सरकार बनाउन भारतभन्दा नेपाल तेब्बर सिपालु (सूचीसहित)
नारायण पौडेल
नेपाल र भारतको राजनीतिक इतिहास तुलना गर्न मिल्दैन । नेपालको इतिहास भारतको भन्दा धेरै पूरानो र स्वाधीन छ । तर, पछिल्लो ६६ बर्ष तुलनायोग्य छन् । भारत बेलायती उपनिवेशबाट मुक्त भएको तथा नेपाल राणा शासनबाट मुक्त भएको लगभग उही समयमा हो ।
भारत बेलायती उपनीवेशबाट मुक्त भएपछि जवाहरलाल नेहरु प्रधानमन्त्री नियुक्त भएका थिए । भारतमा आम निर्वाचन भइसकेको थिएन । भारतकै प्रत्यक्ष सहभागीतामा नेपालमा राणातन्त्र हट्यो । र, राणा प्रधानमन्त्री मोहन शमशेरकै प्रधानमन्त्रीत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन गरियो । यसरी विक्रम सम्बत २००७ साल यताको ६६ बर्षको लेखाजोखा गर्दा नेपालमा ५१ पटक सरकार हेरफेर भएको देखिन्छ ।
यही समयमा भारतमा जम्मा १६ पटक सरकार गठन भएको देखिन्छ । प्रधानमन्त्री नेहरुको निधनपछि गुल्जारीलाल नन्दले १३ दिनसम्म कार्यवहाक प्रधानमन्त्रीको भुमिका निर्वाह गरेका थिए । त्यसपछि लालबहादुर शास्त्री प्रधानमन्त्री भए । प्रधानमन्त्री भएको एक बर्ष नपुग्दै शास्त्रीको निधन भएपछि गुल्जारीलाल नन्दले नै फेरिपनि १३ दिनसम्म कार्यबहाक प्रधानमन्त्रीको भुमिका निर्वाह गरेका थिए । सोकको बेलाको अन्तरिम कार्यकाललाई पनि गणना गर्ने हो भारतमा १८ पटक मन्त्रिपरिषद् गठन भएको देखिन्छ ।
भारतमा सबैभन्दा बढी समय शासन नेहरुले गरेको देखिन्छ । उनले अन्तरिम कार्यकालसहित ४ कार्यकाल अर्थात निधन नभएसम्म झण्डै १७ बर्ष देशको कमाण्ड सम्हालेका थिए । नेहरुपछि एक बर्ष लालबहादुर शास्त्री प्रधानमन्त्री भए । प्रधानमन्त्री भएकै बखत उनको निधन भएको थियो । नेहरुपछि सबैभन्दा धेरै शासन गर्ने प्रधानमन्त्री हुन् उनकै छोरी इन्दिरा गान्धी । उनले झण्डै १६ बर्ष शासन गरेकी थिइन् । उनले पहिला लगातार ११ बर्ष राज गरिन् । त्यसपछिका ३ बर्ष उनी प्रधानमन्त्री रहिनन् । निर्वाचनबाट शक्ति हत्याउंदै उनी फेरि प्रधानमन्त्री भइन् । लगातार ५ बर्षसम्म प्रधानमन्त्री रहेकी उनको प्रधानमन्त्री रहेकै बखत हत्या भयो ।
त्यसपछि इन्दिराका छोरा राजीब प्रधानमन्त्री भए । आम निर्वाचनमा राजीब बहुमतसहितको प्रधानमन्त्री भए । लगातार उनी पाँच बर्ष प्रधानमन्त्री भए । उनीपनि मारिए ।
भारतमा भएको नवौं आम निर्वाचनले कसैको पक्षमा बहुमत दिएन । भारत अस्थिरतामा फस्यो । साना दलका नेताहरु प्रधानमन्त्री बन्न पाए । चन्द्रशेखर र भिपी सिंह यही बीचमा प्रधानमन्त्री भए । त्यसपछि भएको १० औं निर्वाचनमा काँग्रेस गठबन्धन बलियो भएर आयो । पिवी नरसिंह रावले झण्डै ५ बर्ष शासन गरे ।
