प्रधानमन्त्रीसँगको भेटमा पनि डा. केसीले भने, ‘माग पूरा गर्ने भए गर्नुस नत्र फेरि अनशन बस्छु’
भदौ १० । प्रा.डा. गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै माग पूरा नगरे फेरि अनशनमा बस्ने चेतावनी दिएका छन् । शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार मै पुगेर केसीले प्रधानमन्त्रीलाई यस्तो चेतावनी दिएका हुन् । प्रधानमन्त्री प्रचण्डसँगको भेटका क्रममा केसीले आफ्नो माग निजी नभएर सबै नेपालीको स्वास्थ्यसँग जोडिएको बताएका थिए ।
जवाफमा प्रधानमन्त्रीले केसीको मागको सम्बन्धमा आफू सकारात्मक रहेको जनाएका थिए । उनले माग पूरा गर्न प्रयास गर्ने जानकारी दिए । प्रधानमन्त्रीसँगको भेटपछि नेपालआजसँग कुरा गर्दै डा. केसीले भने, ‘उहाँले कोसिस गर्छु त भन्नु भएको छ । प्रधानमन्त्री नहुँदा उहाँले मेरो अनुसनमा ऐक्यबद्धता जनाउनु भएको थियो । अब हेरौ प्रधानमन्त्री भएपछि के गर्नुहुन्छ ? ’ फेरि अनशनको प्रशंगमा केसीले भने, ‘अनशन त सधै भनिआएकै विषय हो । प्रधानमन्त्रीलाई पनि सुनाइदिएँ ।’