समाज

‘चन्द्र धरातलमा निल आर्मस्ट्रङको जुत्ताको डोब मैले नै खिचेको थिएँ’

‘चन्द्र धरातलमा निल आर्मस्ट्रङको जुत्ताको डोब मैले नै खिचेको थिएँ’
Former NASA astronaut and one of the first two humans to set foot on the Moon, Buzz Aldrin, arriving at Tribhuvan International Airport, in Kathmandu, on Sunday, September 4, 2016. Photo: THT

भदौ २२ । निल आर्मस्ट्रङसँगै चन्द्रमामा पाइला टेक्ने एकमात्र जीवित अन्तरिक्ष यात्री बज अल्ड्रिनले मंगलग्रहमा पुग्ने मानिसको सपना पनि पूरा भएरै छाड्ने बताएका छन् ।

आफू अहिले त्यही अभियानको एउटा अभिन्न पाटो भएको बताउँदै अल्ड्रीनले भने, ‘मानिसका सपना धेरै टाढा छैनन्, तीे एक दिन अवश्य नै पूरा हुन्छन्, जसरी चन्द्र धरातलमा हामीले पाइला टेक्यौँ, छिट्टै त्यस्तै पाइला मंगलसम्म पनि पुग्ने छन् ।’ उनले अर्को एपोलो अभियानबाट मानिस फेरि चन्द्र धरातलमा पुग्ने र त्यसैगरी मंगलग्रहमा पनि टेक्ने बताए ।

अल्ड्रिनले मंगलबार सुनसरीको सीतागञ्जस्थित एभरेस्ट साइन्स सेन्टरमा करिब दुई हजार नेपाली विद्यार्थी माझ प्रवचन दिइ रहँदा सन् १९६९ को एपोलो अन्तरिक्ष अभियानबारे सविस्तार सुनाए । चन्द्रमामा मानिस पुग्दा नासाले बनाएको भिडियो देखाउँदै उनले भविष्यको अन्तरिक्ष अभियान र मानवीय चुनौतीबारे पनि आफ्ना विचार राखे ।

अल्ड्रिनले भने,‘त्यतिबेला अमेरिकी राष्ट्रपति जोनएफ केनेडीले मानिसलाई चन्द्रमामा पठाउने भन्दै चुनौती दिँदा धेरैले असम्भव भनेका थिए तर हामी असम्भवलाई सम्भव बनाएर पृथ्वीमा झर्दा मानिसले नै चन्द्रमाको हिरो भनेर स्वागत गरेका थिए । सामूहिक सोच, तयारी, काम र नेतृत्वले गर्दा नै हामी चन्द्रमामा पुग्न सफल भएका थियौँ, त्यो उपलब्धि सम्पूर्ण मानिस र मानवताका लागि थियो । अबको मिसन मंगल ग्रहमा पुग्नेमात्र होइन बस्ती नै बसाउनेसम्मको हो ।’

मंगलग्रहको यात्रा र बसाईको अवधि लामो हुने भएकाले त्यहाँ पुग्नेले मानसिक रुपमा आफूलाई कसरी तयार र व्यवस्थापन गर्छ भन्ने मूल प्रश्न भएको अल्ड्रिनले बताए । पृथ्वीबाट मंगलग्रह पुग्न लाग्ने ६ महिनाको अवधि त्यसपछि पृथ्वीको कक्ष नजिकै मंगल आएपछि फर्कने अवधि कम्तीमा २ वर्षको हुने भएकोले यो यात्रा मानसिक रुपमा पनि मानिसका लागि निकै चुनौतीपूर्ण हुने उनले आफ्नो विश्लेषण भएको उनले प्रस्ट पारे ।

एपोलो मिसन मानिसको कथा भएको र त्यसलाई फेरि पुनरावृत्ति गर्न सकिने विश्वास व्यक्त गर्दै अल्ड्रिनले भने, ‘चन्द्रमामा पाइला टेक्नु विश्व शान्ति र मानवताका लागि गरिएको ठूलो प्रयोग थियो, त्यो काममा सम्पूर्ण विश्व एकसाथ आएको थियो, अब मंगलग्रहतिर यात्रा सोझिएको छ, मेरो योजना पनि त्यही हो तर ठूलो खर्च लाग्छ । अरु धेरै समस्या पनि छन् ।’ उनले आफ्नो टिमले अहिले मंगलग्रहमा बस्ती बसाउनेसम्मको योजनामा काम गरिरहेको पनि बताए ।

छोरा एन्ड्रियू अल्ड्रिन, बुहारी र नासाका अरु दुई जना वैज्ञानिकसँगै मंगलबार बिहान ११ बजे विराटनगर झरेका चन्द्रयात्री अल्ड्रिनले करिब ४ घन्टा एभरेस्ट साइन्स सेन्टरमा बिताए । उनलाई विराटनगर विमानस्थलमा पञ्चकन्याले स्वागत गरेका थिए । उनी मंगलबार नै काठमाडौ फर्किएका छन् ।

आफू २ वर्षको हुँदा बुवाले पहिलो पटक जहाज चढाएको, रातो रंगको त्यो जहाजमा चिलको चित्र अंकित गरिएको र आफू ‘इगल कलसाइन’ भएको यानमा चन्द्रमामा पुगेको स्मरण गर्दै अल्ड्रिनले भने, ‘राइट दाजुभाइले पहिलो पटक प्लेन उडाउँदा मेरी आमाको जन्म भएको थियो । उहाँको नाम मुन थियो तर बिडम्वना मैले मुनमा पाइला राखेको तीन वर्षअघि नै उहाँको निधन भइसकेको थियो । म भाग्यमानी थिएँ, राम्रो शिक्षा पाएँ, युद्धक विमान चलाएर कोरियन युद्धमा भाग लिएँ, देशले मेरो योगदानको कदर गर्यो, आफ्नो देशप्रति पनि म निकै सम्मान गर्दछु । हाम्रो सम्पूर्ण काम मानवताकै लागि हो ।’

अल्ड्रिनले सँगै मञ्चमा बसेका आफ्ना छोरा एन्ड्रियूतर्फ फर्कदै उनी व्यवसायिक फोटोग्राफर भएपनि आफूले जीवनमा खिचेका पाँच छवटा जस्तो सुन्दर तस्वीर उनले अहिले पनि नखिचेको आफूलाई लाग्ने गरेका बताउँदै भने, ‘चन्द्रमामा मानिसले टेकेको जुत्ताले बनाएको डोबको तस्बिर मानिसका लागि कति प्रिय बनिदियो ?’ अन्नपूर्ण पोस्ट्बाट

विशेष