लोकसभाको ११ औं निर्वाचन भारतका लागि सुखद रहेन । बिजेपी गठबन्धन ठूलो भएपनि गठबन्धन सस्कृतिमा भारत अभ्यस्त भइसकेको थिएन । अटलबिहारी बाजपेयी प्रधानमन्त्री भएको १६ दिनमै पद त्याग्न बाध्य भए । एचडी देवेगौडा र इन्दरकुमार गुजरालले साना दलबाटै प्रधानमन्त्री पड्काउने अवसर पाए ।
भारतको १२ औं र १३ औं निर्वाचनमा बिजेपी गठबन्धन शक्तिशाली दरियो । लगातार ६ बर्ष बाजपेयी प्रधानमन्त्री बने । संयुक्त सरकारको सस्कृति यहीबेला भारतमा संस्थागत भयो । त्यसपछि १४ औं र १५ औं निर्वाचन भयो । दुबैमा काँग्रेस गठबन्धन बलियो भएर उदायो । मनमोहन सिंहले १० बर्षसम्म संयुक्त गठबन्धनको प्रधानमन्त्री भएर दुनियाँलाई चकित पारे ।
सन् २०१४ मा भारतमा लोकसभाको १६ औं निर्वाचन भयो । झण्डै २३ बर्षपछि भारतमा कुनै दलले एकल बहुमत पु¥यायो । भारत संयुक्त गठबन्धनमा अभ्यस्त भइसकेको थियो, बिजेपीले अभूतपूर्व जित हाशिल ग¥यो । अहिले नरेन्द्र भाइ मोदी एकल बहुमतसहितको गठबन्धन सरकार चलाइरहेका छन् ।
भारतका प्रधानमन्त्रीहरु
नेपालमा सरकार
भारतमा १६ पटक सरकार बन्दा नेपालमा ५० पटक सरकार गठन भएको देखिन्छ । राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाउँदाको बीचको सात दिनलाईपनि गणना गर्दा ५१ पटक सरकार गठन भएको देखिन्छ ।
यो ६६ बर्षमा कुनैपनि सरकारले कार्यकाल पूरा गर्न पाएनन् । सबैभन्दा लामो कार्यकाल सूर्यबहादुर थापाको रहेको देखिन्छ । पाँच पटक प्रधानमन्त्री भएका उनले दुई पटकसम्म चार चार बर्ष शासन गरेका थिए पंचायतकालमा । त्यसपछि सबैभन्दा लामो शासन गर्ने प्रधानमन्त्री हुन्ः गिरिजाप्रसाद कोइराला । उनले २०४८ सालको आम निर्वाचनपछि लगातार ३ बर्ष शासन गरेका थिए । पंचायतकालमै तीन बर्ष लगातार शासन गरेका थिए तुल्सी गिरीले ।
भारतमा गठबन्धन सरकार १० बर्ष टिकेको इतिहास छ । नेपालमा एउटै दलको बहुमत हुँदापनि पूरा कार्यकाल टिक्न सकेन । काँग्रेसले २०४८ र २०५६ को आम निर्वाचनमा बहुमत ल्याएरपनि सरकार टिकाउन सकेन । दुबै पटक उसको आन्तरिक कलहले भुमिका निर्वाह ग¥यो । २०१५ सालमा विपी कोइरालाको नेतृत्वमा दुई तिहाइ बहुमत प्राप्त काँग्रेसको सरकार गठन भएपनि राजा महेन्द्रको कोपभाजनमा सरकार प¥यो ।
पंचायतकालमा राजाको निगामा सरकार गठन र विगठन हुन्थे । तरपनि, ४ बर्षभन्दा कुनै सरकार टिकेन ।
६६ बर्षमा गठन भएका सरकारका प्रमुखहरु
