चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्ने ‘डिजाइन’ बालुवाटारबाटै
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारीस्वरुप गृहकार्य गर्न दुईवटा चिनियाँ टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटन खोज्यो । पहिलो टोलीलाई प्रचण्डका मुख्य स्वकीय सचिव जोगबहादुर महराले प्रधानमन्त्रीसँग टाइम छैन भनेर भेट्न दिएनन् । अर्को टोलीलाई प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भेट गर्न दिएनन् । प्रधानमन्त्रीसँग समय मिलाउन सकिएन भन्ने उनीहरुको तर्क थियो । प्रचण्डसँग दैनिक धेरैवटा चानचुन टोलीलेसमेत भेट गरिरहेको हामीले देखेका छौं । तर चिनियाँ टोलीलाई भेट गर्न दिइएको छैन ।
नेपालको यस्तो रबैया बुझेपछि चीनले आफ्नो राष्ट्रपतिको नेपाल भ्रमण अझै महत्वका साथ गर्ने तयारी गरेको छ । भारतमा हुने ब्रिक्स सम्मेलनमा जाँदा वा आउँदा नेपाल आउने भन्ने उनीहरुको पहिलेको तयारी थियो । तर नेपालका प्रधानमन्त्रीको रबैया फेरिएपछि उनीहरुले दसैको सप्तमी, अष्टमी र नवमी मध्ये कुनै एक दिने आउने चाहना व्यक्त गरेका छन् । भारत जाने, फर्केर चीन जाने र त्यसपछि मात्रै नेपाल आउने भन्नुले चिनियाँ पक्ष नेपालको मामिलामा सजग छ भन्ने स्पष्ट पार्छ ।
केपी ओलीको सरकार ढालेर नयाँ सरकार बनाउनुको एक कारण नेपालमा चिनियाँ प्रभाव कम गर्ने, चीनसँग थप सम्झौता हुन नदिने, भएका सम्झौता कार्यान्वयन गर्न नदिने आदि योजनाका साथ भएको थियो ।
हालै शेरबहादुर देउवा शिंगापुर भ्रमणमा गए । बहाना उपचारको थियो । तर त्यहाँ ‘र’ का एजेन्टसँग देउवाको भेट भएको भन्ने विषय बाहिर आएको छ । भेटमा ती एजेन्टले चीनसँगको हिमचिम रोक्न जबर्जस्त दबाब दिएको बुझिएको छ । त्यसो नगरेमा नेपालको सिस्टम नै कोल्याप्स गराईदिने दिशामा अगाडि बढ्ने उनीहरुको चेतावनी छ ।
यसबीच चिनियाँहरुले मेचीदेखि महाकालीसम्मको आर्थिक करिडोरको प्रस्ताव गरेको छ । त्यसकालागि ठूलो धनराशी नेपाललाई अनुदान र सफ्ट लोनमा दिने चिनियाँहरुको एउटा योजना छ । लुम्बिनीसम्मको रेलमार्ग, पोखरा विमानस्थलको शिलान्याससँगै तुरुन्तै कार्यान्वयनमा पनि लैजाने योजना चिनियाँहरुको भएको देखिन्छ । ओली सरकारले गरेका सम्झौताहरुलाई पनि अगाडि बढाउने आदि योजना चीनले अगाडि राखेको बुझिएको छ ।
चीनले हालै पाकिस्तानलाई ३५ करोड डलर, श्रीलंकालाई १३ करोड डलर र बंगालदेशलाई १४ करोड डलर अनुदान दियो । नेपाललाई पनि १४ करोड डलर अनुदान दिने सम्झौता गर्ने कुरा छ । भारतमा हल्ला भएजस्तै चीनले भारत वरपरका मुलुकमा जबर्जस्त प्रभाव बढाएको छ । सबैभन्दा ठूलो कुरा त पाकिस्तानमा चीनको प्रभाव बढी छ ।
चीनले गर्न खोजेको यस्तै योजनाका कारण भारतले सधै नेपाललाई अरु दुनियाँसँग अलग राखिरहन खोजेको छ ।
नेपालमा चीनको उपस्थिति बलियो भयो भने भारतले भनेको मात्रै नेपालमा लागू हुँदैन । भारतको अह्रन खटनमा जे जे काम नेपालमा भइरहेका छन् त्यो रोकिन्छ । यसकारण पनि नेपाललाई चीनसँग टाढा राख्ने भारतको इच्छा हो । २८ सालमा बंगलादेशलाई बेग्लै राष्ट्रको मान्यता नदिएसम्म भारतले नाकाबन्दी खोलेन । पाकिस्तानबाट भारतले बंगलादेश छुट्टयाएको थियो । त्यो बेला बंगलादेशलाई अन्तर्राष्ट्रिय मान्यता चाहिएको थियो । नेपालले मान्यता दिएपछि भारतले नाकाबन्दी अन्त्य गर्यो ।
