रमित ढुंगानासहित चार जना पुनर्स्थापना केन्द्रमा
भदौ ४ । जिल्लाका पाँचजना सडक बालकको पढाइ र पालनपोषणको जिम्मा पोखरास्थित ‘हिमालयन लाइफ नेपाल’ले लिएको छ । तीन महिनाअघि सडकबाट सुधारको लागि बागलुङस्थित पुनःस्थापना केन्द्रमा राखिएका ती बालबालिकालाई शुक्रबार पोखरा पठाइएको छ ।
लामो समयदेखि सडकमै दैनिकी गुजार्दै आएका १० वर्षीय अभिषेक परियार, रमित ढुंगाना, प्रकाश थापा, चार वर्षीय विनोद परियार र आठ वर्षीय रोहित परियारलाई ‘सेभ द् युथ’ र जिल्ला खेलकुद विकास समिति बागलुङले सडकबाट उद्धार गरेका थिए । पुनःस्थापना केन्द्रको बसाइँपछि बालकहरुमा राम्रो सुधार आएपछि दीर्घकालीन व्यवस्थापनको लागि पोखरा पठाइएको ‘सेभ द् युथ’ का अध्यक्ष मनिष रायमाझीले बताए ।
परिवारको सहारा समेत गुमाएर सडकमा पुगेका बालकको सुरक्षित भविष्यको लागि संस्थाले उद्धार र व्यवस्थापनमा सघाएको उहाँको भनाइ छ । ती बालकको जिम्मा लिएपछि ‘हिमालयन लाइफ नेपाल’ पोखराका निर्देशक चनमन सिर्मलले पठनपाठन र लालनपालनको लागि उपयुक्त व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।
‘सेभ द् युथ’ को वार्षिकोत्सव पारेर शुक्रबार आयोजित समारोहमा निर्देशक सिर्मलले बालकहरुको जिम्मा लिएका थिए । उक्त अवसरमा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बालकको चाहना र भावनाको कदर गर्दै जिम्मेबारी बहन गरिदिन आग्रह गरे ।
सेभ द् युथले लागुऔषध विरुद्धका विभिन्न अभियान पनि जिल्लामा सञ्चालन गर्दै आएको छ । ‘युवा बचाउ’ अभियान चलाएको संस्थाले सहारा गुमाएका, उपचार नपाएका, शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।
तीन महिनाअघि बालकहरुसँगै उद्धार गरिएका चारजना बालिकाको पनि दीर्घकालीन व्यवस्थापनको लागि पहल अघि बढेको छ । ती बालिका पनि अहिले बागलुङको पुनःस्थापना केन्द्रमा आश्रित छन् । बालबालिका घर नबसी, विद्यालय नगइ सडकमा माग्ने, खाने, सुत्ने गरेर दिनचर्या बिताउँदै आएका थिए । बागलुङमा थप केही सङ्ख्यामा सडक बालबालिका रहेको जनाइएको छ । उनीहरुलाई पनि उद्धार र पुनःस्थापनाको पहल अघि बढाउने सरोकार भएका पक्षहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।