देश

तरकारी खेतीमा कृषकको आकर्षण बढ्दै

तरकारी खेतीमा कृषकको आकर्षण बढ्दै
vegetable भदौ - ६ । जिल्लामा तीन वर्ष अगाडिदेखि सुरु युवा लक्षित कार्यक्रमले तरकारी खेतीमा कृषकको आकर्षण बढ्दै गएको छ । विदेश गएका र विदेशिन लागेका युवालाई स्वदेशमै बसी कृषिबाट आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान रकम उपलब्ध गराउन थालेपछि कृषिमा उनीहरुको आकर्षण बढेको हो । मौसमी तथा बेमौसमी तरकारी खेती, फलफूल, माछापालन, मौरीपालन, पशुपालनतर्फ गाई, भैँसी, बाख्रा, बङ्गुर कुखुरापालनमा युवालाई संलग्न गराई विदेश मोह हटाउनका लागि अनुदान रकम उपलब्ध गराउने नीति ल्याएपछि युवाको विदेशप्रतिको आकर्षण घट्दै गएको छ । मित्यालका शेरबहादुर सोतीले सात वर्षसम्म विदेश बसेर स्वदेश फर्केलगत्तै व्यावसायिक तरकरी खेती गरे । उनले भने – “विदेशमा बस्दा खान लाउन, परिवार पाल्न गाह्रो थियो, अहिले तरकारीबाट दिनहुँ आम्दानी हुन्छ, घर खर्च सहज तरिकाले चलेको छ ।” युवालक्षित तरकारी खेतीअन्तर्गत रु ४० हजार रकम अनुदान प्राप्त गरेका छन् । कृषि विकास कार्यालयले अनुदानमा रकम उपलब्ध गराएपछि झन व्यवसायमा हौसला मिलेको उनले बताए । विदेशिएका रामपुरका कृषक नारायण रायमाझीले पनि विदेशको पीडा भुल्नका लागि तरकारी खेती सुरु गर्नुभयो । उहाँले पाँच रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारी खेती गर्छन् । उनको व्यवसाय र मेहनतको प्रतिफलले युवालक्षित कार्यक्रममा छनोटमा परे । “कृषि गरे दाम पनि हुने नाम हुने, विदेशमा पसिना बगाउन नि परेन,” उनले भने । यस्तै च्याउ व्यवसायी कृषक बलबहादुर राना पनि रोजगारीको समस्याले विदेश पुगेका थिए । झन्डै तीन वर्षसम्म विदेशमा रहनुभएका रानाले विदेशको राहदानी फ्याँकेर व्यावसायिक रुपमा च्याउ खेती सुरु गरे । च्याउबाट उनले वर्षमा रु दुई लाखदेखि रु तीन लाखसम्म आम्दानी गर्छन । उनले वर्षमा दुईपटक च्याउ खेती गर्दै अाइरहेका छन् । एक पटकमा ७०० सम्म बल्बमा च्याउ उत्पादन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । “च्याउ खेती गरेको कृषि विकास कार्यालयले अनुदान पनि दियो, व्यवसाय गर्न पनि दुःख नहुने, घरमै बसीबसी आम्दानी हुँदोरहेछ” – उनले भने। वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइरालाले कृषिमा अनुदान रकमले नै युवालाई व्यवसाय गर्न हौसला मिलेको र उत्पादन पनि बढाउँदै गएको बताए । आव २०७०÷७१ मा १२० जना, आव २०७१÷७२ मा ८८ र आव २०७२÷७३ मा ६६ युवालाई छनोट गरी कार्यालयले अनुदान रकम उपलब्ध गराएको कृषि प्रसार अधिकृत वैकुण्ठनाथ खनालले बताए। उनका अनुसार कार्यालयमार्फत च्याउ, मौरी, माछामा समेत गरी करिब ३०० युवा छनोटमा परिसकेका छन् । रासस

tarkari Khati Vegetable

विशेष