आज हरितालिका तीजको ब्रत, शिवालयहरुमा दर्शनार्थीको भीड
भदौ १९ । आज भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज विधिपूर्वक मनाइँदैछ । नेपाली हिन्दु नारीहरुको महानपर्वका रुपमा रहेको तीज पर्वमा अघिल्लो दिन दर खाने र तृतीयामा निरहार, निर्जल व्रत बस्ने परम्परा छ । तीजमा मूलत भगावन शिवको पूरा हुने भएकोले मुलुकभरका शिवालयहरुमा दर्शनार्थी महिलाहरुको भीड छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् । सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।
यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गरेका गर्दछन् । स्वास्थ्य राम्रो हुने महिलाहरुले निराहार, निर्जल व्रत पनि बस्छन् । स्वस्थ्य अवस्था अनुकुल नभएका महिलाहरुले जलाहार र फलाहार गरी व्रत बस्ने चलन छ ।