स्वास्थ्य

यसकारण गन्हाउछ शरिर

यसकारण गन्हाउछ शरिर

Healh

भदौ १४ । कतिपयको शरीरबाट आउने नमिठो गन्धले धेरै समस्या पार्छ । यसको दोष कसैले शरीरलाई दिन्छन् भने धेरैजसोले खाद्य पदार्थको उपभोगलाई औँल्याउँछन् । कसैको शरीर गनाउने आनुवंशिक कारण हुनसक्छ भने कसैलाई रोगका कारण पनि यस्तो हुन्छ । यहाँसम्म कि मनोवैज्ञानिक र मिर्गौला (किड्नी)को खराबीको लक्षणदेखि पेट तथा कब्जियतका समस्यामा समेत शरीरले नमिठो गन्ध दिन्छ ।

दन्तहर्षा वा पाइरिया भएको मानिसको सास गनाउँछ । शरीर गनाउनुमा छालाभित्र रहेका ग्रन्थिबाट आउने फोहर तत्त्व र कीटाणुका गतिविधि मुख्य हुन् । ‘एपोक्राइन’ (शिखरश्रावी) पसिना ग्रन्थि शरीरका रौँसँग सम्बन्धित (रोमकुप) हुन्छन् । यसबाट निस्कने पसिना नै काखी, मलमूत्र द्वारक्षेत्र र मोजा–जुत्ता लगाएका मानिसका खुट्टाबाट धेरै गनाउन सक्छ । त्यस्तै, अन्य पसिना पनि सुक्न नपाएर गुम्सियो भने ब्याक्टेरिया पैदा भएर गन्ध निस्कन्छ । यसमा पनि मुख, काखी र खुट्टाबाट निस्कने गन्ध, सबभन्दा मुख्य समस्या हुन्छ ।

शरीरमा रहेको एसिड (अम्ल)लाई काखीमा गुम्सिएका रौँले गन्ध फैलाउँछ । यसले गर्दा लगाएका जुत्ता पनि गनाउने हुन्छ । यसका अतिरिक्त खानपान, शारीरिक समस्या, रोगव्याध, अनुवंशीय समस्या र औषधि सेवनले पनि शरीर गनाउन सक्छ । सामान्यतया सात खालका खानेकुराले शरीर गनाउन सक्छ ।

मसलेदार खानेकुरा

मसलेदार खानेकुराबाट सल्फर नामक तत्त्व शरीरमा धेरै जान्छ । लसुन, प्याज, मेथी, हिङजस्ता धेरै गन्ध आउने मसलाले पसिना र सास गनाउन सक्छ । रातो मासु खसी, राँगा आदिको मासु पचाउन शरीरले निकै प्रयत्न गर्नुपर्छ । धेरै रातो मासु खाएको छ भने गनाउने पसिना निस्कन सक्छ । यस्तो समस्या शाकाहारीलाई प्रायः आइलाग्दैन ।

अल्कोहल

रक्सी, बियर तथा अन्य अल्कोहलिक पेय पदार्थको सेवनले शरीरबाट गनाउने पसिना निस्कन सक्छ । अत्यधिक रक्सी सेवनले यस्तो पसिनाको गन्ध १० प्रतिशतभन्दा बढी थप्न सक्छ । अघिल्लो साँझ पिएको रक्सीको गन्ध श्वाससँगै भोलिपल्ट पनि आइरहन्छ ।

जंक फुड

जंक फुडले शरीरभित्र बोसिलो कोषिकाहरू पैदा गर्छ । जसले शारीरिक व्यायामको बानी नभएकाहरूलाई थप समस्या उत्पन्न गर्छ । यसका कारण पनि पसिना निस्कँदा शरीर गनाउँछ ।

वनस्पति घ्यु

वनस्पति घ्यु वा तेल, नुन, चिनी आदि अत्यधिक उपभोग गर्नु स्वास्थ्यलाई राम्रो हुँदैन । यस्ता खाद्यले शरीर गनाउने समस्यालाई बढावा दिन्छ । कार्बोहाइड्रेट नभएको वा नगण्य भएको तर प्रोटिन भएको खानाले धेरै पसिना फाल्छ । यसले ‘किटोन्स’ नामक रासायनिक तत्त्व उत्सर्जन गर्ने हुनाले त्यसबाट पनि शरीरमा गन्ध उत्पन्न हुन्छ ।

दुग्ध पदार्थ

दुग्ध पदार्थमा धेरै प्रोटिन हुने कारणले पचाउन धेरै समय लाग्छ । दुग्ध पदार्थहरूको अत्यधिक सेवन गर्दा हाइड्रोजन सल्फाइड र मेथिल मर्काप्टनजस्ता तत्त्व बढ्दछ । जो नमिठो गन्ध पैदा गर्ने कारक हो ।

धुम्रपान

चुरोट, खैनीलगायतका सुर्तीजन्य पदार्थको सेवन शरीर गनाउने मुख्य कारण हो । पसिनाका ग्रन्थिमा सुर्तीजन्य पदार्थ घुलमिल भएपछि त्यस्तो अम्मलीको लुगा, सास, कपाल आदि गनाउने हुन्छ ।

Health

विशेष