मेरो परिवार मेरो कथा मनोरञ्जन

राजा महेन्द्रले हातमा पदक राखिदिए, दर्शकले भाग्य (भिडियो सहित)

राजा महेन्द्रले हातमा पदक राखिदिए, दर्शकले भाग्य (भिडियो सहित)

 सात वर्षको हुँदा राजा महेन्द्र र महारानी रत्नको हातबाट दुई स्वर्णपदक थापेका थिए उनले । राजाको हातबाट पदक जित्नु चानचुने विषय थिएन । बाल्यवस्थाको मनोविज्ञानमा राजाको पदकले गहिरो प्रभाव पार्यो । कलाकार सन्तोष पन्त अहिले आफै हजुरबुबा बनिसकेका छन् । तर आफ्नो नाति उमेरको समय छर्लंग सम्झन्छन् ।

तीन वर्षकै उमेरदेखि उनको कलाकारिता शुरु भएको थियो । तीन वर्षको हुँदा मञ्चमा ‘ट्विस्ट नाच’ प्रस्तुत गरेका थिए । त्यसयता उनको जीवन कलाकारिताबाट पृथक भएको छैन । राजा महेन्द्रको देहावसान भयो । वीरेन्द्र, युवराज दीपेन्द्रलगायतको असमायिक निधन भयो । राजाका रुपमा महेन्द्रका माइला छोरा ज्ञानेन्द्रले पनि गद्दि सम्हाले । राजशाही खतम भयो । मुलुक गणतन्त्रमा गएको छ । सन्तोष पन्त आश्चर्य मान्दै भन्छन्, ‘यति धेरै परिवर्तन भए देशमा । तर मेरो जीवनमा ‘कलाकारीता–कालकारीता’ नै रहिरह्यो ।’

सन्तोष पन्तले कैयन धारावाहिक, चलचित्रमा काम गरे । फरक फरक चरित्रमा अभिनय गर्न उनी कुशलतापूर्वक सक्छन् । तर उनलाई घरघरमा स्थापित भने ‘हिजोआजका कुरा’ले गर्यो । हिजोआजका कुरा भन्ने धारावाहिकको नाम शुरुमा ‘आजभोलिका कुरा’ थियो । पछि त्यसलाई संशोधन गरियो । नेपाल टेलिभिजनबाट प्रशारण हुने सो धारावाहिक केही समय कान्तिपुर टेलिभिजनबाट पनि प्रशारण भयो । हिजोआजका कुराका निर्माता निर्देशक पन्त नै थिए ।

महेन्द्रकालमा कलाकारिता र नाटकमा अभिभावकहरुले आफना छोराछोरीलाई कमै प्रोत्साहन गर्थे । तर सन्तोष पन्त आफूलाई निकै भाग्यमानी ठान्ने गर्छन् । कलाकारिता क्षेत्रमा मन, वचन र कर्मले लाग्ने त्यो जोश र स्फूर्ति परिवारले नै उनमा बिजारोपण गराइदियो । आफूमा भएको प्रतिभालाई सानै उमेरमा पत्तो पाएर नै उनी सफलतालाई नजिकबाट नियाल्न र चुम्न सके ।

बाल्य अवस्थालाई स्मरण गर्दा आफ्ना बाबु त्यो बेलाका प्रशासक भएर नै (ल्याबोरेटरी स्कुल) राम्रै विद्यालयमा पढेको र सुखसँग बालापन बितेको उनको बुझाइ छ । बुबाको सरुवा जताजता हुन्छ, सन्तोषको पढाई पनि त्यतै हुन्थ्यो । बाल्य अवस्थामै राजारानीबाट पुरस्कृत भएका थिए । त्यो उमेरमा पनि त्यो पुरस्कारले उनमा ठूलो हौसला थप्यो । बाल्यअवस्थामा त्यति दुःख भने भोग्नु नपरेको उनको बुझाइ छ ।

उनले निमार्ण तथा निर्देशन गरेका चलचित्र ‘हिजो आजको कुरा’ले नेपाली दर्शकमाझ निकै नै लोकप्रियता कमायो । त्यसमाथि पनि सन्तोष पन्त र रमा थपलीयाको जोडी औधि रुचाइयो । पर्दामा सन्तोष–रमाको भूमिका श्रीमान श्रीमतीको थियो । कतिपयले त उनीहरुको अभिनयको जोडीलाई वास्तविक ठान्थे । सन्तोष पन्त ती दिन सम्झँदै भन्छन्, ‘कतिपय दर्शकहरु झुक्किनु हुन्थ्यो । तर रमाजी हाम्रो टिमको सदस्य हुनुहुन्थ्यो । सम्बन्धको कुरा गर्दा हाम्रो अत्यन्त घनिष्ठ सम्बन्ध छ । ’

