जापानमा टुट्यो संगीतको तार
भदौ – ४ । जापानमा एक नेपाली युवाको असामायिक निधन भएको छ । दुई वर्ष अघि उच्च शिक्षाका लागि जापान पुगेका सिन्धुलीका रमेश तामाङको उपचारका क्रममा गत अगस्ट १५ मा मृत्यु भएको हो ।
सिन्धुली, लम्पटान डाँडा–५ स्थायी घर भए पनि उनी परिवारसहित काठमाडौंको धोबीघाटमा बस्ने गरेका थिए । दुई वर्ष अगाडि संगीतमा उच्च शिक्षा हासिल गर्न जापान उडेका रमेश जापानस्थित इपिएस कलेजमा गीतार सिक्दै आइरहेका थिए । स्थानीय एक रेस्टुरेन्टमा वेटरको काम पनि गर्दै आएका थिए ।
कसरी भयो निधन ?
रमेशका साथी दिनेश जापान गएको १५ महिना भएको छ । उनीभन्दा छ महिना पहिले रमेश जापान पुगेका थिए । दुवै मिल्ने साथी भएकाले एउटै कोठामा सँगै बस्ने गरेका थिए ।
अगस्ट १३ तारिक अर्थात विरामी हुने दिन रमेश र दिनशसँगै कोठाबाट काममा निस्केका थिए । रमेश युकोहामस्थित सुकिया रेस्टुरेन्ट तिर लागे । दिनेशको भने अर्कै ठाउँमा थियो काम । दैनिक उनीहरुको सिफ्ट राति ९ बजेसम्म चल्थ्यो ।
रमेश काम गरिहेको बेला उनको हातखुट्टा अत्यधिक दुख्न थाल्यो । करिब ५ बजे उनले आफ्नो समस्या मेनेजरलाई बताए । मेनेजरले उनको कुरा वास्ता गरेनन् र ९ बजेसम्मको सिफ्ट सक्नु पर्ने निर्देशन दिए । त्यो दिनको काम जेनतेन सकेर उनी कोठामा पुगे । उनी सधै बसमा कोठा फर्कन्थे । त्यो दिन ट्याक्सी लिएर फर्के । उनी सहज अवस्थामा थिएनन् भन्ने त्यसबाट पनि स्पष्ट हुन्छ ।
हातखुट्टा धेरै दुखेको भन्दै रमेश छट्पटाउन थालेपछि उनलाई दिनेशले अस्पताल पुर्याए । अस्पतालमा उपचारपछि उनको अवस्थामा सुधार आयो । अस्पतालले केही दिन भर्ना गरेर राख्नु पर्ने बताए । त्यसपछि रमेशलाई अस्पतालमै भर्ना गरेर दिनेश आफ्नो दैनिकीमा फर्के ।
दोस्रो दिन अगस्ट १४ तारिक आइतबारसम्ममा उनमा धेरै सुधार आइसकेको थियो । दिनेश राति ९ बजेसम्म रमेशसँगै थिए । उपचारबाट सामान्य हुँदै गएको भन्दै रमेशले नै दिनेशलाई कोठा जान लागि सल्लाह दिए । त्यसपछि रमेशलाई छोडेर दिनश कोठातिर लागे ।
भोलिपल्ट बिहान अर्थात तेस्रो दिनमात्र थाहा भयो दिनेशलाई आफ्नो बच्चै देखिको साथी रमेश यो संसारबाट बिदा भइसकेका रहेछन् । रमेशको निधन भइसकेको खबरले दिनेश विक्षिप्त जस्तै भएका छन् । रमेशले हातखुट्टा दुख्यो भनेका थिए । त्यो समस्या बिसेक हुँदै थियो । फेरि अचानक उनको निधन भयो । जापानमा नेपाली भाषाको अनलाईन सञ्चालन गरिरहेका समुद्रपारि डट कममा सम्पादक तिलक मल्लका अनुसार रमेशलाई हृदयघात भएको थियो । नेपालआजसँग कुरा गर्दै सम्पादक मल्लले भने, ‘हृदयघात भन्ने कुरा बुझिएकोछ ।’
प्रक्रिया के हुँदै छ
रमेशको शव नेपाल पठाउन जापानस्थित नेपालीहरुले आर्थिक संकलन शुरु गरेका छन् । एनआरएन जापानका अध्यक्ष सुदन थापाले फेसबुक मार्फत आर्थिक सहयोग शुरु गरेको जानकारी दिए । त्यस्तै उनको शव नेपाल पठाउन जापानस्थित तामाङ समाजले पनि सहयोग गरिरहेको छ ।
जापानमा कसैको मृत्यु भएमा शव नेपाल पठाउन झन्झटिला प्रक्रियाहरु पूरा गर्नु पर्ने प्रावधान छ । शव पठाउन सर्वप्रथम शव पठाउने कम्पनी खोज्नु पर्ने हुन्छ । उनको शव नेपाल ल्याउन जापानस्थित एक कम्पनीसँग सम्झौता भइसकेको छ । रमेशको शव नेपाल पठाउने प्रक्रिया लगभग पूरा भएको दिनेशले जानकारी दिए ।
रमेशको शव अगस्ट २४ तारिक थाइ एयर लाइन्सबाट नेपाल पठाउने र २५ तारिक नेपाल आइपुग्ने भएको छ ।
प्रस्तुतीः नेत्र पौडेल