मनोरञ्जन

नेफ्टा अवार्ड दुबईमा हुने

नेफ्टा अवार्ड दुबईमा हुने
Nefta भदाै १९ । नेपाल चलचित्र संघले गर्दै आएको ‘नेफ्टा अवार्ड’को नवौं शृंखला दुबईमा आयोजना हुने भएको छ। प्राविधिक संघले आइतबार औपचारिक कार्यक्रम गर्दै अवार्ड हुने मिति समेत सार्वजनिक गरेको हो। अवार्ड पुस ६ गते युएईको दुबई सहरमा आयोजना हुनेछ । यसअघि नेफ्टाले मलेसिया, हङकङ र कतारमा अवार्ड आयोजना गरिसकेको छ। पत्रकार सम्मेलनमा बोल्दै नेफ्टा अध्यक्ष पुष्कर लामाले रहर वा बाध्यताले भन्दा पनि नेपाली फिल्मको बजार बिस्तारका लागि विदेशमा अवार्ड आयोजना गर्न लागेको जानकारी गराए । ‘दुबईमा ५ लाखभन्दा ज्यादा नेपाली रहेको अनुमान छ । नेफ्टा अवार्डको आयोजनाले त्यसपछिका दिनमा नेपाली फिल्मको बजार बढ्नेमा हामी विश्वस्त छौं । यो फिल्मसँगै नेपाली संस्कृतिलाई मध्यपूर्वमा जोड्ने सेतु हो,’ लामाले भने । अवार्डलाई अग्रिम शुभकामना दिँदै चलचित्र विकास बोर्ड नेपाल अध्यक्ष राजकुमार राईले जथाभावी अवार्ड बाँड्ने प्रचलन बढ्दै गएकाले नेफ्टालाई आफ्नो गरिमा कायम राख्नेगरी अवार्ड बाँड्न सुझाव दिए । ‘केही समययता योग्यलाई भन्दा पनि आफू नजिककालाई मात्र अवार्ड दिने प्रचलन बढ्दै गएको छ । यसले दीर्घकालीन रुपमा अवार्डको महत्व घटाउँछ । नेफ्टाले अरुले गरिरहेका यस्ता कमजोरीबाट आफूलाई बचाओस्’ राईले भने । उनले विकास बोर्डको नीतिमा जथाभावी अवार्ड गर्नेलाई अंकुश लगाउने व्यवस्था रहेको बताउँदै बिसंगति यथावत रहे बोर्डले अवार्ड आयोजनामा अंकुश लगाउन सक्ने चेतावनी समेत दिए । यो पटक २८ विधामा अवार्ड प्रदान गरिने र  त्यसका लागि जुरीले फिल्म हेरिरहेको अध्यक्ष लामाल जानकारी गराए । अवार्डलाई नेपालमा स्पेक्ट्रम एडभरटाइजिङले व्यवस्थापन गर्नेछ भने कन्सेप्ट भिजनले दुबईको व्यवस्थापन सम्हाल्नेछन् । अवार्डका लागि कलाकार, पत्रकार सम्मिलत सय जनाको टोली दुबई लैजाने योजना रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

Nefta Awad sex problem

विशेष