भदाै - ७ । लोपोन्मुख अवस्थामा पुगेको सांस्कतिक एवम् ऐतिहासिक जात्रा र पर्व जोगाउन थिमिका युवा पुस्ता सक्रिय भएका छन् । विभिन्न पर्वमा थिमिमा मनाइने कैयौँ जात्रा र परम्परा लोप भइसकेका छन् भने केही लोप हुने अवस्थामा छन् ।
लोपोन्मुख अवस्थामा पुगिसकेका सांस्कृतिक परम्परालाई जोगाउन थिमिका युवा सक्रिय भएका हुन् ।
यसवर्ष नगदेशका युवाले सात वर्षअघिदेखि बन्द भइआएको महाकाली नाचलाई फेरि जीवन्त तुल्याएका छन् ।
अर्थाभावका कारण २०६६ सालमा बन्द भएको धार्मिक महत्वको यो नाचलाई यहाँका स्थानीयवासीले जीवन्त राख्नुपर्ने महसुस गरेर यसवर्ष आठ वर्षका बालकदेखि ३५ वर्षसम्मका युवालाई नयाँ देवगणका रुपमा तान्त्रिक विधिअनुसार प्रशिक्षण दिएर नगदेश सांस्कृतिक पुचःको अगुवाइमा नाचलाई निरन्तरता दिने प्रयास गरिएको पुचःका सचिव विनोद कोजुले बताए ।
नेपाल सम्वत् ७८६ मा भक्तपुरका राजा राय मल्लले नवदुर्गा नाच, नीलबाराही नाच र महाकाली नाचको प्रचलन चलाएको महाकाली नाचका गुरु मध्यपुर थिमि–५, त्वागाः निवासी ८१ वर्षीय भक्तबहादुर घजु बताउँछन् ।
महाकाली नाचमा महाकाली एक, महालक्ष्मी एक, कौमारी एक, सिंह एक, बेताः चार, भूत भैरव दुई, कवाँ 'कङ्काल' दुई, ख्याक दुई, माकः ९बाँदर० दुई, मयूर एक, महिषासुर दैत्य एक गरी १८ देवगण रहने गर्दछन् । यो नाचलाई कोष नै बनाएर जीवन्तता दिने योजनामा नगदेशका युवा रहेका छन् ।
यता, मध्यपुरथिमिमा लाय्कूबाट निकालिने भैरव नाच ४५ वर्षसम्म बन्द भए पनि यहाँका युवाले गत वर्षदेखि फेरि सञ्चालनमा ल्याएका छन् । मल्लकाल भन्दा अघिदेखि सञ्चालन भएर रोकिएको यो नाच यहाँका युवाले तीन वर्षको अनुसन्धानपछि गत वर्षदेखि सञ्चालनमा ल्याएको नाच सिकाउने गुरु अर्जुन श्रेष्ठले जानकारी दिए ।
गाईजात्राको भोलिपल्टको राति थिमिको लाय्कू दरबारबाट सुरु भएर चार रातसम्म निरन्तर मध्यपुरथिमिको विभिन्न टोलमा प्रदर्शन गरिएको यो नाच आज बिहान ७ बजेदेखि सम्पन्न भएको नाचका सहयोगी हरिसुन्दर श्रेष्ठले बताए ।
परापूर्वकालमा नीलबाराही देवीले एकदिन मानिसका रूपमा बोडे सहर आएर स्थानीय धोँ जातका एक मानिसलाई नीलबाराही जङ्गलमा लगेर चार दिनसम्म कसैले नदेख्ने गरी नाचको सम्पूर्ण विधिविधान सिकाएर पठाएपछि यो नाच सुरु भएको किंवदन्ति रहिआएको नाचका गुरु कान्छा बालाले जानकारी दिए ।
थिमिका तीनवटै नाच प्रदर्शन गर्दा यी क्षेत्रमा भूत, प्रेत, पिशाचले दुःख नदिने, अनिकाल, रोगको महामारी नहुने, भूकम्पले क्षति नगर्ने जनविश्वास रहेको छ ।
के घाम के झरी, के दिन के रात यतिखेर पुस्तौंदेखि चल्दै आएको धार्मिक विश्वाससहितको देवीदेवता नाच्ने नाचले थिमि यत्तिखेर चौबीसै सैघन्टा जागिरहेको छ । देवताका मुकुन्डो लगाएका देवगण नाचिरहँदा थिमिका घर घर र चोक चोकबाट पूजा गर्नेको भीड पनि उत्तिकै लाग्ने गरेको छ ।