समाज

पूर्वराष्ट्रपति उपचारः बुबाको सेवा गर्दा पनि भत्ता बुझ्ने !

पूर्वराष्ट्रपति उपचारः बुबाको सेवा गर्दा पनि भत्ता बुझ्ने !

Chandra Mohanराष्ट्रप्रमुख भइसकेपछि कुनै पनि व्यक्ति दल, धर्म, जाति, समुदायविशेषको नभएर सबैको साझा बन्छ । पूर्वराष्ट्रपति डा. रामवरण यादव अहिले पदमा हुनुहुन्न तर राष्ट्रपतिले पालना गर्नुपर्ने सामान्य मर्यादाहरु उहाँले आजीवन पालना गर्नुपर्ने हुन्छ ।

यादव मधेसी समुदायबाट हुनुहुन्छ । कांग्रेसबाट लामो समय राजनीति गर्नुभयो । तर जब उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभयो, उहाँले मधेसी पहाडी हिमाली सबैतिरका मानिसको साझा राष्ट्रपति बन्ने प्रयास गर्नुभयो । टोपी ढाकाको लगाउनु हुन्थ्यो, काँधमा लवेदा । जसले पहाड र मधेसको संकेत गथ्र्यो ।

अपवादबाहेक डा. यादव विवादमा पर्नुभएन । संसदले गरेको निर्णयलाई सदर गर्नैै पर्ने संसदीय मान्यतालाई उहाँले स्वीकार गर्दै संविधान जारी गर्नुभयो । जुनबेला उहाँले संविधान जारी गर्नुभयो, त्यो बेला मधेसीहरु नै तराईमा आगो बालिरहेका थिए । उहाँ आफ्नो जाति र समुदायभन्दा माथि उठेर संविधान जारी गर्नुभयो ।

राष्ट्रपति यादवले आफ्नो कार्यकालमा अरुको मन बिझाउने कार्य गर्नुभएन । नेपालको एकता बिम्बको रुपमा राष्ट्रपति रहनु पर्छ भन्ने मूल मान्यतामै अडिग रहनुभयो ।

अहिले यादव पदमा हुनुहुन्न । तर पनि उहाँको सम्पूर्ण खर्च सरकारले व्यहोरिरहेको छ । पूर्वविशिष्टहरुले पाउने सुविधा उहाँले पाइरहनु भएको छ । हालै उहाँमा प्रोस्टेट क्यान्सर देखिएको र उपचार खर्चका विषयमा धेरै किशिमका टिप्पणीहरु आइरहेका छन् ।

यादवलाई भएको क्यान्सरको उपचार नेपालमा पनि हुन्छ । यो कुरा पूर्वराष्ट्रपतिका छोरा चन्द्रमोहनले जानकारी दिनु भएको छ । उपचार भारतमै पनि हुन सक्छ । त्यो भन्दा पनि सुविधासम्पन्न अस्पताल, उच्च प्रविधियुक्त उपचार अमेरिकामा हुने भएकोले यादवले अमेरिकामा उपचार गराउने इच्छा प्रकट गर्नुभएको छ । क्यान्सरको उपचार सरकारी खर्चमै पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले पनि गराउनु भएको थियो । अहिले पूर्वराष्ट्रपति यादबले पनि सरकारी खर्चमा क्यान्सरको उपचार गराउने विषयले चर्चा पाउनुमा विभिन्न कारण छन् ।

