विराटनगरमा भव्य रथयात्रा
भदौ - १० । भगवान् श्री राधाकृष्ण रथयात्रा महोत्सव साँझ विराटनगरमा धार्मिक विधिपूर्वक उल्लासमय वातावरणमा नगर परिक्रमा गरी सम्पन्न भएको छ ।
विगतका वर्षझैँ यस वर्ष पनि विराटनगर–१ को पानीट्याङ्कीस्थित राधाकृष्ण मन्दिरको परिसरबाट युगल मूर्तिलाई रथमा विराजमान गराइ सो स्थलबाट सुरु भएको रथयात्रा नगरको तीनपैनी, गोल्छामोड, ट्राफिकचोक, महेन्द्रचोकबाट बरगाछिचोक हुँदै करिब आठ किलोमिटरको दूरी तय गरी सोही मन्दिरको परिसरमा पुगेर रथयात्रा सम्पन्न भएको थियो । सो अवधिमा रथलाई ४४ स्थानमा विश्राम गराइएको थियो ।
आयोजक समितिले रथ यात्रामाथि हेलिकोप्टरको माध्यमद्वारा आकाशबाट पुष्प र अविरको वर्षा गराएका थिए ।
यसका साथै, रथयात्राको मार्गमा पर्ने सडकको दुवै पेटिमा हजारौँ श्रद्धालुका साथै भवनको छत र कौसीबाट रथमाथि फूलका साथै जल अर्पन गरिरहेका देखिन्थे ।
उक्त रथयात्राको अवधिमा विभिन्न मन्दिर एवम् धार्मिक संस्थाका रथ र कलश यात्राका साथै विभिन्न सांस्कृतिक झल्कने दर्जनौँ झाँक्री, नाचलगायत प्रदर्शन गरिएको थियो ।
रथको दर्शन गर्नका लागि आएका श्रद्धालुलाई विभिन्न ठाउँमा सङ्घसंस्था र क्लबद्वारा निःशुल्क रुपमा चिसो पेय वितरण गरियोे ।
मोरङ, झापा, सुनसरीका साथै सीमावर्ती भारतीय क्षेत्रबाट समेत गरी पाँच लाखभन्दा बढी श्रद्धालुले रथयात्राको दर्शन गरेको अनुमान गरिएको छ ।
प्रत्येक वर्ष लाखौँ मानिसको सहभागिता हुने भएकाले शान्ति सुरक्षालाई व्यवस्थित बनाउनका लागि स्थानीय प्रशासनले कडा सुरक्षा व्यवस्था मिलाएको थियो ।
१९८८ सालबाट खट (युगल मूर्तिलाई खाटमा राखेर)यात्राको रुपमा सुरु भएको यात्रा २०२५ सालदेखि रथयात्राको रुपमा परिणत भएको हो ।
स्थानीय भूपालमानसिंह कार्की र सत्यनारायण धनावतको सम्पूर्ण लगानीमा रथ निर्माण गरी राधाकृष्ण मन्दिरलाई हस्तानान्तरण गरिएको सोही रथले निरन्तरता दिइरहेका छन् ।
अति आकर्षक ढङ्गले सजाइएको सो रथको उचाइ १८ फिट चार इन्च र चौडाइ ११ फिट दुई इन्च र लम्बाइ १४ फिट रहेको छ । रासस
Biratnagar Rath yatara
Birtnagar