मलाई बुढो भन्नेहरुलाई याद रहोस्, काम जोशले गर्ने हो उमेरले होइन
नेविसंघको महाधिवेशन गत साता सकिएको छ । चुनावमा अध्यक्षको उम्मेद्वारका रुपमा धेरै विद्यार्थी नेता मैदानमा उत्रिएका थिए । ती सबैलाई पछि पार्दै नैनसिहं महरले अध्यक्ष पदमा बाजी मारे । ४२ वर्षको विद्यार्थी नेता भनेर उनका विषयमा टिकाटिप्पणी भइरहेको छ । नैन सिहं महरले आफ्नो उमेर, विद्यार्थी राजनीति र राष्ट्रिय राजनीतिबारे नेपालआजसँग यसरी खुलस्त कुराकानी गरेका छन् ।
४२ वर्षमा नेविसंघको अध्यक्ष हुनु कुनै नौलो कुरा होइन । हाम्रो चुनाव धेरै पछि भएको सबैलाई थाहा छ । त्यसैले पनि यो ढिलो हुनु स्वाभाविक हो ।
म यदि सक्षम नभएको भए मलाई कसैले जिताउँदैन थियो । मेरो विरोध गर्नेहरुलाई याद होस् काम गर्न उमेरले छेक्दैन, काम गर्न क्षमता चाहिन्छ । म दुई वर्षमा काम गरेर देखाइ दिन्छु । नेविसंघलाई अर्कै स्वरुपमा परिवर्तन गरिदिन्छु ।
हिजो यति वर्षमा यो मान्छे यस्तो भयो, त्यस्तो भयो त्यो हिजोको समय हो । आजको समय फरक छ । कुन देशमा कसले कुन उमेरमा के गरे त्यो अरु देशको कुरा हो । म ढिलो अध्यक्ष बनेर राजनीतिमा पतन हुँदिन ,अरु भन्दा चाडो अगाडि बढ्न पनि सक्छु म ।
४०–४२ वर्षमा कोही बुढो हुँदैन । काम गर्ने अनुभवले हो । उमेरले केही गर्न नी छेक्दैन । सवैभन्दा ठूलो कुरो आफ्नो क्षमता तागत र काम गर्छु भन्ने जोस हो ।
म अहिले विद्यार्थी माझ लोकप्रिय छु । पछि सारा नेपाली जनता माझ लोकप्रिय हुनेछु । मलाई एक राम्रो लेखक भनेर सबैले चिन्छन । विद्यार्थी राजनीतिमा लामो समयदेखि लागेकाले नेपालको राजनीतिमा नै एउटा राम्रो छाप छोड्नेछु ।
(सभापति महरसँग नेपालआजका लागि सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित)