पाठेघरको क्यान्सर रोक्न नयाँ खोप
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि चितवनमा नयां ‘एचपिभी खोप’ कार्यक्रम सञ्चालन गरिएको छ । गतवर्षबाट नेपालमा नमुना कार्यक्रमको रुपमा आएको यो खोपले पाठेघरमा हुने क्यान्सर रोक्न सहयोग पुग्ने स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य महाशाखाका खोप अधिकृत भरत भण्डारीले जानकारी दिए ।
एचपिभी खोपको प्रभावकारिता ९० प्रतिशत रहेको जानकारी गराए। बिशेषगरी रोग लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिने उपाएका रुपमा यो खोप नेपालमा ल्याइएको हो, यो कार्यक्रम नमुनाका रुपमा चितवन र कास्की जिल्लामा सञ्चालन गरिएको छ । दुई जिल्लामा सफल भए मुलुकभरी नै निःशुल्क खोप कार्यक्रम सञ्चालन गरिने समेत बताए ।
नेपालमा अहिले निःशुल्क भएपनि बाहिर यसको खरिद मूल्य करिब रु १० हजार रहेको छ । विश्वका ६४ देशमा यो खोप सुरु गरिएको बताइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा भएको खोप कार्यक्रम अन्तर्गत कक्षा ६ का बालिकालाई खोप दिने गरिएको भण्डारीले बताए । त्यस्तै १० वर्ष उमेर पुगेका तर विद्यालय नगएका बालिकालाई समेत खोप दिइने छ । नौ वर्ष उमेर मुनिकालाई दिन नमिल्ने भएकाले ६ कक्षाका बालिका छनोट गरिएको हो ।
कार्यक्रम अन्तर्गत चितवनमा सात हजार भन्दा बढी बालिकालाई खोप लगाइएको र यो पटक छुटेकालाई र गएको वर्ष एक मात्रा लगाएका र कक्षा ६ मा पढ्ने नयां बालिकालाई खोप दिइने महाशाखाका अर्का खोप कार्यक्रम अधिकृत वसन्तकुमार श्रेष्ठले जानकारी दिए । पाठेघरको मुखको क्यान्सर एक किसिमको एचपिभी भन्ने भाइरसबाट सर्छ । यौन सम्पर्कका बेला यो रोग सर्ने भएकाले यौन सम्पर्क हुनुअघि नै खोप लगाए रोकथाम हुने भएकाले ६ कक्षाका बालिकालाई खोप दिने कार्यक्रम आएको हो ।
एक तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट दुई लाख ७० हजारको मृत्यु हुने गरेको छ । त्यसमध्ये ८५ प्रतिशत विकासोन्मुख देशका हुने गरेका छन् । विश्वमा फोक्सोको क्यान्सर सबैभन्दा बढी हो भने त्यसपछि पाठेघरको मुखको क्यान्सर हो । नेपालमा वर्षको १० हजार महिला यो रोगबाट पीडित हुने गरेको तथ्याङ्क छ ।
HPv Vactction in nepal