सुस्ताका १९ जनाविरुद्ध भारतीय अदालतमा मुद्दा
भदौ - ८ । विहार प्रहरीका लागि सुराकीको काम गर्दै आएका भनिएका सुस्ताका एक व्यक्तिको हत्या आरोपमा १९ जना नेपालीविरुद्ध भारतमा मुद्दा चलाइएको छ ।
मुद्दा चलाइएको थाहा पाएपछि सुस्तावासी त्रसित भएका छन् । नेपालीहरूलाई डर त्रास देखाइराख्न उनीहरूले मुद्दा चलाएको आरोप सुस्तावासीको छ ।
सुस्ताको जनता दलित प्रावि पछाडि घर भएका २७ वर्षीय प्रभु लोनियाको एक महिनाअघि बगाहाको नौरगिया कटाहाको खेतामा शव फेला परेको थियो । सीमापारि भएको घटनामा सीमावारिका मानिसमाथि मुद्दा चलाइएको छ । विहारको बगाहा अदालतमा मुद्दा चलाइएको हो ।
मृतक लोनिया ससुरालीमा बसेर विहार पुलिसका लागि सुराकीको काम गर्दै आएको स्थानीयवासीले बताएका छन् । सुस्तामा रहेका नेपालीका गतिविधि र दिनचर्याका बारेमा उनले विहार प्रहरीलाई जानकारी दिने र नेपालीलाई भुठा आरोप लगाएर सताउने काम गर्दै आएको स्थानीय जनताको आरोप छ ।
गाउँका अगुवाभन्दा दोस्रो स्तरका मान्छेहरूविरुद्ध मुद्दा चलाइएको सुस्तेलीले बताएका छन् । उन्नाइस जनामध्ये समाजमा अगुवा देखिने युवा नै बढी रहेका छन् । क–कसलाई मुद्दा लगाइएको हो, त्योबारे भने स्थानीयवासीले बताउन चाहेनन् । रासस
Bihar Police
India-Nepal
Nepali Arrested