समाज

ढिकी - जाँतो संरक्षणमा जुटे आमाहरु

ढिकी - जाँतो संरक्षणमा जुटे आमाहरु
diki भदाै - ९ । आधुनिकतासँगै लोप हुन लागेको प्राचीन कुटानी तथा पिसानीको महत्वपूर्ण साधनका रुपमा परिचित ढिकी र जाँतो संरक्षणमा आमाहरु जुटेका छन् । पोखरा उपमहानगरपालिका वडा नंं १७ स्थित शुभकामना आमा समूहले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको प्रमुख प्रवेशद्वार रातोपैह्रास्थित सार्वजनिक जग्गामा ट्रष्ट भवन निर्माण गरेर लोपोन्मुख ढिकी र जाँतो स्थापना गरेको हो । ढिकीमा रातभरि धान कुट्ने र जाँतोमा मकै, कोदो पिस्ने गरे पनि पछिल्लो समय आधुनिक मेसिनका कारण लोप हुन लागेको ढिकी र जाँतोको बारेमा भावि पुस्तालाई जानकारी गराउने उद्देश्यका साथ ढिकी जाँतो स्थापना गरिएको आमा समूुहकी अध्यक्ष माया गुरुङले बताइन । उनका अनुसार सार्वजनिक जग्गामा निर्माण गरिएको ट्रष्ट घरभित्र काठको मुढो, ओखल, दुईवटा खम्बा, औलो, दाँते मुसल, लुडी भएको ढिकी एवम् ढुङ्गाको दुईवटा पलेटा, काठको मानी, फलामको मानी, हातोसहितको जाँतो निर्माण गरिएको छ । समूहद्वारा यसअघि पार्क एवम् डिलबार निर्माण समितिद्वारा गाडिएका फलामका पोलमा रेलिङबार निर्माण गरी सेतीनदीको भिरमा सुरक्षित बारको समेत व्यवस्था गरिएको छ । आधुनिक मेसिनको तुलनामा ढिकीमा कुटेको चामल र जाँतोमा पिसेको पिठो स्वादिलो र पोसिलो हुने आमा समूहका सल्लाहकार ८२ वर्षीय लीलावती बास्तोला बताउँछिन् । “ढिकी र जाँतो स्थापनासँगै चाडपर्व र विवाहका अवसरमा सेलरोटी पकाउन र कसार बटार्नका लागि चालमको पिठो कुट्नका यस क्षेत्रका बासिन्दालाई निकै सुविधा पुग्नेछ” – उनले भनिन । नवनिर्मित ढिकी जाँतोको बुधबार एक समारोहका बीच आमा समूहका पूर्व अध्यक्ष मञ्जु खड्काले शुभारम्भ गरेकी हुन्  । नेपाली महिलाको महान् पर्व हरितालिका तिजको अवसरमा सामूहिक दरखाने र २०७२ सालको एसएलसी परीक्षामा उत्तीर्ण आमा समूहमा आबद्ध २२ जना छोराछोरीलाई सम्मान गरिएको थियो । विसं २०५३ मा स्थापित सो समूहद्वारा यसअघि आफ्नै निजी खर्चमा समाजमा आवश्यक विभिन्न विकास निर्माणका कार्य सम्पन्न गरिसकेको छ । छिमेकको कुनै पनि घरमा शुभकार्य होस् वा लाहुरे आउनेबित्तिकै आमाहरु मादल, मुजुरा, खैजडीलगायतका विभिन्न वाद्यवादनका सामग्री बोकेर निस्कने गरेको समूहकी सचिव मीना पौडेल बताउँछिन् । समूहले उपल्लो रोतोपैह्रामा रु दुई लाखको लागतमा शक्तिदेवी मन्दिर र सोही स्थानदेखि देवीघाटसम्मको बाटोमा पक्की सिढी एवम् एकतर्फी रेलिङबारसमेत निर्माण गरेको छ । सिढी एवम् रेलिङबारसँगै ओमकारेश्वर महादेव मन्दिरमा दर्शन तथा सेतीनदीमा स्नान गर्ने भक्तजन एवम् दाहसंस्कारका लागि जाने शवयात्रीलाई प्रत्यक्ष सुविधा पुगेको छ ।

dhiki jato Pokhara sanrakshan

विशेष