विचार

ढुवानीकै क्रममा मरेका खसीको मासु उपभोक्ताको भान्छामा पुगिरहेको छ

ढुवानीकै क्रममा मरेका खसीको मासु उपभोक्ताको भान्छामा पुगिरहेको छ

PARSU-RAM-BHUSALचार दिनयता ११ वटा मरेका खसी फेला पारिसकेका छौं । पशु क्वारेन्टाइन कार्यालय काठमाडौंको चेकपोस्ट त कतै छैन तर हामी सिमित कर्मचारीले नेपाल प्रहरीसँगको सहकार्यमा काठमाडौ भित्रिने पशुपंक्षीको क्वारेन्टाइन चेक गर्छौं ।

नागढुंगाबाट हामीले चार दिनमा ११ वटा मरेका खसी फेला परेका छौं । हिजोमात्रै पनि ३ वटा खसी फेला परे । व्यापारीहरुले तराईबाट खसीबोका ल्याउँदा धेरैलाई एकैठाउँमा राख्छन् । ढुवानीमा तालमेल नमिल्ने, भिडभाडको तनाव, थकान, पानी नखुवाउने आदि कारणले खसी बोका मर्छन् । रोेगका कारण मर्ने चाहिँ त्यति सम्भावना हुँदैन । खसी बोका काट्नकै लागि ल्याइने भए पनि तिनीहरुलाई यातना दिनु हुँदैन भन्ने मान्यता छ । तर त्यो पालना भएको पाइन्न् ।

जिल्ला पशु क्वारेन्टाइन कार्यालयमा म वरिष्ठ पशु विशेषज्ञ एक, पशु स्वास्थ्य कार्यकर्ता दुई, दुई चालक र दुई कार्यालय सहयोगी छौं । यी मध्ये प्राविधिक हामी तीन जनामात्रै हौं । हामी तीन जनाको नजरबाट उम्केका खसीबोकामा रोग रहेछ, वा हाम्रो पहुँच पुग्न नसक्ने रुटबाट मरेकै खसीबोका भित्रिएको पनि हुन सक्छ । तर मैले मेरो जिम्मेवारीका कारण पनि काठमाडौंमा मरेका खसीबोका भित्रिन्छन् भन्न सक्दिनँ । तर जम्मा तीन जनाले यति ठूलो उपत्यकामा भित्रिने पशुपंक्षीको क्वारेन्टाइन परीक्षण सम्भव होला ? हुँदैन । यसकारण हामी सिमिततामा काम गरिरहेका छौं । हाम्रो नजरमा पर्न नसकेका खसीबोका मरेकै पनि काठमाडौं भित्रिए होलान् । यसमा के भन्न सकिन्छ र।

मरेको खसीबोकाको मासु काठमाडौका ‘फ्रेस हाउस’मा बिक्री भइरहेको पनि हुन सक्छ । तर त्यस्तो मासु सर्वसाधारणकालागि चिन्न गाह्रो हुन्छ । हामी प्राविधिकहरुले केही उपाय लगाएर थाहा पाउँछौं । तर सर्वसाधारणले पहिले नै मरिसकेको खसी, बोका, हाँसकुखराको मासु खाइरहेको हुन सक्छन् ।

चार दिनको निगरानीका क्रममा एउटा रुटमा ११ वटा मरेका खसी भेटिए । अन्य रुटमा अन्य दिन कति आए होलान् ? अनुमान गर्न सकिन्छ । यति हुँदा हुँदै पनि मैले आफ्नो कर्तब्य गर्ने हो । तीन जनामात्रै भए पनि हामीले आफूले सकेको कोसिस गरिरहेका छौं । त्रिभूवन विमानस्थलमा एकजनालाई खटाएका छु । एकजना साथी नागढुंगामा हुनुहुन्छ । म चाहिँ आवश्यकताअनुसार जता पनि दौडिन्छु ।

क्वारेन्टाइन मानव स्वास्थ्यसँग पनि जोडिएको विषय हो । यसकारण जनशक्ति थप गर्न मैले आफनो निकायमा पटक पटक आग्रह गरिसकेको छु । तर सरकारले जनशक्ति थप गरेको छैन ।

मरेका खसी कलंकी खसी बजार र क्लिन बजार भन्ने संस्थालाई हामीले जिम्मा लगाउने गर्छौं । गाड्ने बेलामा चाहिँ हाम्रै रोहबर हुन्छ ।

(डा. भुसालसँग भएको कुराकानीमा आधारित)

विशेष