नरभक्षी चितुवा मार्न प्रहरी परिचालन

भदौ - १५ । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका–९ गञ्छेबजार नजिक मर्काखोलामा चितुवाको आक्रमणबाट गएराति एक बालिकाको मृत्यु भएको छ ।
घरमै बसेर पढिरहेका अवस्थामा सात वर्षिया छोरी अस्मिता मुखियालाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको जिप्रका अर्घाखाँचीका प्रहरी निरीक्षक सुजनराज भण्डारीले बताए ।
त्यस्तै, दुई दिनअघि सन्धिखर्क नपा–९ खाँचीकोटको कुरदुवारमा सूर्यबहादुर विककी पाँच वर्षिया छोरी ललिता विकको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो ।
आफूहरु गाउँमा चितुवाबाट असुरक्षित भएको र नरभक्षी चितुवा नमारेसम्म गएराति मृत्यु भएकी अस्मिताको शव नउठाउने भन्दै गाउँले जिल्ला प्रशासनमा आएर निवेदन दिएका छन् । उनीहरुले दिएको निवेदनपछि जिल्लाका विभिन्न स्थानमा घरमै आएर चितुवाले बालबालिका आक्रमण गरेर आतङ्क मच्चाउने चितुवा खोज्न प्रशासनले प्रहरी परिचालन गरेको छ ।
सन्धिखर्क, ढिकुरा र नुवाकोटका बासिन्दाले नरभक्षी चितुवा मार्न आग्रह गर्दै प्रजिअ सुरेन्द्र पौडेललाई निवेदन दर्ता गराएपछि प्रशासनले चितुवा खोज्न प्रहरी परिचालन गरेको हो । रासस
chituwa
