समाज

चार वर्षपछि त्रिविले भर्ना लिने भएपछि कृषि विश्वविद्यालसँग विवाद बढ्यो

चार वर्षपछि त्रिविले भर्ना लिने भएपछि कृषि विश्वविद्यालसँग विवाद बढ्यो
TU and Agriculture भदौ - १३ । त्रिभुवन विश्वविद्यालयले चितवनको रामपुरमा भर्ना प्रक्रिया अगाडि बढाउने भएपछि त्यहाँ रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयसँगको विवाद थप बढेर गएको छ । सरकारले रजिष्ट्रार र सेवा आयोगको अध्यक्षमा त्रिभुवन विश्वविद्यालयकै प्राध्यापक पठाएका र पदाधिकारी एवम् सिनेट प्रतिनिधिमा आफ्नो प्रतिनिधित्व नभएका कारण नेपाली काँग्रेस रुष्ट हुँदा त्रिभुवन विश्वविद्यालयलाई नयाँ विद्यार्थी भर्ना गर्न मलजल मिलेको छ । कृषि विश्वविद्यालय र स्थानीय बासिन्दाको दबाबपछि विगत चार वर्षयता त्रिविले रामपुरमा भर्ना लिन सकेको थिएन । भेटेनरीका विद्यार्थीको छ महिनाको इन्टर्नबाहेक त्रिविका सबै विद्यार्थीको पढाइ सकिनै लाग्दा पुनः त्रिविले भर्ना लिने भन्दै डिन नियुक्त गरेपछि दुई विश्वविद्यालयबीच विवाद बढेको हो । त्रिविले यही साउन ३२ गते कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरसँग सम्बन्ध रहने गरी श्यामशङ्कर झालाई डिनमा नियुक्त गरेको छ । कृषि विश्वविद्यालयमा सोही विश्वविद्यालयभित्रका अग्रज प्राध्यापकलाई पदाधिकारीमा नियुक्ति गर्नुपर्ने माग भइरहेका बेला रजिष्ट्रार र सेवा आयोगको अध्यक्षमा त्रिविका प्राध्यापक नियुक्त भएका हुन् । यसअघि उपकुलपतिमा नेकपा एमाले निकट, रजिष्ट्रारमा नेका निकट र सेवा आयोगको अध्यक्षमा नेकपा माओवादी केन्द्र निकट प्राध्यापकलाई नियुक्त गरी डिनलगायतका पदमा समेत भागबन्डा गरिएको थियो । अहिले पदाधिकारीमध्ये उपकुलपति माओवादी केन्द्र निकटका प्राध्यापक हुन् भने रजिष्ट्रार र सेवा आयोगका अध्यक्ष एमाले निकटका प्राध्यापक हुन् । नेका चितवनका सभापति जीतनारायण श्रेष्ठले कृषि विश्वविद्यालयले डाकेको बैठक बहिष्कार गर्न थालेको बताए । जुन उद्देश्यका साथ सबैलाई मिलाएर विश्वविद्यालयले लानुपर्ने हो त्यो काम उपकुलपतिबाट हुन नसकेपछि आफूहरु विश्वविद्यालयका बैठकमा जान छाडेको उनले बताए । पदाधिकारी र सिनेट सदस्य सिफारिसमा उपकुलपतिले एकलौटी गरेको श्रेष्ठको आरोप छ । एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले विश्वविद्यालयको सेवा आयोगको अध्यक्षमा नेका निकट प्राध्यापकलाई नियुक्त गर्ने सहमति भएको भए पनि सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै यहाँको सेवा आयोगको अध्यक्षको नियुक्ति भई एकाएक अन्य विश्वविद्यालयसँग समस्या आएको बताए। सरकार फेरिइसकेकाले अन्य पदमा काँग्रेसलाई प्रतिनिधित्व गराउन उपकुलपतिलाई सुझाव दिएको उनले बताए । उपकुलपति डा ईश्वरीप्रसाद ढकालले पदाधिकारी नियुक्ति आफ्नो कार्यक्षेत्र बाहिर भएकाले समस्या आएको भन्दै काँग्रेस निकट प्राध्यापकहरुलाई समेट्ने कुरामा आफू सकारात्मक रहेको बताए । उता त्रिविले नियुक्त गरेका कृषिका डिन झाले रामपुरमा पढाइ नगर्ने भन्ने निर्णय नभएकाले माथिल्लो निर्देशन जे आउँछ त्यहीअनुरुप काम गर्ने बताउँछन्। त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँले आफ्नो ४०० बिगाहा जग्गा रामपुरमा रहेको भन्दै यो शैक्षिकसत्रबाट कक्षा सञ्चालन गर्ने बताए । “कृषिले पनि पढाउँछ, हामी पनि पढाउँछौँ, यसमा कुनै समस्या हुँदैन” – डा खनियाँले भने। रासस

Nepali Agriculture university rampur TU

विशेष