‘नरिसाउनुस् है’, ‘एउटा कुरा’, आजभोलिका कुरा र हिजोआजका कुराजस्ता टेलिश्रिंखलाबाट उनले नेपाली दर्शकलाई भरपू्र मनोरञ्जन दिलाए । आफ्नै सामाजिक परिवेशमा घट्ने घटनालाई टपक्क टिपेर थपक्क अभिनयमा उतार्नु नै उनको मौलिक विशेषता हो । समाजका समकालीन वास्ताविक घटनालाई आधार बनाएर टेलिश्रंखला बनाउनुले नै दर्शकमाझ लोकप्रिय भएको उनको विश्वास छ ।

एउटा कलाकारलाई कलाकारितामा लागेर जीवन धान्न गाह्रो थियो । त्यसैले उनले आफ्नो आर्थिक भारलाई सन्तुलन राख्न पथ प्रदर्शकको काम पनि गर्नु पर्यो । उनी स्मरण गर्छन ‘जीवन धान्न शुरुशुरुका दिनमा धेरै गाह्रो भएको थियो । एकदुईवटा कार्यक्रम गर्दा आर्थिक भारलाई मिलाउन पथ प्रदर्शक (टुरिस्ट गाइड) भएर पनि काम गरेँ ।’ पर्यटक लिएर उनी नेपाल विभिन्न गाउँमा पुग्थे । बच्चाहरुदेखि बुढापाका पनि उनलाई देखेर बाटो नै छेकेर कुरा गर्न आउँथे । पर्यटकहरु उनसँग यसरी मानिसहरु झुम्मेको देखेर दंग पर्दथे । एकदिन एउटा विदेशी पर्यटकले उनी कलाकार भएको चाल पाएछन् । कलाकार भएर किन गाइड गर्छस् ? भन्ने प्रश्न गरेपछि उनी लाजले भुतुक्कै भएछन् । उनले मुस्कुराउँदै भने ‘त्यो दिन त ‘सुटिङको लागि गरेको भनेर झुक्याएँ’ पछि आफैलाई खल्लो लागेपछि त्यो काम गर्नै छाडिदिएँ ।’

शुरुका दिन कष्टकर बिते पनि विस्तारै कार्यक्रमको प्रस्ताव आउँदै गयो । नरिसाउनुस है , एउटा कुरा, आजभोलिका कुरा र हिजोआजका कुराजस्ता कार्यक्रम गरेपछि जिन्दगीमा कहिल्यै पछि फर्केर हेर्नुनपरेको उनले बताए । ‘त्यसपछि नै कलाकारिता नै मेरो गरिखाने भाँडो हो भनेर उनी लागि परे ।’

माओवादी धम्की

नेपालमा जनयुद्ध चर्किएको थियो । जनता तत्कालीन विद्रोही पार्टी माओवादीबाट आतंकित थिए । उनले माओवादीका नकारात्मक क्रियाकलापलाई टेलिश्रंखलामा देखाइदिए । जनयुद्धका समयमा घटित सत्य घटनाहरुको जानकारी लिएर उनले ती कथालाई हुबहु काँचको पर्दामा देखाइदिए । देखाइसकेपछि बिबिसी जस्ता संचार माध्यमले पनि उनलाई बधाइ दिए । सन्तोष पन्तको भनाइमा त्यो कदम वास्ताविकतालाई कथामा परिणत गरिएको एक घटनामात्रै थियो । फरक यति थियो कि उनले वास्तविकतलाई धेरै जनतासमक्ष सजिलै पुर्याउँने काम गरिदिए । त्यही काम अरुबाट सजिलो हुने थिएन ।

त्यसपछि उनलाई विद्रोही माओवादीले धम्क्याए, ‘आइन्दा कार्यक्रम गरे सिध्याइदिन्छौं । तर उनलाई त्यो धम्कीले भने कुनै असर पारेन ।’ कुनै समय सन्तोष पन्तका कार्यक्रम नेपाल टेलिभिजन, कान्तिपुर र नेपाल वन गरेर तीनवटा च्यानलबाट प्रशारण हुने गर्दथे । तर अहिले पन्तको कुनै टेलिभिजनमा उनका कार्यक्रम छैनन् । तर पनि उनी भन्छन्, ‘कलाकारिताबाट त टाढा जान सकिन्न बा ।’ विदेशमा नेपालीहरुले अहिले पनि सन्तोषलाई कार्यक्रममा बोलाउँछन् । परिस्थितीजन्य कारणले उनी अहिले कलाकारिताबाट केही टाढा देखिएका छन् । तर उनको मन कलाकारिताबाट टाढा चाहेर पनि जान सक्दैन । उनी आफै भन्छन्, ‘कलाकारिता नै छाडेँ भने म सन्तोष पन्त हुनुको के अर्थ ?’