– रामवरण यादवको अवस्था सुशील कोइरालाको जस्तो होइन । सुशील अविवाहीत एक्लो हुनुहुन्थ्यो । यादवका दुई छोरा छन् । एक डाक्टर एक इन्जिनियर । त्यसमाथि सुशील जस्तो साधुसन्तको जस्तौ छैन यादवको अवस्था । उहाँको तराईमा घर खेत, काठमाडौमा घर आदि सम्पत्ति छ । यादवलाई सरकारले मासिक भत्ता दिन्छ । बस्नलाई आवास र चढनलाई गाडी, ड्राइभर तेल आदि । उहाँको खर्च कम आम्दानी बढी नै हुन्छ । उहाँले चाहने हो भने आफ्नो रोगको उपचार आफ्नै खर्चमा गर्न सक्ने ल्याकत राख्नुहुन्छ । त्यसमाथि छोराहरु पनि कोही भन्दा कम छैनन् । आमाको निधन भइसकेकोले छोराहरुकालागि आमा भने पनि बुबा भने पनि रामवरण मात्रै हुनुहुन्छ ।

–यसो भनिरहँदा रामवरण यादव सरकारी सहयोग पाउनै नहुने पात्र भन्न मिल्दैन । उहाँ पूर्वराष्ट्रपति मात्रै होइन नेपालको प्रथम राष्ट्रपतिसमेत हुनुहुन्छ । नेपालमा सरकारले भ्रष्टाचार प्रमाणित भएर जेल गएकाहरुलाई समेत उपचार खर्च दिएर सदाचारको हुर्मत काढेको छ । यो परिवेशमा प्रथम राष्ट्रपतिलाई उपचार खर्च दिनु मुनासिव हुन्छ ।

–राष्ट्रपति यादव उपचारकालागि एक छोरा, छोरी, एक सहयोगीका साथ अमेरिका जाँदै हुनुहुन्छ । बिरामी भएका कारण यादवलाई सरकारले बिजनेस क्लासको आरमदायी सिट र बाँकीलाई सामान्य यात्रु सवार हुने सिटको व्यवस्था गर्न खोज्यो । तर यादवले त्यसमा सबैलाई बिजनेस क्लासकै सिट हुनुपर्छ भन्ने इच्छा जाहेर गरेको विषयबाहिर आयो । नर्मल अवस्थाका मान्छेलाई इकोनोमी क्लासको सिटमा अमेरिका जाँदा के फरक पर्छ ? यादवसँग अमेरिका जानेहरु उपचारकालागि भन्दा पनि भोग विलासका लागि जान खोजेजस्तो देखियो । समय अझै छ । यो रोक्नूस ।

– अहिले अमेरिका जान तयार हुनुभएकाहरु उपचारका लागि हो । यो कुनै सरकारी काम होइन । पूर्वराष्ट्रपति ज्यू आफ्नै उपचारका लागि अमेरिकामा जाँदै हुनुहुन्छ । आफ्नै उपचार गरेको पनि दैनिक ३ सय डलर भत्ता खोज्नु राम्रो होइन । यो भत्ता छोरी अनिता र छोरा चन्द्रमोहनलाई पनि नलिन भन्नु होला । किनभने उहाँहरु आफ्नै बुबाको सेवाका लागि अमेरिका जाँदै हुनुहुन्छ । सेवाको पारिश्रमिक लिने हो भने त्यो त पेशा भइहाल्यो नी । छोराछोरीको कर्तव्य भनेको आमाबाबुको सेवा गरेबापत भत्ता बुझ्ने हो र ?

–पूर्वराष्ट्रपति ज्यू । क्यान्सरलाई तपाईले जित्नु हुन्छ भन्ने विश्वास छ । जित्नुहोस शुभकामना छ । क्यान्सरलाई नै जीते पनि जीवन त मरणशील नै छ । जन्मेपछि मर्नु नै सत्य हो । र सामान्य कुरा पनि हो । अहिलेसम्म पूर्वराष्ट्रपति यादवले नेपालीको मनमा सम्मानित हुनुहुन्छ । सम्मानित भएरै बाँकी समय व्यतित गर्नु पर्छ । अहिले पनि समय छ । उपचारको प्रशंगमा देखापरेका केही यस्ता अस्वभाविक विषयहरुमा पुनर्विचार गर्नुहोस् ।

शिघ्र स्वास्थ्यलाभको कामनासहित ।

–कञ्चन न्यौपाने

विशेष