सिङ्गापुरमा २०१८ भित्र सेल्फ–ड्राइभिङ ट्रयाक्सी सञ्चालन हुने
भदौ–२० । भविष्यमा सडकमा गुड्ने कारमा अहिलेको जस्तो ड्राइभरको आवश्यकता नपर्ने हुनसक्छ । किनकि पछिल्लो समयमा सेल्फ ड्राइभिङ प्रविधियुक्त कार निर्माण गर्ने लहर नै चलेको छ । सेन्सर र अटोमोबाइल प्रविधिको सम्मिश्रणबाट यस्ता ड्राइभिङ कार गुड्ने गर्छन् ।
विना ड्राइभर र स्टेयरिङ आफैं स्वचालित रूपमा गुड्ने ती कारका कारण यात्रा पनि सुरक्षित हुन सक्नेछ । सुरक्षा र वातावरण दुवै दृष्टिकोणले पनि यी कार अब्बल सावित हुने अनुमान छ ।
सेल्फ ड्राइभिङ कार प्रोजेक्टको एक चरण गुगलले पूरा गरिसकेको छ । गुगल अब आफ्नो यो नयाँ आविष्कारलाई व्यवसायीकरण गर्ने कार्यमा लागेको छ । गुगलको सेल्फ ड्राइभिङ कारले अहिलेसम्म २४ लाख किलोमिटर दूरी पार गरिसकेको छ ।
यद्यपि विभिन्न समयमा दुर्घटनामा पर्ने तथा अन्य सानातिना समस्या आइलाग्ने क्रम भने जारी छ । गुगलले ती समस्याको समाधान पनि गर्न कोसिस गरिरहेको छ । गुगलले गत मे महिनामा अमेरिकाको डेट्रोयटमा टेक्नोलोजी सेन्टर बनाएर यो क्षेत्रमा थप कामसमेत प्रारम्भ गरेको छ ।
सेल्फ ड्राइभिङ अर्थात् अटोमेटेड कारका लागि सिंगापुरमा भएका परीक्षण केन्द्र उपयुक्त मानिन्छन् । सिंगापुरका सडकमा केही समयभित्र पहिलो सेल्फ ड्राइभिङ कार उत्रने अनुमान गरिएको छ ।
डेल्फी अटोमोटिभले अर्को वर्ष ६ वटा अटोमेटेड ट्याक्सी बजारमा उतार्ने घोषणा गरेको छ । अहिले डेल्फी अटोमोटिभले सिलिकन भ्यालीमा उक्त कारको परीक्षण गरिरहेको छ ।
विभिन्न कम्पनी अहिले सेल्फ ड्राइभिङ प्रविधियुक्त गाडी निर्माणमा लागेका छन् । गुगलबाहेक टेस्ला मोटर्स, एप्पल, टमटम, बाइडु, बीएमडब्लू, मर्सि्डिज बेन्ज, ज्यागुअर ल्यान्डरोभर, टोयोटा, डेन्सो, बोस, हुन्डाई तथा जनरल मोटर्स जस्ता कम्पनी यो क्षेत्रमा क्रियाशील छन् ।
आफै सुरक्षित रूपमा गाडी चलाउने हो भने सुरक्षित हुन पनि सकिन्छ । एक अध्ययनअनुसार सेल्फ ड्राइभिङ कार चाहनेहरू भारतमा सबैभन्दा बढी छन् । भारतमा सेल्फ ड्राइभिङ कार चाहनेहरू ८५ प्रतिशत छन् । त्यसैगरी अमेरिकामा ७५ प्रतिशत, चीनमा ५२ प्रतिशत, जर्मनीमा ४४ प्रतिशत तथा जापानमा ३६ प्रतिशतले यस्तो कारको चाहना गरेको देखिन्छ । पार्किङ स्पटको समस्याका कारण पनि सेल्फ ड्राइभिङ कार चाहनेहरू धेरै भएको बताइन्छ ।
एक पटक गुगल कार अर्को कारसँग ठोक्किएको थियो, तर त्यसबाट खासै ठूलो मानवीय क्षति भने भएन । टेस्लाको एक कार परीक्षणका क्रममा जोसुआ ब्राउनको मृत्यु नै भयो । त्यसपछि सार्वजनिक स्थानमा यस्ता कारको परीक्षणमा प्रतिबन्ध लगाइएको हो । अर्कोतिरबाट आएको चम्किलो प्रकाश र सेतो रंगका कारण सेन्सरले फरक पहिचान गर्न नसकेर उक्त दुर्घटना भएको टेस्लाले बताएको थियो । एजेन्सी
self driving car
Singapore