गाड्न खोज्दा शिशु रोएपछि...
भदौ १८ । मृत्यु भएको भन्दै खाल्डो खनेर गाड्ने तयारी गरिरहेको अवस्थामा रोएपछि एक नवजात शिशुले जीवन पाएको छ । शुक्रबार दिउँसो ३ बजेतिर जन्मिएको शिशुले धेरैबेसम्म कुनै प्रतिक्रिया नजनाएपछि रुकुमको एक दम्पतीे मरेको ठहर गर्दै नेपालगञ्ज–१७ बुलबुलियास्थित घाट पुर्याएका थिए ।
रुकुम, रुघा–२ की १९ वर्षीया भावना ओली खड्ले घरमै जन्माएको शिशु नचल्मलाएपछि पति चौखावाङ–७का २७ वर्षीय गोपाल खड्काले नजिकैको मेडिकल पुर्याएका थिए । मेडिकल सञ्चालकले बच्चा नराएको, नचलेको, शरीर निलो भइसकेको र श्वास नफेरेको भन्दै मृत घोषित गरिदिएका थिए । उनले तै पनि भेरी अञ्चल अस्पताल देखाउन सुझाव दिए ।
तर खड्का दम्पतीले बच्चा मरेको भन्दै अपराह्न ४ बजेतिर गाड्न लगेका थिए । तर खाल्डो खन्दै गर्दा शिशु रोएपछि स्थानीय छाँगोबाट खसेझै भए । उनीहरुले खड्का दम्पत्तीमाथि शंका गर्दैै प्रहरीमा खबर गरे । शिशुलाई प्रहरीको जिम्मा लगाइएको छ । नागरिक दैनिकबाट