प्रधानमन्त्रीका ज्वाइँको पहलमा सेनाको हेलिकप्टरबाट पुष्पबृष्टी
भदौ १८ । कृष्ण जन्माष्टमीको भोलिपल्ट भदौ १० गते यहाँ आयोजना गरिएको श्रीकृष्ण रथयात्रामा पुष्पवृष्टि गरेको हेलिकप्टरको भाडा सरकारले तिरेको आयोजक समितिले जनाएको छ । रथयात्रामा नेपाली सेनाको हेलिकप्टरले करिब २५ मिनेट पुष्पवृष्टि गरेको थियो ।
सेनाको हेलिकप्टरको भाडा तिर्नका लागि विराटनगरका जीवन आर्चायले पहल गरेका थिए । उनी प्रधानमन्त्री पुष्पकमल दाहालका कान्छा ज्वाइ हुन् । ‘हामीले हेलीकप्टरवाट पुष्पवृष्टि गराउने योजना बनाएका थियौं,’ रथयात्रा तयारी समिति संयोजक बाबुराजा ओझाले भने, ‘त्यसमा विराटनगरवासी भएका कारण जीवनजीको सहयोग अवश्य पनि भएको छ उहाँले प्रधानमन्त्रीसम्म कुरा र्पुयाइ दिनुभयो ।’
हेलिकप्टरबाट गरिएको पुष्पवृष्टिको फुल भने विराटनगरका उद्योगी मोती दुगडले किनेको ओझाले बताए । ‘५० हजारको फुल मोती दुगडबाट प्राप्त भयो हेलीकप्टरको पैसा सरकारबाट,’ ओझाले भने, ‘ऐतिहासिक रथयात्रा भव्य वनाउने दायित्य सरकारको पनि हो ।’ हेलिकप्टरको भाडा तयारी समितिबाट नगाएको एक सदस्यले बताए । ‘संयोजकले यसको भाडा अन्तैबाट व्यवस्था हुन्छ भन्नुभयो,’ उनले भने, ‘यहाँका चन्दादाता र अन्य रकमवाट खर्च भएको छैन् ।’
रथयात्राको ४९ औं सस्करण विराटनगर पानी ट्यांकीस्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको थियो । रथ तीनपैनी पार गर्दै अघि वढिरहेका वेला हेलिकप्टरबाट पुष्प बृष्टि गरीएको थियो । यो धार्मिक पर्व वि.सं. १९८९ भदौ ९ गते खट्यात्राको रुपमा मनाउन सुरु गरेर २०२४ सालमा रथयात्राको नामाकरण गरिएको यसको इतिहास छ । विराटनगरमा यो पर्व प्रत्येक वर्ष कृष्ण जन्माष्टमीका भोलीपल्ट मनाउने चलन छ । –कान्तिपुर दैनिकबाट