विचार

विस्तारवादीद्वारा प्रयोग भएका एक गोटीमात्रै हुन् प्रचण्ड

विस्तारवादीद्वारा प्रयोग भएका एक गोटीमात्रै हुन् प्रचण्ड

khadka-bahadur-biswokarma-nepalaajaनेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुसँग इतिहासको एउटा कालखण्डमा सहयात्रा गरेका थियौं । समय बदलिँदै जाँदा उहाँहरु पनि बदलिनु भयो । पहिले जनताको पक्षमा हुनुहुन्थ्यो अहिले राष्ट्रघाती कित्तामा उभिनु भएको छ । यसकारण उहाँहरु अब हाम्रो सहयात्री हुने कुरै भएन । राष्ट्रघाती र देशद्रोहीको कित्तामा उभिनेसँग सहयात्रा हुन सक्दैन ।

कुनै बेला हामी राजतन्त्रविरुद्ध संघर्ष गथ्र्यो । राजतन्त्र र संसदीय व्यवस्थाबिरुद्ध हामीले मिलेर संघर्ष गरेका थियौं । तर अब मुलुकमा राजतन्त्र छैन । राजतन्त्र नभए पनि संघर्ष गर्न बाँकी छ । अहिले हामीले हाम्रो पुराना सहयात्रीसँग गर्नुपर्ने अवस्था आयो । हाम्रा पुराना साथीहरुले राजतन्त्रको पक्षमा त काम गर्नुभएन । राजतन्त्र ढाल्न सहयोग गर्नुभयो । तर राजतन्त्रको ठाउँमा दलाल पुँजीपति बर्गलाई ल्याएर राख्नुभयो । तिनै दलालहरुको दलाली उहाँहरुले गरिरहनु भएको छ ।

कांग्रेस, एमालेले त पहिले देखि नै विस्तारवादी र साम्राज्यवादीको दलाली गर्थे । उनीहरुकै अह्रन खटनमा चल्थे । सत्तामा गएर केही समय मोजमस्ती पनि गर्थे । तर अहिले कांग्रेस एमालेको लाइनमा माओवादी केन्द्र पनि आएको छ । यसले पनि साम्राज्यवादी र विस्तारवादीको दलाली गर्छ । त्यही दलाली गरेर प्रचण्ड प्रधानमन्त्री बनेका हुन् ।

प्रचण्ड प्रधानमन्त्री बन्नुमा अरु कसैको भूमिका यस्तो छ उस्तो छ भनेर चर्चा गर्नु बेकार हो । किनभने प्रचण्ड प्रधानमन्त्री उनको क्षमता, मुलुकको आवश्यकताले बनेकै होइनन् । विस्तावादीलाई एउटा दलाली गर्ने मान्छे चाहिएको थियो । त्यसकालागि प्रचण्डलाई सिँढी बनाइएको हो । प्रचण्ड र शेरबहादुर देउवाले चाहेर यो सरकार बनेको पनि होइन । यो सरकार विस्तारवादीले बनाइदिएको हो । उसले चाहँदा तुरुन्तै ढाली पनि दिन्छ । खासमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्डलाई तत्कालका लागि सिँढी बनाइएको हो । शेरबहादुरलाई सोझै बनाउन नसकिने भएर विस्तारवादीद्वारा प्रयोग भएका एक गोटीमात्रै हुन् प्रचण्ड ।

भन्नेबेला जनताको नाममा ठूला कुरा गर्ने तर व्यवहारमा अरुकै चाकडी गर्नेहरु धेरै छन नेपालमा । नेकपा माओवादी केन्द्रले माओवादको जलप लगाएर जनता झुक्याउँछ । सर्वहारावर्गको नेतृत्व हामीले गर्छौै । सर्वहारावर्गका हामी हौं । तर सर्वहारावर्गको जलप लगाएर प्रचण्डले जनता झुक्याउँछन् । प्रचण्डको जात अब हामीसँग मिल्दैन । तर उनी हाम्रा जातका मान्छे झुक्याएर विदेशीको दलाली गर्छन् ।

