छापामार शैलीमा बत्ति काटिएको भन्दै पूर्वराजपरिवार आक्रोशित, ‘हिजोको सहमति कृष्ण सिटौलालाई सोधे हुन्छ’
मुमाबडामहारानी ८९ बर्षको होइबक्स्यो । हिजोमात्र उहाँको जन्मदिन हो । आज महेन्द्र मञ्जिल अध्याँरो पारियो । महेन्द्र मञ्जिलसँग मुमाबडामहारानीको भावना जोडिएको छ । महेन्द्र सरकारको नामसँग जोडिएको हुँदा दरबार छाड्ने बेलामा ज्ञानेन्द्र सरकारले रत्न सरकारका लागि जीबनपर्यन्त सो मञ्जिल उपलब्ध गराउन सरकारसँग आग्रह गरिबक्सेको थियो ।
तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले सरकारी निर्णय ल्याएर दिनुभएको थियो । सरकारी निर्णयअनुसार महेन्द्र मञ्जिलमा रत्न सरकार र नार्गाजुन दरबारमा ज्ञानेन्द्र सरकार उहाँहरुको जीबनभर बस्न पाउँने निर्णय भएको थियो
उहाँहरु पूर्व राष्ट्रप्रमुख होइसिन्छ । पूर्व राष्ट्रपतिलाई सरकारले बिजुलीबत्ति र आवासलगायतका सुविधा दिएको छ । अनि आफैंले गरेको सहमति अनुसार पूर्वराजपरिवारलाई गर्न पर्दैन ? यो त छापामार शैलीमा बत्ति काट्ने काम भएको छ ।
हिजो सरकार भनेर विश्वास गरिएको थियो । अब कसरी विश्वास गर्ने ? थला परेकी ८९ बर्षकी एक वृद्ध पूर्व रानीमाथि यस्तो किसिमको व्यवहारलाई कसरी हेर्ने ? कृपया एक पटक पूर्वगृहमन्त्री एंव तत्कालिन प्रधानमन्त्रीका दुत कृष्ण सिटौलालाई सोधिदिनोस् ।
सरकारी क्वार्टरका रुपमा पूर्वमुमाबडारानी रत्नले महेन्द्र मञ्जिललाई प्रयोग गरिबक्सेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी क्वार्टरमा बस्नुहुन्छ । के बिजुलीको पैसा उहाँ आफैंले तिर्नुहुन्छ ? सामान्य नियम र मान्यताको पनि खिलापमा छापामार शैलीको काम हुनु दुःखद र निन्दनीय छ ।
रत्न सरकार एक अंशियारपनि हो । पूर्वराजा महेन्द्रको जीबनसाथीका रुपमा उहाँले महेन्द्र सरकारले निजी तबरले किनेको पोखराको रत्न मन्दिर र दियोलो बंगलामा दाबी गर्न सक्ने ठाऊँ छ । अन्य यस्ता धेरै सम्पत्ति ट्रष्टमा दाखिला गरिएको छ । उहाँले बृद्ध उमेरका कारण भैग्यो भन्ने सोचिबक्सेको होला । यस्तो किसिमको तल्लो स्तरको व्यवहार सरकारका तर्फबाट देखाइएमा उहाँको मनोविज्ञान के होला ? उहाँले एक श्रीमतीका रुपमा श्रीमानको निजी सम्पत्तिमाथि हक दाबी गर्ने कि नगर्ने ?
११ बर्षसम्म उपभोग गर्न दिने । यसअघिपनि विवाद निम्त्याउन खोजिएको थियो । त्यतिबेला विगतमा सरकारका तर्फबाट गरिएको सहमतिलाई आधारमानि महेन्द्र मञ्जिल र नागार्जुनको बिल सरकारले नै तिर्ने सहमति भएको थियो । अहिले एकाएक काटिएको छ । नारायणहिटी दरबारको कमाइ चाहीं सरकारको ढुकुटीमा जम्मा हुंने तर नारायणी दरबारकै एक हिस्साको रुपमा रहेको महेन्द्र मञ्जिलको लाइन काटिने ? यो हदसम्मको व्यवहार होला भन्ने सोचिएको थिएन ।
तत्कालिन गृहमन्त्री सिटौलाजीले मुख खोल्नुप-यो । तत्कालिन सरकारको दुतको रुपमा उहाँ दरबार आउनुभएको थियो । उहाँलाई विश्वास गरिएको हो । एक बृद्धामाथि यस्तो किसिमको दूरव्यवहार किन भइरहेको छ ? अचम्म लाग्छ ।
( पूवराजाका संवाद सचिव डाक्टर फडिराज पाठकसँग टेलिफोनमा गरिएको कुराकानीमा आधारित )
Gynandra Shah
King Mahendra
King Mother Nepal
Monarchy in Nepal
Ratna Rajya Laxmi Shah