कभर स्टोरी स्वास्थ्य

पूर्वराष्ट्रपति यादव अमेरिका जाने भएपछि एक क्यान्सर विशेषज्ञको मर्मस्पर्शी बयान

पूर्वराष्ट्रपति यादव अमेरिका जाने भएपछि एक क्यान्सर विशेषज्ञको मर्मस्पर्शी बयान

rajendra-baral-nepalaaja

म क्यान्सरको चिकित्सक हुँ । क्यान्सर रोगीको उपचार गर्छु । धेरै बिरामी बिसेक पनि हुन्छन् । तर मेरै परिवारलाई क्यान्सरले तहस नहस पारेको छ । मेरो आमा बुबा, काका काकी, फुपूलगायत ५० जनालाई क्यान्सर भयो । अब आफै विचार गर्नुहोस यो रोगले मेरो परिवारलाई कसरी तहसनहस पारेको छ । तर मेरो परिवारका कुनै सदस्य पनि उपचारका लागि भारत पनि जानु भएन । अमेरिका, जापान, थाइल्यान्डको कुरै नगरौं ।

मलाई के थाहा छ भने भारतमा हुने धेरैजसो उपचार नेपालमा पनि हुन्छ । स्वदेशमा हुने उपचार विदेशमा गर्न जाँदा सास्ती र हैरानी त हुने भइ नै हाल्यो । खर्च पनि अति धेरै हुन्छ । नेपालका बरिष्ठ ठूलबडा मानिसहरु उपचारका लागि विदेश जानु हुन्छ । कतिपय अवस्थामा रोग नेपालमा ठीक हुन्छ हुँदैन भन्ने खोजी नै नगरी पनि विदेश जानुहुन्छ । नेपाल मै उपचार सम्भव हुने सामान्य रोगका लागि पनि विदेश गएको मैले देखेको छु । यसो गर्दा आम जनतालाई नेपालमा कुनै रोगको उपचार हुँदैन । नेपालका अस्पताल र डाक्टर भनेको बिरामी ठग्नका लागि खुलेका हुन् भन्ने सन्देश जान्छ ।

मलाई धेरै नेताहरुले फोन गर्नुहुन्छ । नेताहरुको आ– आफ्नो जिल्ला, निर्वाचन क्षेत्रबाट जनताहरु उपचारकालागि काठमाडौं आउनु भएको हुन्छ । ती मध्ये केहीमा क्यान्सर देखिएको पनि हुन्छ । उहाँहरुले आफ्ना क्षेत्रका जनताको उपचारको विषयलाई लिएर हामीलाई फोन गर्नुहुन्छ । तर आफ्नै वा आफ्नो परिवारको उपचार गराउनु पर्यो भने चाहिँ विदेश जानु हुन्छ ।

नेता हुन या अभिनेता सबैले शुरुमा नेपालमै परीक्षण गराउने र चिकित्सकको सल्लाह बमोजिम विदेश जाने वा कुन अस्पताल जाने गर्नु राम्रो हुन्छ । अहिले पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई क्यान्सर देखिएको छ । उहाँको उपचारका लागि सरकारले अमेरिका पठाउने बन्दोबस्त गरेको सुनेको छु । म एक डाक्टर भएको नाताले पनि बिरामीको उपचार हुने कुराले म खुसी छु । सम्भवतः राष्ट्रपति ज्यूको उपचार नेपालमै सम्भव छ । नेपालमा नभए भारतमा त निश्चित उपचार हुन्छ । ठूलाबडाले नेपालमै उपचार गरिदिए सर्वसाधारणमा पनि नेपालका अस्पताल र डाक्टरहरुप्रति विश्वास बढ्ने थियो ।

पदमा बहाल हुँदै पूर्वराष्ट्रपतिलाई क्यान्सरको शंका गरियो । ‘पेट स्क्यान’ मेसिन नहुँदा उहाँ जापान गएर परीक्षण गराउनु भयो । त्यहाँ क्यान्सर नभएको पुष्टि भयो । त्यो मेसिन नेपालमै भएको भए धेरै पैसा जोगिने थियो । उपचार र परीक्षणका लागि धेरै नेपालीहरु विदेश जान्छन । यदि हामी आफैसँग प्रविधि हुने हो भने विदेश जाने पैसा रोकिन्छ ।

सुशील कोइरालालाई पनि जिब्रोको क्यान्सर थियो । उहाँ अमेरिका गएर पाँच पटक रेडिएसन गराउनु भयो । नेपालमै रेडिएसन उपचार भएमा सबैकालागि सर्वसुलभ भए पैसा विदेश जाँदैन । त्यसो हुन सकेको छैन । नेपालका क्यान्सर अस्पतालमा भएका मेसिनहरु पनि बिग्रेका छन् । बिग्रेको बनाउने काम भएको छैन । नयाँ किन्ने तयारी पनि देख्दिनँ ।

हालसालै स्वास्थ्यमन्त्री गगन थापाले राज्यको ढुकुटी सकेर उपचारका नाममा करोडौ कुम्ल्याउन पाइँदैन भन्नु भएछ । एक हिसाबले सोच्दा त उहाँको कुरा पनि सान्दर्भिक नै हो । किनभने यदि उहाँहरुले आफ्नै खर्चबाट उपचारकालागि विदेश जानु पर्ने भयो भने यसै गरी पैसा उडाउनु हुन्छ होला ?

राष्ट्रपति विद्या भण्डारीलाई पनि ब्लड क्यान्सर देखिएको थियो । उहाँको एपोलो अस्पतालमा उपचार गरियो । नेता प्रकाशचन्द्र लोहानीको पिताजीलाई पनि क्यान्सर थियो । उहाँले नेपालमै उपचार गराउनु भयो । पहिलो स्टेजमै क्यान्सरको उपचार गर्ने हो भने निको हुन्छ । एक पटक क्यान्सर भएपछि आजीवन फलोअपमा भने आइरहनु पर्छ । क्यान्सरको उपचार पछि बिसेक भएका धेरै बिरामीहरु छन् । उनीहरु लामो समयदेखि ‘सर्भाइभ’ गरिरहेका छन् । क्यान्सर हँुदैमा जीवन समाप्त भयो भन्ने होइन । कुनै बेला टिबी हुँदा ज्यान जान्थ्यो । अहिले क्यान्सर हुँदा पनि निको हुन्छ । यसकारण क्यान्सरसँग डराउँन हुँदैन ।

(क्यान्सर विशेषज्ञ डा. राजेन्द्र बरालसँगको कुराकानीमा आधारित । डा. बराल भक्तपुर क्यान्सर अस्पताल, बयोदा अस्पताल र ओम अस्पतालमा कार्यरत हुनुहुन्छ ।)

cancer bisesagyako bayan dr rajendra baral rambaran yadav bare cancer specialist

विशेष