समाज

कुकुरलाई छल्न खोज्दा गाडि पल्टियो, चार घाइते

कुकुरलाई छल्न खोज्दा गाडि पल्टियो, चार घाइते

accident भदौ २१ । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलबाट सामान लिएर नेर्पातर्फ जाँदै गरेको बा ९ च ७७१८ नंको गाडी आज बिहान दिक्तेलमा दुर्घटना हुँदा चारजना घाइते भएका हुन् । दिक्तेल नगरपालिका–१ स्थित रत्नपार्कको उकालोमा ब्रेकफेल भएर दुर्घटना हुँदा चालक सूर्य तामाङ, शेर्पा कन्ट्रक्सन कम्पनीका लेखापाल प्रदीप खड्का, भान्से भीमबहादुर भुजेल र क्रसर अपरेटर खड्गबहादुर आले घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए।

घाइते सबैको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ । उनीहरुको टाउको, हातखुट्टा तथा शरीरको विभिन्न भागमा चोट लागेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ । सडकमा हिँडिरहेको कुकुरलाई छलेर गाडी अगाडि बढाउन खोज्दा ब्रेकफेल भएर दुर्घटना भएको चालक तामाङको भनाइ छ ।

पाँचजना यात्रु र कम्पनीको सामान लिएर हिँडेको गाडी सडकबाट करिब २० फिट तल खसेको छ । घाइते सबैको गाडी भित्रैबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । गाडीमा सवार एकजना भने सकुशल भेटिएका छन् । उनी गाडी पल्टिँदा उछिट्टिएर तल झरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

Road Accidnet

विशेष