स्वास्थ्य

आखिर के हो जुम्बा र यसले के फाइदा दिन्छ ? - कारण जान्नुहाेस्

आखिर के हो जुम्बा र यसले के फाइदा दिन्छ ? - कारण जान्नुहाेस्
jumba साउन २ । २१ औ शताब्दीको आधुनिक समाज यति व्यस्त देखिन्छ कि सबैजसो व्यक्तिको जीवनशैली स्वास्थ्यप्रतिकूल भइरहेको देखिन्छ । व्यस्तताकाबीच अधिकांश व्यक्ति आफ्नो स्वास्थ्य र खानपिनमा सम्झौता गरिरहेका छन् । स्वस्थ रहन गरिने कैयौ उपायमध्ये जुम्बा पनि एक हो । आखिर के हो जुम्बा र यसले फाइदा के दिन्छ ? जुम्बा मास्टर शान्ता पौडेल भन्छिन् ऊर्जावान् संगीतका साथमा जुम्बा गरिन्छ । जुम्बाकक्षको माहोल नै निकै ऊर्जावान् हुन्छ । त्यसैले जुम्बाको ऊर्जावान् संगीतसँग मुग्ध हुनेहरूको सोच, विचार र मुड फ्रेस हुन्छ । बिहानको ताजा होस् या बेलुकाको थकान मार्ने जुम्बा, मुड फ्रेस पार्न यसको भूमिका हुन्छ । नियमित जुम्बा गर्नेको सोचाइ र विचार स्वच्छ र स्फूर्त भइराख्छ । मानसिक रोग एन्जाइटी हुनेको संख्या बढ्दो गतिमा छ । प्रायः अफिसमा पूरा दिन एकोहोरो काममै व्यस्त रहनुपर्ने व्यक्ति एन्जाइटीको सिकार भएको पाइएका छन् । यस्ता व्यक्ति जुम्बा जानु उपयोगी हुन्छ । जुम्बाले केही हदसम्म एन्जाइटीलाई निवारण गर्छ । जुम्बामा हुने नयाँ माहोल, आनन्ददायक संगीत अनि व्यायामले एन्जाइटीलाई ठीक पार्न भूमिका खेल्छ । नेपाली युवाहरूमा डिप्रेसनको समस्या व्यापक रूपमा देखिएको छ । मुख्यतस् उच्च आकांक्षा, विदेशी देखासिकी तर गरिबी र अक्षमताले नेपाली युवा डिप्रेसनको सिकार भएका छन् । वृद्धवृद्धामा पनि डिप्रेसनको समस्या छ । जुम्बाले डिप्रेसन भएका व्यक्तिको हकमा पनि सकारात्मक भूमिका खेल्छ । ग्रुप र संगीतमा गरिने जुम्बा र व्यायाम मानसिक समस्यालाई नियन्त्रणमा राख्छ । जुम्बामा शरीर तात्दा डिप्रेसन बिर्सिनेहरू धेरै छन् । अहिलेका नेपाली युवाहरूमा आत्मविश्वासको निकै कमी पाइन्छ । आत्मविश्वास बढाउन जुम्बा सेन्टर एउटा महत्वपूर्ण थलो हो । सामूहिक रूपमा गरिने नृत्य भएकाले पनि जुम्बा गर्दा आत्मविश्वासको विकास छिटो हुन्छ । जुम्बा गर्नेहरू समूहमा निर्धक्क बोल्न, आफ्नो कला प्रस्तुत गर्न अगाडि नै हुन्छन् । जुम्बा गर्दा मानसिकसँगै शारीरिक फाइदा पनि निकै छन् । मुख्यतः अधिकांश रोगका लागि कारक बन्ने गरेको मोटोपन नियन्त्रण गर्न जुम्बा उत्तम उपाय हो । जुम्बाको खास कन्सेप्ट नै शारीरिक मोटोपनलाई क्यालोरीमार्फत घटाउने भन्ने हो । नियमित जुम्बा गर्दा मोटोपन घट्ने तथा शारीरिक तौल नियन्त्रणमा राख्न सघाउ पुग्ने हुन्छ । हाड–जोर्नीको समस्या भएकालाई पनि जुम्बा फलदायी भएको पाइन्छ । जुम्बाको लचकदार व्यायामले सबै प्रकारका जोर्नीको दुखाइमा फाइदा गर्छ । जुम्बा गर्दा शरीरमा सञ्चार हुने रगतले उच्च रक्तचाप घटाउने काम गर्छ । यसले कोलेस्ट्रोलको मात्रामा पनि सुधार ल्याउँछ । पसिना निकाल्ने गरी रिल्याक्समा गरिने कसरत भएकाले जुम्बाले मानसिक र शारीरिक आनन्दसहित नै मन र शरीरलाई फिट राख्छ । मानसिक र शारीरिक रूपमा स्वस्थ व्यक्ति नै बाहिरी आवरणमा सुन्दर देखिन्छ । जुम्बा गर्दा छालाभित्रबाट पसिनासँगै फोहोर बाहिरिने भएकाले छाला सफा रहने गर्छ । अनुहारमा चमक आउँछ । सफा छालामा डन्डिफोरको खतरा पनि रहँदैन । त्यसैले बाहिरी सौन्दर्यका लागि पनि जुम्बा महत्वपूर्ण छ ।-नयाँ पत्रिकाबाट

jumba

विशेष