फेसबुकका कारण श्रीमती पाेइला गएपछि श्रीमानकाे बिजाेग
भदाै - ६ । फेसबुकका कारण श्रीमती अर्कै केटासँग पाेइला गएपछि रौतहत चन्द्रपुर नगरपालिका ५ बेल्डीका रामबाबु चौधरीको विजोग भएको छ ।
रामबाबुले दुई वर्षअघि दाङ तुलसीपुरकी पूर्णिमा परियारसँग प्रेम बिवाह गरेका थिए । उनले बिजुलीको पसल गर्न भनी जम्मा पारेकाे चार लाख ३२ हजार रुपियाँ लिएर श्रीमती अर्कै केटासँग भागेपछि उनको बिजोग भएको हो ।
एक वर्षको छोरा घरमै छोडेर उनी श्रीमती चितवन भरतपुरको एक केटासँग भागेकी छन् । गत साउन ३२ गतेदेखि श्रीमती घरमा नभएको उनी बताउँछन् ।
श्रीमती अर्कै केटासँग भागेपछि उनको विजुलीको पसल खोल्ने सपना पनि चकनाचुर भएको छ । उनीसँग परिवारका अन्य सदस्य नभएकाले उनको एक वर्षीय बालक हेरचाह गर्ने उनी बाहेक अरु कोही छैन ।
श्रीमती प्रायः फेसबुकमै तल्लिन हुने गरेको र गाली गर्दा रिसाएर अर्कै केटासँग भाग्ने धम्की समेत बारम्बार दिने गरेको पीडित रामबाबुको भनाइ छ । श्रीमतीले फेसबुकमा नाम परिवर्तन गरी शिल्पा बर्मा राखेको र आशिक शर्मा नाम गरेको केटासँग घण्टौंसम्म व्यस्त रहने गरेको उनको भनाइ छ ।
उनले चितवनको भरतपुरमा श्रीमतीको निकै खोजतलास गर्दा फेला नपरेपछि प्रहरीमा उजुरी समेत दिएका छन् । पैसा फिर्ता लिने उद्देश्यले केटाको मोबाइल नम्बर समेत लिएर खोजतलास गरिरहेका बताउँछन् ।
Facebook Love
Rautahat