Technology

सरगरमाथा बेस क्याम्पमा चौबिसै घण्टा इन्टरनेट सेवा

सरगरमाथा बेस क्याम्पमा चौबिसै घण्टा इन्टरनेट सेवा
wifi in mount_everestभदौ – १० । प्रविधिको युगमा हरेक उमेरका मानिस सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोगमा अभ्यस्त हुन थालेका छन् । तस्बिर लिएर वा सेल्फी खिचेर इन्टरनेटमा उपलोड पनि धेरैले गर्छन् । नयाँ गन्तव्यमा पुगेको, कुनै घटनाको वा कुनै रमाइलो ठाउँमा बितेको समय पछिसम्म ताजा राख्न साथै आफ्ना टाढाका साथीसँग नजिकै रहन अनि कुरा गर्न पनि इन्टरनेटको प्रयोग गरिन्छ । यति मात्र नभई इन्टरनेट मार्फत आफूले जान्न र हेर्न चाहेको हरेक कुरा समेत भेटाउन सकिन्छ । पर्यटकीय तथा प्रविधि पहुँचको दृष्टिकोणले हेर्दा अझै पनि कतिपय त्यस्ता ठाउँ पनि छन् जहाँबाट हामीले थुप्रै गतिविधि सामाजिक सञ्जाल वा इन्टरनेटमा चाहेर पनि अपलोड गर्न सक्दैनौँ । पर्यटक तथा त्यस ठाउँका वासिन्दाका लागि यो भन्दा नरमाइलो अरु के होला र ? संसारको उत्कृष्ट पर्यटकीय गन्तव्य सोलुखुम्बुमा पनि केही वर्षअघि यस्तै समस्या थियो । त्यहाँबाट कुनै गतिविधिको अपडेट हाल्न पनि सम्भव थिएन । तर अहिले यो समस्या को समाधान भएको छ । हिमाली क्षेत्रमा ‘एभरेस्ट लिंक’ इन्टरनेट कम्पनीले आफ्नो कार्यक्षेत्र सोलुखुम्बु मात्र बनाएर ल्याएको यो इन्टरनेट सुविधा प्रयोगकर्ताले चौबीसै घण्टा प्रयोग गर्न सक्छ । यो प्रविधिको वायरलेस प्रयोगबाट सेवा प्रारम्भ गरेको हो । एउटा डाँडादेखि अर्को डाँडासम्म ‘प्वाइन्ट टु प्वाइन्ट’ टावर विस्तार गरेपछि अहिले सर्वोच्च सगरमाथाको आधारशिविरसम्म इन्टरनेट चलाउन सकिन्छ । सगरमाथा अञ्चलमै पर्ने लहानदेखि विस्तार गरिएको एभरेस्ट लिंकको लहान, हलेसी र स्याङबोचेमा ठूल्ठूला तीनवटा रिपिटर टावर छन् । यस सेवाको लागि एभरेस्ट लिंकले इन्टरनेट प्रयोगकर्तालाई रिचार्ज कार्ड बिक्री गर्छ । प्रायः १५ घण्टाभित्र प्रयोग गरिसक्नुपर्ने कार्ड १ सय एमबी क्षमतादेखि १ गिगाबाइटसम्मको खरिद गर्न सकिन्छ । १ सय एमबीका लागि नेपालीले २ सय ५० र विदेशीले ३ सय ५० रुपैयाँ तिर्नुपर्छ । पर्यटकलाई लक्षित गरेर विस्तार गरिएको इन्टरनेट सेवाका लागि हालसम्म २ करोड भन्दा बढी लगानी भैसकेको छ । एभरेस्ट लिंकले लुक्लादेखि माथि नाम्चे, स्याङबोचे, त्याङबोचे, पाङबोचे, खुम्जुङ, दिङबोजे, गोक्यो तथा सगरमाथा आधारशिविरसम्म सेवा विस्तार गरिसकेको छ । यसलाई अस्थायी टावर राखेर आरोहण मौसमको बेला सगरमाथाको चौथो क्याम्प सम्म विस्तार गर्न सकिने कम्पनीले जनाएको छ । यसलाई हालका लागि सोलुखुम्बु जिल्लाभरि विस्तार गर्ने लक्ष्य बनाइएको छ ।

Internet service in Nepal Mount Everest

विशेष