राजा महेन्द्रले २०१७ सालमा पंचायत शुरु गरेपछि ३० बर्ष सम्म पंचायत रह्यो । ३० बर्षमा १५ पटक सरकार हेरफेर भए । यो बीचमा सूर्यबहादुर थापा र तुल्सी गिरी तेहेराएर प्रधानमन्त्री भए । यि दुई कै कार्यकाल पंचायतमा अलि बढी टिकेको देखिन्छ । किर्तिनिधि विष्टपनि तेहेराएर प्रधानमन्त्री भए तर टिकेको देखिदैन । २०४६ सालमा जनआन्दोलन भइ पंचायत व्यवश्थाको अन्त्य भयो । त्यसपछि स्थिरता आउंला भनेको के आउंथ्यो । सरकार फेरबदल भइनै रह्यो ।
दोस्रो जनआन्दोलनले राजतन्त्र नै समाप्त गर्यो । विगतमा दरबारले चलखेल गरेर सरकार गिराउने गरेको आरोप लगाइन्थ्यो । अब दरबार छैन । तरपनि सरकार गठन विगठनको पट्यार लाग्दो खेल सकिएको छैन । अहिले दोष दिल्लीतर्फ सोझाइएको छ । गणतन्त्र स्थापनापछिका सरकार त झनैं अस्थिर देखिएका छन् । गणतन्त्र स्थापनापछि सबैभन्दा लामो कार्यकाल सिंहदरबारमा रहेका प्रधानमन्त्री हुन् माधबकुमार नेपाल । उनी २२ महिना जति अर्था ६२२ दिन सिंहदरबारमा रहे । राजिनामा दिइसकेरपनि ७ महिना उनी नयाँ सरकार गठन भएकाले सिंहदरबारमा बस्न बाध्य भए । त्यहीं भएरमात्र उनको कार्यकाल लम्बिएको हो । अन्यथा सुशील कोइरालाकै कार्यकाल लामो देखिन्छ । १८ महिना उनले साशन गरेका थिए । गणतन्त्र स्थापना भएपछि केही समय गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहे । व्यवश्था परिवर्तन पछिको कार्यकाललाई नयाँ मान्ने कि नमान्ने भन्ने बहश हुन सक्छ । यहाँ उनको कार्यकाललाई एउटै गणना गरिएको छ ।
गणतन्त्र स्थापना हुनुभन्दा पहिले बहुदलीय व्यवश्था र पंचायतमा केही बर्षको अन्तरालमा एउटै व्यक्ति दोहोरिन्थे । गणतन्त्र स्थापनाको आठ वर्षमा पहिलो पटक प्रचण्ड दोहोरिएका छन् । दोहोराएर प्रधानमन्त्री हुंने उनी एकमात्र कम्युनिष्ट पात्र हुन् । सबैभन्दा धेरै पटक प्रधानमन्त्री हुंने व्यक्ति हुन् गिरिजाप्रसाद कोइराला । उनी सात पटक प्रधानमन्त्री भएका थिए । लगातार प्रधानमन्त्री भएको समयलाई पटक गन्नेकी नगन्ने भन्ने बहशपनि छ । त्यसपछि सबैभन्दा धेरै पटक प्रधानमन्त्री हुने व्यक्ति सूर्यबहादुर थापा हुन् जो पाँच पटक प्रधानमन्त्री भए । सबैभन्दा धेरै पटक प्रधानमन्त्री भएका जिवित व्यक्ति हुन् लोकेन्द्रबहादुर चन्द उनी चार पटक प्रधानमन्त्री भए । त्यसपछि कीर्तिनिधि विष्ट र शेरबहादुर देउवा तीन तीन पटक प्रधानमन्त्री भए । राजा ज्ञानेन्द्रले सक्रिय शासन हातमा लिएपछि विष्ट मन्त्रिपरिषद्को उपाध्यक्षका रुपमा प्रधानमन्त्री सरहकै स्थानमा थिए । आफु अध्यक्ष रहेको मन्त्रिपरिषद्मा राजा ज्ञानेन्द्रले विष्ट र तुल्सी गिरी उपाध्यक्ष नियुक्त गरिएका थिए ।