खेल

पाथीभरा गोल्डकपको उपाधि गोर्खा स्पोर्टिङ क्लबलाई

पाथीभरा गोल्डकपको उपाधि गोर्खा स्पोर्टिङ क्लबलाई
भदौ -- २। ताप्लेजुङमा सम्पन्न पाथीभरा गोल्डकप नकाउट फुटबल प्रतियोगिताको उपाधि गोर्खा स्पोर्टिङ क्लब दमक झापाले जितेको छ । football in net सदरमुकामस्थित भानुजन उच्च माविको खेल मैदानमा उपाधिका लागि आज दिउँसो भएको प्रतिस्पर्धामा घरेलु टिम सङ्घर्ष स्पोर्टिङ क्लब उकालीपानी ताप्लेजुङलाई एकका बिरुद्ध दुई गोल अन्तरले पराजित गर्दै दमकले उपाधि जितेको हो । खेलको १८ औँ मिनेटमा सङ्घर्ष स्पोर्टिङ क्लबका जर्सी नम्बर ७ का खेलाडी क्रिस राईले गोल गरेसँगै निकै दबाबमा परे पनि मध्यान्तरपछिको ६१ औँ मिनेटमा दबाबमा रहेका गोर्खा स्पोर्टिङ क्लबका जर्सी नम्बर ४ का खेलाडी दिलेन लोत्तामले गोल गरेर बराबरीमा पारेपछि खेल प्रतिस्पर्धात्मक बनेको थियो । यस्तै मध्यान्तरपछिकै ७९ औँ मिनेटमा दमकका जर्सी नम्बर ११ का सुजल श्रेष्ठले पेनाल्टी सुटआउटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै विजेता गोर्खा स्पोर्टिङ क्लब दमक झापाले पाथीभरा गोल्डकप, पदक र प्रमाणपत्रसहित नगद रु एक लाख ५१ हजार १११ हात पारेको छ भने उपविजेता बनेको घरेलु टिम सङ्घर्ष स्पोर्टिङ क्लबले नगद रु एक लाख ११ हजार १११ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । यता आजै भएको कञ्चनजङ्घा च्यालेन्ज रनिङकप महिला फुटबल प्रतियोगिताको उपाधि पारिजात महिला फुटबल क्लब झापाले हात पारेको छ । उसले सूर्योदय युथ क्लब मोरङलाई एक गोल अन्तरले हराउँदै उपाधि हात पारेकोे हो । विजेता झापाले कञ्चनजङ्घा च्यालेन्ज रनिङ कप, पदक र प्रमाणपत्रसहित नगद रु ५१ हजार १११ प्राप्त गरेको छ भने उपविजेता मोरङले पदक र प्रमाणपत्रसहित नगद रु ३१ हजार १११ हात पारेको छ । २०२९ सालदेखि लाखे जात्राको अवसरमा हरेक वर्ष आयोजना गरिँदै आएको यस वर्षको पाथीभरा गोल्डकप प्रतियोगिता भने गत शुक्रबारदेखि सुरु भएको थियो । लाखेजात्रा खेल सञ्चालन समितिको आयोजनामा भएको प्रतियोगितामा यो वर्ष रोयल फुटबल क्लब सिलगुढी भारत र पूर्वाञ्चलनका विभिन्न सात टिमसहित आठ टिमको सहभागिता रहेको थियो । पछिल्लो समय भारतीय टिमको समेत सहभागिता हुन थाले पछि हरेक वर्ष आयोजना हुने प्रतियोगितामा भारत लगायत नेपालका विभिन्न जिल्लाका दर्शकको आकर्षण बढ्दै गएको छ । रासस

football Pathibara

विशेष