हेर्दै जानुहोला, प्रचण्ड प्रधानमन्त्री भएर पनि केही गर्न सक्ने छैनन् । यीनी नेपाली जनताको होइन साम्राज्यवादी र विस्तारबादीको सेवा गर्न प्रधानमन्त्री बनेका हुन् । ओलीले गरेजति काम पनि प्रचण्डले गर्न सक्दैनन् । ओलीले त चीनसँग पारवहन सम्झौता, विभिन्न समझदारी गरेर सकारात्मक काम गरेका थिए । तर प्रचण्डले यी सबै काम गर्न सक्दैनन् । विस्तारवादीले आफ्नो स्वार्थ पूरा नगर्ने ओलीलाई हटाएर आफ्नो स्वार्थपूरा गर्ने प्रचण्डलाई प्रधानमन्त्री बनाएका हुन् । यसकारण पनि प्रचण्डले कुनै गतिलो काम गर्न सक्दैनन् । खराब उद्देश्य, खराब डिजाइन र खराब नियतले प्रचण्ड सरकार बनेको हो । जसरी काउसोको लहरामा स्याउ फल्दैन, त्यसैगरी प्रचण्डबाट राम्रो कामको आशा गर्न सकिँदैन । प्रचण्डबाट देश र जनताको हितमा कुनै कामको आशा गर्नु पाखण्डपन मात्रै हो ।

यसो भनिरहँदा ओलीलाई राष्ट्रवादी भन्नु गलत हुने छ । किनभने ओली पनि राष्ट्रघाति नै हुन् । अहिलको परिवेशले उनी राष्ट्रवादी जस्ता देखिएका हुन् । भारतमा कांग्रेस आइसँग ओलीको बढी लगाव थियो । भाजपा अहिले सरकारमा छ । यसकारण ओलीले भारतको सरकारसँग टक्कर लिएका हुन् । यदि सारमा बुझ्ने हो भने ओलीको राष्ट्रभक्ति कांग्रेस आइ र भाजपाको द्वन्द्वको उपज हो ।

हुट्टीट्याउँले आकाश तिर नंग्रा फिँजाएर सुत्छ । उसलाई लाग्छ, यो आकाश आफैले थामेको छु । जनताबाट बहिष्कृत भएका प्रचण्ड अहिले विदेशीको स्वार्थका कारण प्रधानमन्त्री बनेका छन् । उनलाई अहिले पनि, अबको चुनावमा आफ्नो पार्टी अझै शक्तिशाली हुनेछ भन्ने लागेको होला । तर अब नेकपा माओवादी केन्द्रको अध्यारो युग शुरु भयो । भ्रम नै सही जनताको मनमा ओली सरकार ठीक मानिएको थियो । त्यो लोकप्रिय सरकार ढालेर प्रचण्ड सत्तायात्रा गरिरहेका छन् । अब माओवादी केन्द्रको अन्धकार युग शुरु भएको छ । पार्टी बिसर्जनको बाटोमा अगाडि बढ्नेछ । चुनावमा माओवादीको अवस्था अलिहेको भन्दा पनि निरिह हुनेछ । माओवादीप्रति अलिकति भएको सहानुभूति पनि प्रचण्डले विस्तारवादीको खुट्टा ढोगेर समाप्त पारिसकेका छन् ।

हाम्रो मिसन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले एकीकृत कार्यदिशाको माध्यमबाट आन्दोलन गरिरहेको छ । पूर्ण स्वाधीनतका लागि हामीले आन्दोलन गर्ने हो । आन्दोलनका सबै रुप प्रयोग गर्ने छौं । राज्यले दमन गर्यो भने हतियार नउठ्ने कुरा हुँदैन । दश वर्ष सशस्त्र आन्दोलन गरेर त केही भएन अब के होला भन्ने पनि लागेका हुन सक्छ । तर आन्दोलनको नेतृत्व गर्ने प्रचण्डले बीचमै आत्मसमर्पण गरिदिए । त्यसो नगरेको भए जनवादी राज्यसत्ता प्राप्त हुने थियो ।

मधेसी मोर्चा पनि भारतको दलाल भारतले नांगो हस्तक्षेप गर्दै नेपालमा नाकाबन्दी गर्यो । पाँच महिना लामो नाकाबन्दी गरेर भारतले साँढेशैली देखायो । यो नाकाबन्दीलाई मधेसी मोर्चाले समर्थन गर्यो । यसबाट मधेसी मोर्चा पनि विदेशीको दालाल नै हो भन्ने स्पष्ट भयो । (प्रवक्ता विश्वकर्मासँग भएको कुराकानीमा आधारित)

विशेष