नायकत्व गुमेको टिके यात्रा, पतनपथमा गगन
बिनोश शर्मा
हिजो गगन क्रान्तिकारी योद्धा थिए । उनको भाषण सुन्नकै लागि मानिसहरुको भीड लाग्ने गर्दथ्यो ।
त्यसमध्ये अधिकांश युवा हुन्थे । जो चेसको गोटी झैं कुटील पाराले चलेको राजनीति होइन, सपाट शैलीमा जनताको मन जितेर गरिने राजनीतिको पक्षमा थिए । गगन सपाट शैलीको राजनीतिको संकेत बनेर देखिएका थिए । गिरिजाप्रसाद कोइरालाका सामू काँग्रेसजनको त के कुरा अन्य दलकै मान्छेपनि चुप रहन्थे । त्यतिबेला सडकमा गगन गिरिजाकै नीतिविरुद्ध गर्जन्थे । उनको गर्जन यतिशक्तिशाली थियो कि पहिलो संविधानसभा निर्वाचनमा उनी समानुपातिक सभासद् बनाइए । त्योपनि गिरिजाप्रसादकै तज्बिजमा । खगेन्द्र संग्रौलाले प्रारम्भमा गगनको छबी आकाशिने गरी लेख लेखिदिएका थिए । कटु टिप्पणीकार संग्रौलाको वजनदार प्रशंसापछि गगनप्रति हेर्ने नजर फराकिलो हुन थाल्यो । संचारमाध्यम उनी विकाऊ मसला बन्न थाले ।
तर, उनै संग्रौलाले पछि गगनको पोल खोले गुरु कुल नाटकघरमा । गगन सभासद् भइसकेका थिए । संग्रौला उनी समानुपातिक सभासद् बनेकोमा रुष्ट थिए । कारण बेग्लै रहेछ । आफू प्रत्यक्ष निर्वाचन लड्ने र निर्वाचन प्रसार पचार समितिमा संग्रौला बसिदिनुपर्ने गगनले प्रस्ताव गरेछन् । संग्रौलाले टोलका गन्यमान्यलाई बोलाएर गगनको प्रचारमा लाग्न प्रेरित गरेछन् । त्यसको केही दिनपछि साँझमा गगनको मधुर स्वरमा फोन आएछ । उनले भनेछन्, ‘दाइ अहिले चुनाव हारिनपनि सकिन्छ । समानुपातिकमा बस्नुपर्ने देखियो ।’ त्यसपछि संग्रौलालाई गगन पानी मरुवा लाग्न थालेछ । संग्रौलाले यसो भनिरहंदा त्यही उपस्थित धेरै दर्शकजस्तै मलाई पनि बिझाएको थियो । यी बुढा कहिले उचाल्छन् त कहिले पछार्छन् भन्ने लाग्यो । गगनकै सामू भनिएको सो विषय कालान्तरमा सत्य सावित हुंदै गएको देखिन्छ । हिजोमात्रै एउटा लेख पढें । उनको राजनीतिक यात्राको धुमिल तस्बिर उजागर गरिएको थियो । तस्रो ध्रुबका रुपमा उनको राजनीति सुरु भएको थियो । नरहरी आचार्यसहितको टिममा उनी थिए । १२ औं महाधिवेशनमा उनी कोइराला क्याम्पमा लागे नरहरीको क्याम्प छाडेर । १३ औं सम्म आइपुग्दा उनी सिटौला क्याम्पमा लागे । युवापंक्तिमा सर्वमान्य ठानिएका गगनप्रति युवाहरुले नै नानाधरी नारा लगाउने वातावरण बन्यो । नरहरीदेखि आचार्यसम्मका क्याम्प परिवर्तनमा कुनै नीतिगत मूल्यमान्यता देखिदैन ।
यसमा प्रारम्भमा चर्चाका लागि नरहरी क्याम्प, संस्थागतरुपमा स्थापित हुनका लागि कोइराला क्याम्प र पदीयरुपमा उक्लनका लागि सिटौला क्याममा उनी स्थानान्तरण भएको प्रष्ट छ । यसरी हेर्दा उनी सपाट राजनीति होइन, चेसको चालजस्तो यात्रा गरिरहेका छन् । जुन उनीबाट अपेक्षा गरिएको थिएन । गगन अति चर्चित युवा नेता हुन् । तर, चर्चाले मात्र भविश्य थाम्दैन । हिजोका दिनमा शेरबहादुर देउवाको भाषणको शक्ति देशव्यापी थियो । देउवालाई बोकेर विपी हिड्थे ताकि आफ्नो कुरा उसले ओझपूर्ण हिसावले भनिदिओस् । बलबहादुर केसी २६ बर्षकै उमेरमा पंचायतलाई