‘व्रत’ स्वास्नीमान्छेको मात्रै ठेक्का होइन
नेपाली हिन्दु महिलाहरूको पर्व तीजमा विकृति बढ्यो भन्ने गुनासो केही वर्षदेखि धेरै सुनिन थालेको छ । फजुल खर्च, उत्ताउला गीत सङ्गीत, भड्किलो शैली, मूल संस्कृतिलाई आझेलमा पारेर नयाँ संस्कृति सिर्जना गर्ने कोसिस गरिएको भन्ने गुनासो प्रमुख छन् ।
तीज पर्वसँग जोडिएर आएका यी विषयलाई एक कोणबाट मात्रै हेर्ने हो भने निश्चितरुपमा विकृतिमात्रै देखिनेछ । तर कुनै पनि विषयलाई निरपेक्षरुपमा हेर्न त मिलेन ।
तीज पर्व सुरु हुनु केही हप्ताअगाडिदेखि रेडियो नेपालमा चेलीका बिरहका गीत बज्थे । माइत र घरको दुरी त्यो बेला पैदलमा नापिन्थ्यो । सडक थिएन । सवारी साधन थिएनन् । माइतबाट कोही लिन नआएको, माइत जान नपाएको जस्ता विरहका भाव गीतमा हुन्थे । समय बदलियो । सोच र महिलाको स्तर बदलियो । चेलीबेटीहरु अहिले पनि भौतिक रूपले धेरै टाढा हुन्छन् तर प्रविधिले नजिक ल्याएको छ । तीज कार्याक्रममा नाचेको फेसबुकमा लाइभ स्ट्रिम राख्न मिल्छ । विकासका कारण अब धेरै चेलीहरुलाई माइत जाने पहिलेजस्तो गाह्रो छैन । यद्यपि विकास नपुगेका दूरदराजका नेपाली महिलाको दुरावस्था हाम्रा हजुरामाका पालाभन्दा फरक छैनन् ।
जसरी समाज बदलियो, त्यसै गरी गीतसंगीत पनि बदलिए । अचेल तीजमा बिरहका होइनन्, ‘एकमहिना अगाडिदेखि दर खाइन्छ, मस्तले नाचिन्छ, रमाइलो गरिन्छ’ यस्ता भावका गीत बढी आउन थालेका छन् ।
तीजको गीत अश्लील भयो भन्ने पनि छन् । अश्लीलता तीज पर्वमा मात्रै होइन, फागु, देउसी भैली, गाईजात्रामा पनि प्रवेश गरेको छ । गाईजात्राका नाउमा आयोजना हुने कार्यक्रमहरूमा दुई अर्थ लाग्ने छाडा विषयवस्तु धेरै हुन्छन् । यसको अर्थ हो तीजमा मात्रै छाडापन भित्रेको होइन ।
अब प्रश्न उठ्छ कुन छाडा हो कुन होइन ? भन्ने । यदि समाजले रुचायो भने छाडापन पनि संस्कृति बनिदिन्छ । रुचाएन भने विलाएर जान्छ । कसैले चाहँदैमा छाडापन संस्कृतिमा जबर्जस्ति प्रवेश गर्न सक्दैन । शिवलिंग पूजा गर्नुजति छाडा दुनियाँमा के होला ? समाजले स्वीकार गर्यो। त्यो धर्मको एक हिस्सा बनेको छ । मन्दिरका टुँडालमा कुँदिएका यौनाकृति सभ्य हुन ? हरेक कुरामा विकृति मात्रै देख्ने समाजका ठेकेदारहरुले यसको जवाफ दिन सक्छन् ?
यसकारण कुन छाडा कुन सभ्य भन्ने कुरा समाजले गर्ने निर्णयमा भर पर्छ । पशुपतिको उन्मत्त भैरवको लिङ्ग ढोग्दा स्वभाविक हुने, ज्योति मगरले नाइटो देखाउँदा कोकोहोला मच्चाउने ?
तीजमा फजुल खर्चको चर्चा पनि खुब गरिन्छ । यदि कसैको फजुल खर्च गर्ने बानी छ भने त्यसलाई प्रहरी लगाएर नै खर्च गर्नबाट रोकियो भने पनि त्यसले दसै, तिहार वा अरू बेला खर्च गरी छाड्छ । फजुल खर्च गर्ने बानी, हैसियत भएकालाई तीजमा रोक्दैमा त्यसको सकारात्मक प्रभाव देखिनेवाला छैन ।
खर्च गर्ने भनेको आर्थिक हैसियतमा पनि भर पर्छ । आर्थिक हैसियतअनुसार हरेक मानिसले खर्च गर्ने हो । यसमा रोकतोक गर्न मिल्दैन । यदि यसलाई आर्थिक दृष्टिकोणले हेर्न हो भने त खर्च गर्दा अर्थतन्त्र चलायमान हुन्छ । आयातमा निर्भर अर्थतन्त्र भएर मात्रै नत्र त सरकारले नै जनतालाई खर्च गर्न उक्साउँछ । नेपालमा चाहिँ धेरै खर्च गर्नुको मतलब धेरै पैसा विदेश पठाउनु हो ।
तीजको शैली फेरिएको विषय पनि रोचक लाग्छ । तीजको शैली फेरिएकोमा त मजा लिन सक्नु पर्छ । संसारका सबैकुरा फेरिन्छन्, तीजको शैलीको के कुरा । तीज नै फेरिन्छ । भारतमा मनाइने तीज र नेपालको तीज नै फरक छ । ‘तीजको व्रतमा पानी पिउँदा श्रीमानको रगत पिए जस्तो हुन्छ’ भन्ने बेतुकको बुँदा प्रचार गरेर तीजलाई निर्दयी पर्व बनाइयो । हिन्दु धर्म मान्ने एक ठाउँका महिलाहरूले यही पर्वमा पानी पिउँदा पानी नै हुने, नेपालका महिलाका लागि चाहिँ रगत कसरी हुन्छ रु तीजको शैली फेरिएकोमा निराश हुने दुःखी आत्माहरुलाई मेरो भन्नु केही छैन । म चाहिँ खुसी छु ।
संसारका सबै वस्तु, रिति, परम्परा चलन, धर्म, पहिरन, सोच, स्वरूप परिवर्तनशील छन् । आकाशको सूर्य, चन्द्रमा र ब्रम्हाण्ड पनि परिवर्तनशील छ । यो तीज चाहिँ के त्यस्तो पर्व हो र परिवर्तन हुन नहुने ? अचम्म त यसैमा लाग्छ । यसकारण तीजमा बिरहका गीत गाउन आवश्यक छैन । गीत फेरौं । रातै सारी लगाउन आवश्यक छैन, पाइन्ट लगाएर पनि नाच्दा हुन्छ । भोकै बसेर देउता खुसी हुँदैनन् । दूध, पानी, फलफुल जस्ता पवित्र खाद्यवस्तु खाएर तीजको व्रत बस्नु राम्रो हुन्छ ।
एकादशी, मङ्गलवार, साउनको सोमबार, शिवरात्री, रामनवमी, तीज, पञ्चमी यो सबका सब पर्वमा व्रत लिने ठेक्का महिलाको मात्रै होइन । एउटा वर्षको तीजमा पत्नीले व्रत बस्छिन् भने अर्को वर्ष पतिले बस्दा पनि हुन्छ ।
महान पर्व तीजको सबैमा हार्दिक मंगलमय शुभकामना । –समा श्री, काठमाडौं, हालः इजरायल