समाज

सम्पत्ति नपाएकाे निँहुमा अामालाई खाल्डाेमा गाडेपछि

सम्पत्ति नपाएकाे निँहुमा अामालाई खाल्डाेमा गाडेपछि
hatya भदौ ९ । जग्गा नामसारी गर्न नमानेको भन्दै सक्ला १, लैखमका बुद्धिबहादुर खत्रीले बञ्चरोले हानेर आमाको हत्या गरेका छन् । हत्याको अघिल्लो दिन घर नजिकैको बारीमा खाल्डो खनेर भोलिपल्ट हत्या गरी लास गाडेको प्रहरीले जनाएको छ । सम्पत्तिको लोभमा बुद्धिबहादुरले ६५ वर्षकी आमा देउमतीको हत्या गरेको प्रहरीले जनाएको छ । आमाको नाममा रहेको जग्गा आफ्नो नाममा गर्न नमानेको भन्दै छोराले निर्ममतापूर्वक हत्या गरेको प्रहरीले दावी गरेको छ । गएको साउन २१ गते राति सुतिरहेको अवस्थामा बञ्चरोले प्रहार गरि देउमतीको हत्या गरेको बुद्धिले प्रहरी समक्ष बयान दिएका छन् । हत्या गर्नुको अघिल्लो दिनै बुद्धिले खाडल खनि तयार पारेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘हत्या गर्नुको अघिल्लो दिनै खाडल खनेर तयार बनाएको रहेछ’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हिक्मत बोहोराले भने, ‘सुतेको बेला बञ्चरो प्रहार गरि हत्या गरेर त्यही खाडलमा लिएर लास गाडिएछ । घटना योजनाबद्ध तरिकाले भएको देखिन्छ ।’ बुद्धिले साउन २२ गते बिहानैदेखि आमा हराएको भन्दै प्रहरी चौकी सेपुखोलामा गएको भदौ २ गते निवेदन दिएका थिए । तर बुद्धिको व्यवहार अस्वभाविक र शंकास्पद देखिएपछि प्रहरीले निगरानीमा राखेको थियो । घटनास्थल लैखम विद्युत आयोजनाको बाँध निर्माण स्थलसँगै जोडिएको गाउँ हो । आयोजनाले यसअघि विद्युतगृह निर्माणस्थल खगेनकोट–१, दल्लीमा एक सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकेको छ । पछिल्लो समय आयोजनाले सक्ला–१ लैखम, सक्ला–२ सेपुखोला, सक्ला–९ काप्तीका प्रभावित नागरिकलाई मुआब्जा दिने निर्णय गरेको छ । केही समयमै निवेदन संकलन गरि मुआब्जा दिइने आयोजना विकास समितिले जनाएको छ । आयोजनाले प्रतिरोपनी ४ लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा दिने गरेको छ । बुद्धिकी आमा देउमतीको नाममा लैखममा एक रोपनी पाँच धुर जग्गा रहेको प्रहरीको भनाई छ । जेठाजुको छोरालाई समेत अंश लाग्ने सासुको नाममा रहेको जग्गा आफ्नो नाममा गराउन बुद्धिकी पत्नी शर्मिलाले पटक पटक दवाव दिने गरेकी थिइन् । देउमतीका श्रीमानको केही वर्षअघि मृत्यु भएपछि जग्गा देउमतीको नाममा नामसारी गरिएको थियो । जग्गा शर्मिलाका नाममा गर्न देउमती राजी नभएपछि हत्या योजना बुनिएको खुलेको छ । देउमतीका जेठा छोरा र बुहारीको समेत मृत्यु भइसकेको छ । जेठा छोरातर्फका नाती कामका लागि भारतमा रहेको र नातिनी कोहलपुरमा बसेर पढिरहेकी छिन् । देउमतीका नाममा रहेको जग्गा शर्मिलाका नाममा गराउन यसअघि कोशिस गरिएको थियो । तर मालपोत कार्यालयले अंशियार अरु पनि भएको अवस्थामा उनीहरुको सहमतीबिना नामसारी गर्न नमिल्ने बताएपछि बुद्धिका दम्पती रित्तै फर्किएका थिए । घरमा गइसकेपछि पनि शर्मिलाले जग्गा जसरी पनि आफ्नो नाममा गराउन दवाव दिइरहेको प्रहरीले बताएको छ । ‘पटक पटक कि जग्गा आफ्नो नाममा गर्न कि त आमालाई नै मार्न दवाव दिएको देखिएको छ’ घटनास्थल पुगेर फर्किएका प्रहरी निरीक्षक सुवास भट्टले भने, ‘नत्र छोडेर जाने धम्कीसहित बुद्धिलाई मानसिक रुपमा टर्चर दिने गरेको देखिन्छ । अन्त्यमा श्रीमान् श्रीमतीकै योजनामा हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’ हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले बुद्धिबहादुर र शर्मिलालाई पक्राउ गरेको छ । जिल्ला अदालत जाजरकोटले अनुसन्धानका लागी ५ दिन थुनामा राख्न आदेश दिएको छ । हत्यामा संलग्न दुवै लोग्ने स्वास्नीलाई आजीवन कारावासको सजाय माग गदै जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेको निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक बोहराले बताएका छन् । अबको १५ दिनभित्र अनुसन्धानको सबै प्रक्रिया सकिने उनको भनाई छ । लोग्ने स्वास्नी नै हत्या अभियोगमा पक्राउ परेपछि उनीहरुका छोराछोरीको विचल्ली भएको छ । डेढ वर्षको छोरा शर्मिलाको साथमै छ भने ९ र ४ वर्षकी दुई छोरी र ७ वर्षका छोराको घरमा हेरिदिने कोही नहुँदा बिचल्ली भएको हो ।

hatya

विशेष