Technology

विमानमा हुँदा मोबाइल किन एयरप्लेन मोड प्रयोग गर्ने

विमानमा हुँदा मोबाइल किन एयरप्लेन मोड प्रयोग गर्ने

हामीले आफ्नो मोबाइलमा एयरप्लेन मोड देख्छौँ तर यसको काम हामीलाई खासै भएको हुन्न । तर विमानमा हुँदा भने यसको काम महत्वपूर्ण हुन्छ । विमानमा यात्रा गर्दा मोबाइलको सिग्नल अफ गर्नु पर्छ र मानिसलाई त्यस्तो समयमा मोबाइलको मज्जा लिन सकुुन् भनेर एयरप्लेन मोड राखिएको हुन्छ । अधिकांशले विमानमा हुँदा मोबाइल अफ गरेन भने विमान दुर्घटना हुन्छ भन्ने सोच्छन् हुन त यो सत्य होइन, तर वास्तविक कारण यो भन्दा महत्वपूर्ण छ । विमान यात्रा गर्दा त्यहाँका परिचारिकाहरूले हामी सबैको फोन एयरप्लेन मोडमा राख्न अथवा स्वीच अफ गर्न सुझाव दिन्छन् तर कसैलाई थाहा छ, किन ? कतै सुन्नुभएको होला कि मोबाइलको सिग्नलले विमानका विद्युतीय सामानहरूलाई बाधा पुर्याउँछ र विमान दुर्घटना हुन्छ, त्यसैले विमानमा हुँदा मोबाइल स्वीच अफ गर्नुपर्छ । पाइलटहरूको ब्लग ‘एयरलाइन्सअपडेट.कम’का अनुसार, मोबाइलले विमानका विद्युतीय सामानलाई बाधा पुर्याउँछ– तर हामीले सोँचेको जसरी भने होइन ! त्यसले वास्तवमा फोनले विमानको रेडियो सिग्नललाई हस्तक्षेप गर्दछ, जुन पाइलटहरूले हेडफोनमा सुनिरहेका हुन्छन् । जब मोबाइललाई कुनै स्पीकर अथवा रेडियोको छेउमा लैजाँदा जुन आवाज आउँछ, त्यस्तै आवाज (हल्ला) मोबाइलको सिग्नलको कारण पाइलटको हेडफोनमा बज्दछ । मोबाइलले निरन्तर टावरको खोजी गरिरहने कारणले पाइलटको रेडियो सिग्नलमा प्रदुषण हुन्छ । एक पाइलटले ब्लगमा लेखेका छन् “हुन त यो असुरक्षित हुँदैन, तर झिझारलाग्दो भने पक्कै हुन्छ ।” हरेकको स्मार्टफोनमा हुने एयरप्लेन मोडको सुविधाले मोबाइललाई खुल्लै राख्छ तर त्यसबाट बाहिर निस्कने सबैसिग्नललाई बन्द गरिदिन्छ र विमानको रेडियो सिग्नल सिस्टमलाई कुनै बाधा पुर्याउँदैन । त्यसैले विमानमा चढ्दा मोबाइल अफ गरेन भने वा एयरप्लेन मोडमा राखिएन भने तपाईँ चढेको विमानको पाइलटलाई डिस्टर्ब भैरहेको छ । अनि यदि पाइलटलाई नै डिस्टर्ब हुन्छ भने उसले ध्यानपूर्वक विमान उडाउन सक्दैन तसर्थ, आफ्नो सुरक्षाको लागि मात्रै होइन, विमानमा सवार सबै यात्रुहरूको सुरक्षालाई ध्यानमा राखेर आफ्नो मोबाइल अफ गर्नु विमान यात्रुहरूको महत्वपूर्ण दायित्व हुन आउँछ ।

airplane Mood

विशेष