अनुगमन गरेको थियो । यि मध्ये अधिकांशमा खोट देखिएको थियो । सिलबन्दी गरिएको थियो । तर, के भयो ? हात्ति आयो हात्ति आयो फुस्सा । जम्मा २० वटा विरुद्ध मुद्दा दायर भयो । सेटिङ मिले त्यो पनि सेलाउने छ । देश सेटिङमा चलेको प्रष्टै छ । अनुमगन टोलीले गत वर्ष औषध एक दर्जन ठाऊंमा दैनिक अनुगमन गरेको थियो । दोषी भेटिएका अधिकांश कारोवारीलाई टोलीले अब आइन्दा गल्ती नदोहोराउने सर्तमा उन्मुक्ति दिइएको देखिन्छ । यसरी कबुलनामा गरेर छाड्न मिल्ने भएपछि सेटिङ गर्न र बार्गेनिङ गर्न सजिलो भएको छ ।

[su_pullquote align="right"]प्रधानमन्त्रीजी तपाईप्रति एउटा तप्का पूरै पूर्वाग्रही छ । दुनियाँले तपाईलाई प्रचण्ड भनेर चिन्छ । तर, नेपालका कतिपयले तपाईलाई सम्झिसम्झि पुष्पकमल दाहाल भन्छन् । किनकि प्रचण्ड नाम उनीहरुका लागि ओझिलो लाग्छ । र, पुष्पकमल हलुका । यसपटक तपाई प्रचण्ड बनेर देखिनुहोस् ।[/su_pullquote]

विभागको तथ्यांक अनुसार अनुगमनमा परेका मध्ये ४ सय ६२ व्यावसायिक फर्म बिना दर्ता तथा नवीकरण बिना सञ्चालन गरिएको फेला परेको थियो । अनुगमनकै क्रममा ६ सय ६ व्यावसायिक फर्मले मूल्य सूची नराखी कारोबार गरेको फेला परेको थियो । ३ सय ३३ फर्मले बिल बिनै कारोबार गरेको भेटिएको थियो । ३ सय ६८ व्यावसायिक फर्मले म्याद नाघेको वस्तुको बिक्री गरेको फेला परेको छ । तथ्यांकअनुसार ५ सय ११ व्यावसायिक फर्ममा लेबल नभएका सामानहरू बिक्री गरेको फेला परेको छ । उपभोक्ता संरक्षण ऐन २०५४ मा ऐनमा लेबल नराखी बिक्री वितरण गरेरगराउनेलाई दुई वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ । अचम्म त के भने अनुगमन टोलीले दर्ता र नविकरण नगरी संचालित फर्मलाई नविकरण गर्न र दर्ता गरि संचालन गर्न निर्देशन दियो । मूल्य सूची नराखेकालाई राख्न सुझायो । म्याद नांघेका बस्तु बेच्नलाई त्यस्तो बस्तु नष्ट गर्न भनियो । लेबल नराखेका वस्तुमा लेबल लगाउन निर्देशन दिइयो । लाखौं खर्च गर्दै गरिएको अनुगमन गत बर्षको नजिर हेर्दा पहाड खनेर निकालिएको मुसा सावित हुंदै आएको छ । फेरिपनि ज्योती बानियाँको तर्क अघि सारौं । अब अनुगमनका नाममा लोकप्रियताको राजनीतिमात्र नगरौं । दोषी भेट्टिए च्याप्प समातिहालौं । अन्यथा दुईथरी अनुमगन केबल कर्मकाण्डी हुने देखिन्छ । पहिलो, नयाँ सरकार आउँदा सरकारको उपस्थिति जनाउनका लागि अनुगमन तिब्र बनाइन्छ । नियमित अनुगमन भइरहेको थियो । प्रधानमन्त्रीको निर्देशनमा अहिले विशेष अनुगमन चलिरहेको छ । यो फगत लोकप्रियताका लागि हो भन्ने धेरै छन् । परिणाम नआइ प्रधानमन्त्रीप्रति टिप्पणी नगरौं । दोस्रो, यसरी अनुगमन तिब्र बनाइँदा कर्मचारी अत्तालिन्छन् । व्यापारी घाँटी जोड्न प्रधानमन्त्री वरपर लाइन लाग्छन् । कर्मचारीको गोजि पनि कसिलो बन्ने सुभसाइत यही हो । चाडपर्ब नजिकदै गर्दा केही दिनको सिलबन्दी र सिलबन्दीका कारण जनमानसमा पर्ने प्रभावले व्यापारीको चौपट हुन्छ । यसबाट अन्य व्यापारीपनि तर्सन्छन् । त्यसपछि प्रधानमन्त्रीको सेरोफेरो र कर्मचारीवृत्त मालामाल हुन्छ । लोकप्रियता होइन लोकको सेवाका लागि अनुगमन भइरहेको आभाष दिलाउनुहोस् । पैसा उठाउनका लागि होइन, जनस्वाश्थ्य जोगाउनका लागि काम गरेको परिणाम देखाउनुहोस् । यसका लागि दोषीलाई ठाऊंको ठाऊं च्याप्प समात्न निर्देशन दिनुहोस् । तपाईको नाम मात्रै होइन काम पनि प्रचण्ड भएको ठहरिनेछ ।

anugaman Bhat-Bhateni Narayan Paudel Prachanda

विशेष