हायल कायल पार्ने विद्यार्थी नेता भइसकेका थिए । उनको गतिविधिमा विपी, गणेशमान र कृष्णप्रसादजस्ता त्रिमूर्तीको निर्णय भर पर्दथ्यो । २०३६ सालको जनमत संग्रहका लागि बलबहादुरले सुरु गरेको विद्यार्थी आन्दोलन प्रस्थान विन्दु मानिन्छ । आज बलबहादुर केसी पार्टी सदस्य लिनका लागि अनसन बस्न र मन्त्रीमा दोहोरिन नपाएकोमा सार्वजनिक दुखेसो गर्न बाध्य छन् । केसी पटक पटक मन्त्री भए । तर, ३० को दशकको केसीको ओझ देखिएन ।
देउवा ३ पटक प्रधानमन्त्री भए तर देशले केही पाएन । एक पटक आशा जगाउन सकेका नेतापनि कालान्तरमा पटके मन्त्री र प्रधानमन्त्रीसिवाह केही हुन नसकेको दृष्टान्त हुन् । यस्तो दृष्टान्तको पछिल्लो कडी गगन थापा बन्दैछन् । उनी मन्त्री नियुक्त भएलगत्तै टीका थाप्नका लागि राष्ट्रपति निवासबाट धुम्बाराहीस्थित कृष्ण सिटौलाको महलमा पुगे । पछुवारुपी कार्यकर्ताको एक हुलसहित त्यहाँ पुग्दा कुनै नायक आएझैं दखिन्थ्यो । तर, त्यहाँ उनले नायकत्वको चीरहरण गरेर फर्किए । उनी त्यहाँ सिटौलासँग नुनको सोझो गर्न पुगेको देखियो । क्षमता र बलवुताले होइन, सिटौलाको कृपाले मन्त्रीमा आसिन भएको लाचारी व्यक्त गरियो । ०४६ सालको जनआन्दोलनपछि काँग्रेस राजनीति थालेका भनिएका सिटौलाको कुटील मुस्कानमा विजयभाव छचल्किएको प्रष्ट देखिन्थ्यो । सिटौलाको साटो आफ्नै ससुरा अर्जुननरसिंह केसीको टिको शितलनिवासमै थापेको भएपनि सहजै मानिन्थ्यो । कम्तिमा मान्यवर थिए । बिल्कुल टिके मन्त्रीका रुपमा आफुलाई प्रमाणित गर्न गगन धुम्बाराही पुगेको घटनाले मन सारै दुखेको छ । क्रान्तिकारी योद्धको अवसान हुंदा कस्को मन नरोला ? गगन भन्छन्, ‘मेरो नशामा विपीको रगत होइन, विपीको विचार बगेको छ ।
’ विपीको जीबनकालभरी विपीको राजनीतिभन्दा बाहिर रहेका सिटौलाको आर्शिवाद प्राप्त गरेका गगनलाई अब त्यसो भनिरहने आधार छैन । विपीको विचार बोकेको क्रान्तिकारी युवा कुनै अमुक नेताको आर्शिवादका लागि महल होइन, गरिव किसानको झुपडीमा पस्दछ । बाग्मतीको किनारमा रहेका सुकुम्वासीमध्ये असली सुकुम्वासीको झुपडीमा पसेर उनी नजिकै रहेको स्वाश्थ्य मन्त्रालय छिरेको भए उनको ओझ कति बढ्थ्यो ? अथवा उनकै निर्वाचन क्षेत्रमा भुकम्प पीडितको सिविर छ । त्यहाँ घामपानीका कारण थला परेका कैयौं बालबालिका छन् । त्यहाँ पुगेर कसम खाएको भए सायद विपीको विचार बगेको ठानिन्थ्यो । सिटौलारुपी पट्टी बांधिएपछि उनी क्रान्तिकारी रहिरहन सकेनन् । निश्चित हो अबका दिनमा गगन बारम्बार मन्त्री भइरहनेछन् बलबहादुर केसी झैं । तर, उनी बलवान रहिरहने छैनन् । हिजो सडकमा सिंहझैं देखिने गगन सदनमा स्यालझैं देखिएको वा हराएको प्रष्ट छ । मन्त्रालयको नाफाखोर राजनीतिमा उनी लिप्त हुने सम्भावना अधिक छ । किनकी उनका पछुवाको सबैभन्दा भित्री घेरामा डन रहेको र तिनको पालनपोषण महङ्गो रहेको चर्चा बारम्बार हुंदै आएको छ ।
cabinet of nepal krishna prasad sitaula Minister gagan thapa Nepali Congress Nepali Politics pm prachanda