खेल

रियो ओलम्पिकमा आज लिगलिगे राजा हरिकुमार रिमाल दौडिदै

रियो ओलम्पिकमा आज लिगलिगे राजा हरिकुमार रिमाल दौडिदै
Hari-Kumar-Rimalभदाै - १ । रियो ओलम्पिकमा भाग लिन गएका मध्यदुरीका धावक वा नेपालका लिगलिगे राजा हरिकुमार रिमाल बुधबार साँझ एथलेटिक्स रंगशालामा ५ हजार मिटर दौडका लागि ट्रयाकमा उत्रिदैछन् । उनी साँझ ६ बजेर ५० मिनेटमा दौडिदै छन् । काठमाडौंबाट उड्नुअघि नेपालका मध्यदुरीका धावक हरिकुमार रिमाल भन्दै थिए– राष्ट्रिय कीर्तिमान मेरो लक्ष्य हो । बेलायतका कीर्तिमानी धावक मो फराहलाई भेट्ने ठूलो इच्छा छ । उनले यो दुवै अवसर आझको खेलमा पाउँदैछन् । उनी ४ वर्षअघि लन्डन ओलम्पिकमा बेलायतलाई १० हजार र ५ हजार मिटर दौडमा दोहोरो स्वर्ण दिलाएका मो फराहसँगै एउटै हिट्समा दौडिन लागेका हुन् । फराहले २ दिनअघि यही रंगशालामा १० हजार मिटरतर्फको स्वर्ण आफ्नो नाममा लेखाइसकेका छन् । अब उनको चुनौती लन्डन ओलम्पिकको स्वर्ण विजेताको छविलाई ५ हजार मिटरमा पनि कायम राख्ने हुनेछ । हरिलाई आफ्नो १० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गर्न दबाब हुनेछ । नेपालमा ५ हजार मिटर दौडको राष्ट्रिय कीर्तिमान त्रिभुवन आर्मीका राजेन्द्र भण्डारीको नाममा छ । भण्डारीले सन् २००६ श्रीलंकाको कोलम्बोमा आयोजना भएको १० औं दक्षिण एसियाली खेलकुद (साग) मा १४ मिनेट ०१ दशमलव १९ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए । उनी लेन नम्बर १० मा २ हजार ७ सय ९० नम्बरको ‘बिप’ मा देखा पर्नेछन् । ५ हजार मिटर दौडमा यसपालि ६ देशलाई युनिभर्सल कोटा छुट्टयाइएको थियो । जसमा नेपाल,मालावी, बर्मा, साओ टोमे एन्ड प्रिन्सिपे, सोलोमन आइसल्यान्ड र सोमालियाका खेलाडी छन् । नेपालमा त्रिपुरेश्वस्थित दशरथ रंगशालाको भ्वाङ परेको ट्रयाकमा २ महिना अभ्यास गरेर रियो पुगेका हरिले ६ दिन ओलम्पिक ट्रयाकमा अभ्यास गर्ने मौका भने पाएका थिए ।

विशेष