नेपाली खेलाडीकाे पहिलो वायोग्राफी
भदौ–६ । नेपाली खेलाडीको सम्भवत पहिलो वायोग्राफी कीर्तिमानी भारोत्तोलक ओलम्पियन सुरेन्द्र हमालको आउने भएको छ ।
नेपाली भारोत्तोलनका सर्वाधिक सफल खेलाडी हमालको आत्मकथा यही भदौ तेस्रो साता बजारमा आउने तयारीका साथ काम भइरहेको उनले बताएका छन् ।
यसको लेखन, सम्पादन र प्रकाशनको सम्पूर्ण जिम्मेवारी क्रिएटिभ बुक्सले लिएको छ । दुई बर्षअघि क्यान्सरबाट पीडित भई उपचारपछि निको भएका हमालले त्यतिबेलादेखि नै जीवनलाई समिक्षा गर्न थालेको बताए । ‘जब म मृत्युसँग लडिरहेको थिएँ, मेरा मनमा त्यतिबेलादेखि नै जीवनका बारेमा समिक्षा गर्न थाले,’ उनले भने–‘ फलस्वरुप पुस्तकको आकार तयार भयो ।’
खेलाडी जीवनमा अनुशासनका कारवाही भोग्नुपरेको तीतो कथा सुनाउँदै उनले भने– ‘म एकदम फर्ममा थिएँ, म कारवाहीमा परें, प्रशिक्षणमा रोक लगाइयो,’ उनले भने –‘यसले गर्दा मेरो पहिलेको जस्तो उत्कृष्ट प्रदर्शन फेरि हुन सकेन, गति त्यत्तिकैमा रोकियो । यसले गर्दा मेरो लागि र राष्ट्रका लागि पनि घाटा भयो ।’
हमालले सन् १९८३ मा सिरियामा भएको एशियन भारोत्तोलन च्याम्पियनसीपमा कास्य पदक जितेका थिए । यो नै नेपाली भारोत्तोलनको ठूलो पदक हो ।
दक्षिण एशियाली महासंघीय खेलकुद(साफ)को पहिलो र दोस्रो संस्करणमा रजत पदकधारी हमालले साफका आधा दर्जन बढी पदक हात पारेका छन् । खेलकुद र राजनीतिलाई सँगसँगै अघि बढाएका हमाल नेपालगन्जस्थित महेन्द्रबहुमुखी क्याम्पसा स्ववियु सभापति एवं २०४६ सालमा नेपालगन्ज नगरपालिकामा उपमेयर निवार्चित भएका थिए । उनी हाल राष्ट्रिय खेलकुद परिषदमा कोषाध्यक्षको जिम्मेवारीमा छन् ।
Bhar Ottolan
Surenda Hamal
Weight Lifting