रत्न निवासमा बिजुली काटिएको विषयमा पुनर्विचार हुन सक्छ
मैले पूर्वबडामहारानी रत्नको निवासको विद्युत लाइन काट्न तोकेरै निर्देशन दिएको होइन । नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिने क्रममा महसुल नबुझाउने ‘टप टेन’ संस्थाको नाम निकालेर उनीहरुको लाइन काट्ने र महसुल नबुझाउँदा लाइन काटिन्छ भन्ने सन्देश दिन खोजेको हो । यसो गर्दा मानिसहरुमा महसुल बुझाउन प्रेरणा जाग्छ भन्ने मेरो उद्देश्य हो ।
रत्न बसेको महेन्द्र मञ्जिल सरकारी स्वामित्वमा छ । यस्तो अवस्थामा सरकारले नै महेन्द्र मञ्जिलको विद्युतको महसुल तिर्नुपर्छ पनि भन्ने कुरा आएको छ । यदि त्यस्तो हो भने सरकारले महसुल तिरोस्, काटिएको लाइन जोडिन्छ । सरकारले तिर्ने हो भने त्यसको पनि विधि र प्रक्रिया होला । त्यो विधि र प्रक्रियाबाट विषय अगाडि बढोस भन्ने मेरो भनाइ हो । मैले कसैलाई पनि तोकेर लाइन काट्नु भन्ने निर्देशन दिएको छैन ।
मैले विद्युतको लाइन छानीछानी सरकारी संस्थाकै काटेर सस्तो लोकप्रियता कमाउन खोजेको होइन । निजी संस्थाको लाइन पनि काट्न निर्देशन दिएको छु । पुरानो बक्यौता धेरै राख्नेहरुलाई लाइन काटिन सक्छ भन्ने सन्देश दिनका लागि यो नमुनाका रुपमा अगाडि बढाएको कार्यक्रम हो ।
जहाँसम्म पुर्वबडामहारानी रत्नको निवासको लाइन काटेर अमानवीयता प्रदर्शन गरेको भन्ने सवाल छ, त्यो म स्वीकार गर्दिन । किनभने म कसैसँग पनि अमानवीय व्यवहार गर्दिन । अमानवीय व्यवहार सरकारले पनि गर्दैन ।
लाइन काटेको विषयमा मलाई विद्युत प्राधिकरणबाट रिपोर्ट प्राप्त भइसकेको छैन । रिपोर्ट आएपछि काटिएको लाइनका विषयमा समिक्षा हुन्छ । पुनर्विचार गर्नु पर्ने ठाउँमा पुनर्विचार पनि गरिनेछ ।
मन्त्री जनार्दन शर्माले अरुको लाइन काट्यो आफ्नै जनमैत्री अस्पतालले पनि विद्युत बक्यौता तिरेको छैन भनेर विषय ल्याएको देखियो । खासमा जनमैत्री अस्पताल मेरो हुँदैन होइन । त्यहाँको प्रशासनमा गएर बुझ्दा पनि हुन्छ । जनु संस्था मेरो हुँदै होइन, त्यमा मेरो नाम जोडेर किन प्रचार गरिन्छ मलाई अचम्म लाग्छ । (मन्त्री शर्मासँग टेलिफोनमा भएको कुराकानीमा आधारित)