कुनै बेला सन्तोष पन्तकै छहारीमा केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे) लगायत कलाकार अभिनय गर्थे । अहिले उनीहरु नामी र दामी भएका छन् । धेरै कलाकारहरु आफ्नो भिन्नै परिचय बनाएर स्थापित भइसकेका छन् । राम्रो प्रतिभा भएका कलाकारलाई आफूले उचित वातावरण दिन सकेको उनको बुझाई छ । ‘आफ्ना मान्छेले प्रगति गरेको देख्दा पक्कै पनि खुशी लाग्छ’ उनी निकै प्रफुल्ल्ति देखिए । तुलना गर्दा अहिले हास्यकलाकारलाई जीवन धान्न धेरै सजिलो छ । उनी भन्छन्, ‘आलु चिउरा खाएर पनि सुटिङ गरेका थियौं ।’

ओली ढले, टेलिफिल्मको योजना पनि ढल्यो

भैपरी आउने घटनाक्रमले उनलाई धेरै विचलित बनाउँदो रहेनछ । तर राजनीतिको प्रशंग कोट्याउँदा उनी धेरै निराश देखिए । ‘यत्तिको घिनलाग्दो राजनीति त मैले कल्पनासमेत पनि गरेको थिइनँ । राजनीति फोहोरी खेल हो भन्ने कुरालाई प्रमाणित गराइदिएका छन् हाम्रा नेताहरुले ।’

बेलाबेलामा उनीलाई नेताको भाषण सुनेर हाँसो लाग्ने गरेको बताउँछन् । नेताहरु सधैँ जनताको लागि गरेका भन्छन् तर आजसम्म जनताको लागि महंगी, दुख, लोडसेडिङमात्र दिएको उनको बुझाइ छ । उनका अनुसार राजनीतिक दलले जे पनि गरेका छन् सबै आफ्नो दल र आफ्नो स्वार्थको लागि गरेका छन् तर भन्ने बेलामा जनताको लागि गरेका भन्दै भाषण ठोक्छन् । यदि जनताको लागि काम गरेका भए नेपाल आज हिन्दू राष्ट्र हुने उनको बुझाइ छ । विश्वमै एक हिन्दू राष्ट्र थियो त्यो पहिचानलाई कायमै राखेको भए उचित हुने ९० प्रतिशत नेपालीजस्तै उनको पनि चाहना छ ।

टेलिधारावाहिक फेरि पनि निर्माण गर्ने उनको धोको रहेछ । कलाकारितालाई राजनीतिसँग जोड्दै व्यग्यात्मक मुडमा उनले भने, ‘केपी ओलीले एक वर्षमा लोडसेडिङ हटाइदिन्छु भनेका थिए । उनको सरकार उनकै सहयात्रीले ढालिदिए । यता मेरो धाराबाहिक बनाउने योजना पनि ढल्यो ।’

उनी आजभोलि धापासिस्थित घर, कार्यालय र आर्मी क्वाटरमा व्यस्त रहँदै आएका छन् । ३२ वर्ष अघि सेनाले उनलाई परेको बेला सांस्कृति विभागको लागि काम गर्न आग्रह गरेको थियो । यसरी उनले नपाली सेनााम पनि ३२ वर्ष काम गरे । गत वर्ष वैशाख १२ गते भुइचालो आएको दिन उनी सेवा निवृत्त भए । उनको जागिर सकिएकै दिन भुइँचालो गयो । सन्तोष पन्त जानु अशुभ ठानेर सेनाले उनलाई अहिले पनि करारमा राखेको छ । अहिले पनि उनी मनोवैज्ञानिक शाखाबाट टेलिभिजन कार्यक्रमहरु उत्पादन गरिरहेका छन् । यो जानकारीसँगै माओवादी धम्कीले जागिर छाडेको पुरानो खबर गलत रहेको प्रमाणित भयो ।

कुनै दिन नेपाल टेलिभिजनले बोलाए दर्शकको लागि टेलिश्रंखला फेरि पनि उनको योजना छ । फिल्म बनाउने कुनै योजना नभएको र उमेरले गर्दा पनि अबको बाँकी जिन्दगी समाजसेवामै समर्पित गर्ने उनले सुनाए ।

बिहान ११ तिर आर्मी हेडक्वाटर पुग्छन् । साँझ घर फर्कन्छन् । परिवारमा पत्नी, छोराबुहारी र नातिहरु छन् । छोरी अमेरिका बस्दै आएकी छन् । सन्तोष पन्तका दुई छोरा मध्ये कान्छा लिंग परिवर्तन गरेर छोरी बनेका छन् । प्राकृतिक विशेष अवस्थाले सन्तोषका एक छोरा अहिले छोरी बनेका छन् । उनी अहिले नेपालमा छैनन् ।

प्रस्तुतिः कन्चन न्यौपाने 

interview with santosh panta santosh panta caricature santosh panta with nepalaaja

विशेष