समाज स्वास्थ्य

भूकम्प गएको १६ महिना वित्दा पनि गोरखाका अधिकांश स्वास्थ्य चौकी त्रिपाल मुनी

भूकम्प गएको १६ महिना वित्दा पनि गोरखाका अधिकांश स्वास्थ्य चौकी त्रिपाल मुनी
Swasthya Chauki भदौ १७ । भूकम्प गएको १६ महिना भइसक्दा पनि गोरखाका अधिकांश स्वास्थ्य संस्था भवन पुनःनिर्माण गरी सञ्चालनमा ल्याउन सकिएको छैन । भूकम्पले भत्काएको ५४ वटा स्वास्थ्य संस्थाका भवनमध्ये अहिलेसम्म श्रीनाथकोट, गाँखु, शेरा र धारपानीको भवन मात्रै पुनःनिर्माण भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाले भवन निर्माण गर्ने जिम्मा लिए पनि अहिलेसम्म काम सुरु नगर्दा त्रिपालबाटै बिरामीको उपचार गर्नुपरेको स्वास्थ्यकर्मीको गुनासो छ । त्रिपालमुनिको स्वास्थ्य संस्थामा घाम लागेका बेला गर्मीले त्रिपालभित्र बसिसाध्य नहुने र पानी परेको बेला पानी चुहिएर उपचार गर्न असहज भएको दर्बुङ स्वास्थ्यचौकीका अहेब पप्पुकुमार रौनियारले बताए । दिनहु ४० जना हाराहारीका बिरामी उपचारका लागि स्वास्थ्य संस्थामा आउँछन् । तीमध्ये अधिकांश ज्वरो, झाडापखाला तथा निमोनियाबाट पीडित छन् । त्रिपाल र टेन्टमा सञ्चालित स्वास्थ्यचौकीमा औषधि भण्डारण गर्न, बिरामीको स्वास्थ्य परीक्षण, उपचार गर्न र औषधि सुरक्षित राख्न समस्या हुँदै आएको छ भन्दै स्वास्थ्यचौकी प्रमुख विनिता श्रेष्ठ प्रधानले भन्नुभयो– “गर्मीले औषधि पग्लेकाले भत्केको घरमा औषधि भण्डारण गरेका छौँ । त्रिपालभित्र बसेर बिरामीको उपचारमा खट्दा स्वास्थ्यकर्मी नै बिरामी हुने अवस्था छ ।”

जिल्लाका धावा, आरुपोखरी, फुजेल, लापु, गुम्दा, दर्बुङ, ताकुकोट, घ्याल्चोकलगायतका स्वास्थ्य संस्था १६ महिनादेखि त्रिपालमै सञ्चालनमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका पुनःनिर्माणसम्बन्धी कार्यक्रम प्रमुख नानीबाबु दानीले जानकारी दिए । दर्बुङ स्वास्थ्यचौकीको अर्धपक्की भवन निर्माणको काम बिहीबारदेखि सुरु भएको छ । दर्बुङसहित गोरखाका १२ वटा स्वास्थ्यचौकी भवन युनिसेफले निर्माण गर्न लागेको युनिसेफका नेपालस्थित स्वास्थ्य प्रमुख डाक्टर हेन्डिकेन्सको भनाइ छ । भूकम्प प्रभावित अन्य जिल्लामा गरी कुल ७४ वटा भवन पुनःनिर्माणमा युनिसेफले सघाउने भएको हो ।

युनिसेफले छोप्राक, बक्राङ, देउराली, तारानगर, फुजेल, नाम्जुङ, बारपाक, लाप्राक, गुम्दा, माछाखोलामा भवन पुनःनिर्माण गर्ने बताए पनि अहिलेसम्म दर्बुङमा मात्रै स्वास्थ्य संस्थाका भवन निर्माणका लागि जग खनेको छ । आउँदो दुई महिनाभित्र अधिकांश ठाउँमा भवनको पुनःनिर्माण सकिने युनिसेफका गोरखा प्रमुख मोहम्मद खानले बताए ।

यस्तै वल्र्ड भिजन इन्टरनेसनलले केराबारीको स्वास्थ्यचौकी भवन निर्माणको जिम्मा लिएको भए पनि पुनःनिर्माण गरेको छैन । जग शिलान्यास गरिएको महिनौँ हुँदा पनि भवन निर्माणको काम सुरु भएन । सेभ द चिल्डे«नले आरुपोखरीस्थित भवन निर्माण गर्ने प्रतिबद्धता गरे पनि जग्गा विवाद भएको भन्दै काम सुरु नगर्दै छाडेको छ । सो संस्थाले आठवटा भवन निर्माणका लागि स्वीकृति लिएको थियो ।

आइएमसी नामक संस्थाले सातवटा, असल छिमेकी पोखराले पाँचवटा, गुड नेभर्सले चारवटा, शुभ अवसर ग्राम नेपालले दुईवटा, फेज नेपालले दुईवटा, द हिमालयन यात्राले छेकम्पारस्थित स्वास्थ्यचौकी भवनको पुनःनिर्माण गर्ने प्रतिबद्धता जनाए पनि काम सुरु नगर्दा त्रिपालबाटै स्वास्थ्यसंस्था सञ्चालन भइरहेका हुन् । संघसंस्थालाई अर्धपक्की (प्रिफ्याव) भवन निर्माण गर्न अनुमति दिइएको हो । पक्की भवन निर्माण गर्नुपर्ने बेलासम्म अर्धपक्की भवन निर्माण सुरु नभएकाले ती संंघसंस्थाको आलोचना हुँदै आएको छ ।

अर्धपक्की भवन निर्माणमा संघसंस्थाले रु ३५ लाखदेखि ६० लाखसम्म खर्च गर्न लागेका हुन् । पक्की भवन पुनःनिर्माण हुँदा प्रतिभवन करिब रु तीन करोड लाग्ने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीको भनाइ छ । भवन पुनःनिर्माणको जिम्मा लिने तर निर्माण सुरु नगर्ने संघसंस्थालाई कारबाही गरिने बताउँदै पराजुलीले छिटो भवन निर्माण गर्न संघसंस्थालाई आग्रह गरिसकिएको बताए ।

Swastya

विशेष