कमैया र कमलरीको पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण
भदाै - १५ । विभिन्न सङ्घसंस्थाले मुक्त हलिया, कमैया र कमलरीको पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ, कमैया प्रथा उन्मूलन समाज, मुक्त कमैया महिला विकास मञ्च, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ र राष्ट्रिय दलित नेटवर्कले आज भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेलाई एक ज्ञापनपत्र बुझाई ध्यानाकर्षण गराएका हुन् । भेटमा मन्त्री पाण्डेले यसअघि निर्णय गर्न ढिलाइ भएका कारण समस्या बल्झिएको बताउँदै आपूmले सरोकारवाला निकायसँग आवश्यक छलफल गरी समाधानतर्फ लाग्ने आश्वासन दिएका छन् ।
विसं २०५७ साउन २ गते कमैया मुक्ति, विसं २०६५ भदौ २१ गते हलिया मुक्ति र २०७० साउन ३ गते कमलरी मुक्ति घोषणा भए पनि अझै उनीहरुको पूर्णरुपमा व्यवस्थापन हुन सकेको छैन । हलिया समाजका अध्यक्ष राजुराम भुलले मुक्त हलियाका लागि घर बनाउन तीन रोपनी जग्गा बराबर रु दुई लाख दिने व्यवस्था खारेज गरी कम्तीमा तीन रोपनी जमिन उपलब्ध गराउन माग गरे । कमैया प्रथा उन्मूलन समाजका अध्यक्ष वसन्ती चौधरीले छुट मुक्त कमैयाको तथ्याङ्क लिई पुनःस्थापनाका लागि प्याकेजमै सहमति खोजिनुुपर्ने बताए ।
त्यस्तै, मुक्त कमैया महिला विकास मञ्चका अध्यक्ष कौशिला चौधरीले सरकारसँग कमलरी प्रथा उन्मूलनका लागि यसअघि भएको १० बुँदे सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । बाह्र जिल्लाका मुक्त हलिया तथा पाँच जिल्लाका मुक्त कमैया र कमलरीका सङ्गठनका तर्फबाट सरकारको प्रतिबद्धता र आन्दोलनकारीसँग भएका सहमति तथा सम्झौता कार्यान्वयन गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको हो ।
haliya mukta malari