पछिल्लो समयमा भारतबाट पालितपोषित व्यक्तिहरुले भारतबीना नेपालको केही चल्दैन । भारतकै सहयोगले नेपाल बाँचेको छ जस्तो हौवा फैल्याएका छन् । नेपालको सबै सोहोरेर भारतले लैजान्छ । बदलामा लगेका २–४ प्रतिशत अनुदानमा दिन्छ । खर्बौको ब्यापार घाटा भारतसँग छ । अनि उसले दिएको दुइ चार अर्बको हल्ला बढी हुन्छ । भारतले नेपाललाई सहयोगको नाममा केही नगरोस् केही फरक पर्दैन ।
बदनाम प्रचण्डबाट फाइदा लिने
मेरो बुझाइमा बद्नाम प्रचण्डको सरकार नौ महिना पनि टिक्दैन । नेपाली कांगे्रेसले अहिले अलोकप्रिय सबै काम प्रचण्ड सरकारबाट गराउने रणनीति बनाएको छ । चीन र भारतको भ्रमण सकेपछि मधेसी मोर्चालाई उचालेर प्रचण्डको सरकार कांग्रेसले ढाल्न सक्छ । अनि निर्वाचन आफैले गराउने योजना भारतको हुन सक्छ ।
नपत्याए हेर्नुहोस प्रचण्डको दैनिकी कार्यहरु । भूकम्पपीडितको राहत, अनुगमन, निर्देशनमा समय बिताइरहेका छन् । कुनै गतिलो कार्य थालनी पनि भएको छैन । ‘भारतको नाकाबन्दीको विरोध गर्नु भनेको सामन्ती राष्ट्रवाद हो’ सम्म प्रचण्डले भन्न भ्याइसके ।
भारतमा आफ्नो विशेषदूत पठाउँदा माफीनामा पत्र प्रचण्डले पठाएका छन् । प्रचण्ड मान्छे नै त्यस्ता हुन जो बाहिर एउटा कुरा भित्र अर्को कुरा गर्छन् । ५९ सालमा अटलबिहारी बाजपेयीको कार्यालयमा गएर भारतविरोधी कुनै क्रियाकलाप गर्दैनौ भनेर पत्र बुझाएर आए । ६१ सालमा भारतबिरुद्ध सुरुङ युद्धको घोषणा गरे ।
नेपालको संविधान जारी नगर भन्ने भारत, मधेसीलाई उचालेर मान्छे मार्न लगाउने भारत, नाकाबन्दी लगाउने भारत । तर माफी प्रचण्डले मागेको कुरा आएको छ । यो भन्दा दूर्भाग्यपूर्ण कुरा के हुन्छ ? बुझ्नु पर्ने कुरा के छ भने, यति हुँदा हुँदै पनि प्रचण्डको नाभी भने भारतसँग होइन पश्चिमासँग जोडिएको छ । पश्चिमाहरु सोझै नेपालमा खेल्न सक्दैनन् । उनीहरु भारतको ब्यानरबाट नेपालमा खेल्छन् ।
प्रचण्डलाई भारतले बाध्यतामा पारेर प्रधानमन्त्री बनाएको सम्भावना पनि छ । मेरो जानकारीमा आएसम्म त भारतले युद्धकालीन मुद्धामा जेल जाने अवस्थामा पुर्याई दिउँ कि सरकारबाट फिर्ता हुने ? सक्किने कि सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेर धम्क्याएका प्रचण्डलाई धम्क्याइयो । जसका कारण प्रचण्डले ओली सरकार ढाले । प्रश्न उठ्न सक्छ आखिर भारतले यस्तो किन गर्छ ? यसको जवाफ हो । नेपालमा यस्तै गर्नकालागि भारतका एजेन्ट परिचालित हुन्छन् । नेपालमा राजनीतिक स्थिरता, विकास कहिले पनि हुँदैन । भारतले हुँन दिँदैन । आफ्ना एजेन्ट चलाएर नेपाललाई अनन्तकालसम्म अस्थिर नै बनाइरहन्छ ।
मधेसमा भारत तमलोपा र राजेन्द्र महतोको सद्भावना बाहेक अहिले अरु मधेसी दलहरु भारतको ब्यानरमा छैनन् । पश्चिमाहरुले मधेस फाउन्डेसनका नाममा पैसाको खोलो बगाएपछि धेरै मधेसी दलहरु पश्चिमाहरुबाट सञ्चालित भइरहेका छन् । भारतमै पनि पश्चिमाहरुको प्रभाव छ । यसकारण भारतीयहरुले चाहेर पनि पश्चिमाहरुको प्रभाव रोक्न सक्दैनन् ।
ओलीको राष्ट्रघात नाकाबन्दीकै बेला पनि चीनले नेपाललाई २ सय मेगावाट बिजुली, तेल, ग्यास दिन्छौ भनेको थियो । तर नेपालले लिन मानेन । भारतलाई चिढ्याउन हुँदैन भन्ने बहानामा कमल थापाले चीनको प्रस्ताव अस्विकार गरे । अरु नेता झै ओलीको उठबस भारतीय जासुसी एजेन्टसँग भएको देखिन्न । तर ओली सरकारले त्यो बेला चीनको प्रस्ताव भारतको कारणले अस्वीकार गरेका हुन् । लुम्बिनीसम्म रेलको कुरा पनि नेपालले होइन चीनले राखेको प्रस्तावमा थियो ।
(राजनीतिक विश्लेषक दाहालसँग भएको कुराकानीमा आधारित)
Bharat Dahal Nepal's Politics